लुम्बिनीमा २२ दलको जमानत जफत, प्रदेश सरकार बनाउन नागरिक उन्मुक्ति, जनमत र स्वतन्त्र निर्णायक

0
Shares

बुटवल । देशभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेसशभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट भाग लिएका राजनीतिक दलमध्ये २२ दलको जमानत जफत भएको छ । यी दलहरूले थ्रेसहोल्ड कटाउन नसकेपछि जमानत जफत भएको हो ।

यस प्रदेशमा ३२ दलले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । ३२ दलमध्ये २२ वटाको थ्रेसहोल्ड नकटेपछि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बुटवलले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार १० दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् ।

समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउन प्रतिनिधिसभामा कूल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १ दशमलव ५ प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था छ । प्रदेशको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेका दलहरू हाम्रो नेपाली पार्टीले २७ हजार ७०४, राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८६७, हृदयेश त्रिपाठी नेतृत्वको जनताप्रगतिशील पार्टीले १५ हजार १०९, मंगोल नेशनल अर्गनाइजेसनले ११ हजार ८६७, नेकपा (माले)ले ६ हजार ४४५, नेपाल जनता पार्टीले ५ हजार २२२, बहुजनशक्ति पार्टीले ४ हजार ४६, राप्रपा नेपालले ३ हजार ३४९, नेपाल सुशासन पार्टीले २ हजार ७९१, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ९१२ मतमात्र पाएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपालमजदुर किसान पार्टीले १ हजार ६५९, नेपालका लागि नेपाली पार्टीले १ हजार ६०७, नेपाली जनता दलले १ हजार ४१९, नेपाली कांग्रेस बीपीले १ हजार २८८, जनसमाजवादी पार्टीले १ हजार २१४, नेपाल लोकतान्त्रिक पार्टीले १ हजार २०७, नेपाल दलित पार्टीले १ हजार १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९७३, मौलिक जरोकिलो पार्टीले ९२८, विवेकशील साझा पार्टीले ७९१, नेकपाम ाओवादी समाजवादीले ४८९ र नेशनलिस्ट पिपुल्स पार्टीले ४५७ मत प्राप्त गरेका छन् ।

सरकार बनाउन नागरिक उन्मुक्ति, जनमत र स्वतन्त्र निर्णायक (संसदीय अंकगणितसहित)

लुम्बिनी प्रदेशमा सरकार बनाउन कुनै पनि दलको एकल बहुमत पुर्याउन सकेका छैनन् । सत्ता गठबन्धन र नेकपा (एमाले) नेतृत्वको गठबन्धनको पनि बहुमत पुगेको छैन । जसले गर्दा लुम्बिनीमा सरकार बनाउन यी दुई गठबन्धन बाहिर रहेका दलहरुको समर्थन आवश्यक देखिएको छ ।

लुम्बिनीमा एमालेका प्रत्यक्षबाट १८ र समानुपातिकतर्फ ११ गरी २९ जना सांसद छन् । कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १० गरी २७ जना पुग्दा माओवादी केन्द्रका प्रत्यक्षतर्फ ५ र समानुपातिकबाट ४ गरी ९ जना पुगेका छन् ।

त्यस्तै प्रत्यक्षतर्फ २ र समानुपातिकबाट २ गरि राप्रपाका ४ जना प्रदेश सांसद पुगेका छन् । नागरिक उन्मुक्तिका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट २ गरि ४ जना पुगेका छन् । जनता समाजवादी पार्टीका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट १ गरी ३ जनापुग्दा लोकतान्त्रिक समाजवादी पार्टीको प्रत्यक्षतर्फ २ र समानुपातिकबाट १ गरि ३ जना नै प्रदेश सांसद पुगेका छन् ।

निर्वाचनमा पहिलो पटक होमिएको जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकबाट २ गरि ३ जना, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट १–१ सीट पाएका छन् । ८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ ।

यहाँ प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित भइसकेका छन् । अहिलेकै सत्ता गठबन्धन कायम भएर लोसपाले सघाएको अवस्थामा उनीहरुको सीट ४१ मात्रै हुन्छ । यहाँ सत्ता गठबन्धनमा कांग्रेसको २७, माओवादी केन्द्रको ९, एकीकृत समाजवादी र जनमोर्चाको १–१ तथा लोसपा ३ गरि ४१ सीट पुग्नेछ । उसलाई सरकार बनाउन ३ सीट पुग्दैन ।

सत्ता गठबन्धनले स्वतन्त्रबाट जितेका ३ सांसदको समर्थन जुटाउन सके बहुमतको सरकार बनाउन सक्ने सम्भावना छ । जनमत र उन्मुक्तिले समर्थन गरेमा सत्ता गठबन्धनलाई बहुमतको सरकार बनाउन सहज हुनेछ । त्यस्तै एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन सत्ता गठबन्धन बाहेकका सबै दलहरुको समर्थन जुटाउनुपर्छ । एमाले चुनावताका तालमेल गरेको राप्रपा र जसपाको मात्रै समर्थनले बहुमतको सरकार बनाउन पुग्दैन ।

एमाले नेतृत्व गठबन्धनसँग उसको २९, राप्रपाको ४ र जसपाको ३ जोड्दा ३६ मात्रै पुग्छ । त्यसैले बहुमतको सरकार बनाउन यो गठबन्धनले नागरिक उन्मुक्तिका ४, जनमतका ३ र कम्तीमा स्वतन्त्र एक जना सांसदको समर्थन जुटाउनु पर्नेछ ।

यो संसदीय अंकगणित अनुसार लुम्बिनीमा सरकार बनाउन नागरिक उन्मुक्ति र जनमत तथा स्वतन्त्र सांसदहरुकाे निर्णायक भूमिकामा रहनेछ ।