लमजुङमा २८ हजारभन्दा बढीको स्वास्थ्य बीमा



लमजुङ । विपन्न समुदायलाई लक्षित गरी गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच पुर्याउने उदेश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रममा लमजुङमा २८ हजारभन्दा बढीले स्वास्थ् बीमा गरेका छन् ।

लमजुङमा २०७७ माघ महिनादेखि शुरु भएको उक्त कार्यक्रमअन्र्तगत हालसम्म जिल्लाका १२ हजार ६ सय ३५ परिवारका २८ हजार ४ सय ५८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समिति मार्फत स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।

जिल्लामा स्वास्थ्य बीमामा आवद्धमध्ये विमा शुल्क शतप्रतिशत वुझाउने ५ हजार १ सय ३४ परिवार रहेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी बविता गुरुङले वताउनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमामा आवद्ध मध्ये जेष्ठ नागरिक ६ हजार ८ सय २६ जना, महिला स्वास्थ्य स्वयम् सेविका २ सय ९३ जना, रातो कार्ड प्राप्त (क) वर्गका पूर्ण अशक्त अपांगता भएका ३ सय १६ जना रहेका छन् । यसैगरी एचआईभी संक्रमित ८८ रहेका छन् भने सो वाहेक कुष्ठरोग देखिएका एक जना रहेका छन् ।

सुरुको वर्षमा भन्दा पछिल्लो समय स्वास्थ्य विमामा जिल्लाका नागरिकको सहभागिता क्रमिक रुपमा बढ्दै गएको जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख दर्ता अधिकारी अनुपमा रेग्मीले वताउनुभयो

यसैबीच प्रदेश सरकारले ल्याएको लक्षित वर्ग अनुदान सहयोग स्वास्थ्य बीमा कार्यक्रमअन्र्तगत करिव एक हजार परिवार स्वास्थ्य बीमामा आवद्ध भएका जिल्लास्थित स्वास्थ्य विमा बोर्डले जनाएको छ । लक्षित वर्गातर्फ (ख) वर्गका अति अशक्त अपाङ्ग परिवार, सहिद, द्वन्द्वपीडित, वेपत्ता परिवार र मिर्गौला पीडित परिवार रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमका लागि जिल्लामा ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ । नागरिकले वडावडामा खटिएका दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा गराउन सक्ने स्वास्थ्य बीमा बोर्ड लमजुङ प्रमुख रेग्मीले वताउनुभयो ।

स्वास्थ्य विमामा आवद्ध हुनको लागी ५ जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३ हजार ५ सय र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपियाँ थप शुल्क तिर्नुपर्नेछ । बीमामा आवद्ध भएका पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म निःशुल्क स्वास्थ्य सेवा उपलव्ध हुने व्यवस्था रहेको छ । पाँचभन्दा वढि सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क निःशुल्क हुने व्यवस्था छ ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारल सूचीकृत अस्पताल, स्वास्थ्य सस्थाबाट एक हजार १ सय १८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्