धनगढीमा प्रधानमन्त्री देउवा



धनगढी । धनगढीः काठमाडौंमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । आज ( बिहीबार) नेपाली सेनाको जहाजमार्फत देउवा धनगढी पुगेका हुन् ।

उनलाई धनगढी विमानस्थलमा कांग्रेस कैलालीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । कासा एनए ०६२ सैनिक जहाजमा प्रधानमन्त्रीको टोली धनगढी विमानस्थलमा ओर्लिएको उनको सचिवालयले जनाएको छ ।

देउवाले केहीबेरमा कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्धघाटन गर्ने छन् । सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन ।

देउवा महोत्सव उद्घाटन गरेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्रीसँगै नेकपा (एकीकृत समाजवादी)का नेता तथा अछामबाट नवनिर्वाचित साँसद, श्रममन्त्री शेरबहादुर कुँवर पनि धनगढी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्