धनगढीमा प्रधानमन्त्रीलाई १५ किलोको माला !

0
Shares

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् । देउवाले बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरिरहेको महोत्सवको उद्घाटन गरेका हुन् ।

यस्तै महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ । १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

२१ बुँदे मागबाट शुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि देउवालाई १५ किलोको माला लगाइएको हो । २१ बुँदाबाट केही माग पूरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ ।

जसमा प्रदेशको गौरीफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हब लगायतका मागहरु रहेका छन् । वर्षेनी सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्ने गर्दछ । यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन ।