प्रधान सेनापतिद्वारा भवन शिलान्यास

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबार काभ्रे बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको शिलान्यास गर्नु भएको छ ।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एंव रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण उद्देश्यले उक्त विश्वविद्यालय स्थापना गरिएको हो ।

निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायहरुका अधिकृतहरुको राष्ट्रिय सुरक्षा सम्बन्धि उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने; विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिहरुका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध संजाल विकसित गर्नुका साथै रणनीतिक संस्कारको विकास एंव उच्च स्तरको नागरिक-सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्य अनुरुप मन्त्रिपरिषको २०७६ फाल्गुन १२ गतेको निर्णय अनुसार विश्वविद्यालय स्थापना गरिएको हो ।

उक्त विश्वविद्यालय निर्माणको लागि आर्थिक बर्ष २०७६/०७७ मा विनियोजित बजेटबाट २.६ किलोमिटर ग्राभेल सडक, १३८० मिटर पेरिमिटर पर्खाल, १ लाख लिटर क्षमताको पानी ट्याङ्की, डिप बोरिङ्ग, जग्गा विकास र ३ फेज विद्युत लाईन विस्तारको कार्यहरु सम्पन्न भईसकेको छ ।

नेपाल सरकारको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय संचालनमा ल्याईने छ” भनी समावेश भएपश्चात बिनियोजित बजेटबाट विद्यार्थी आवास र केन्द्रीय पुस्तकालयको निर्माणका लागि शिलान्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानेको छ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यहरु, नेपाली सेनाका रथीवृन्दहरु, रक्षा मन्त्रालयका व्यवस्थापन महाशाखा प्रमुख सह-सचिव यज्ञ प्रसाद ढुङ्गेल, विभिन्न विषयगत विज्ञहरु, स्थानीय निकायका प्रमुखहरु, काभ्रे जिल्लास्थित विभिन्न कार्यालय तथा सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बुद्धिजीवी वर्ग लगायतको उपस्थिति रहेको थियो ।