बज्राचार्यलाई सत्यमोहन जोशी साहित्य पुरस्कार प्रदान

0
Shares

काठमाडौं ।

पहिलो सत्यमोहन जोशी साहित्य सिरपा (पुरस्कार)– ११४३ साहित्यकार एवं भाषा थुवाः फणिन्द्ररत्न बज्राचार्यलाई प्रदान गरिएको छ।

नेपाल भाषा मंकाः खलः यलले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो।सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार बज्रँचार्यलाई दोसल्ला ओढाई नगद राशि ५१ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्नुभयो ।

वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको १३ औं दिनको पूण्यतिथिमा कार्तिक ११ गते शुक्रबार ललितपुरमा एक समारोहको आयोजना गरी सो पुरस्कार स्थापना भएको घोषणा गरिएको थियो ।

स्वर्गीय जोशीको योगदानलाई चिरस्थायी बनाउन मकाः खलःले पुरस्कार स्थापना गर्नु गौरवको विषय रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसले भाषा, साहित्य र संस्कृतिमा योगदान पु-याउने साहित्यस्रष्टाहरुको आत्मबल र गौरवबोध बढाउने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति भण्डारीले पुरस्कारबाट सम्मानित साहित्यकार बज्रँचार्यको योगदान सबैका लागि अनुकरणीय रहेको बताउनुभयो।उहाँले राज्य र जनताले उतिकै सम्मान गरेका जोशीको योगदानलाई भावि पुस्ताले सम्झिरहने वातावरण बनाउनुपर्ने सबैको दायित्व रहेको पनि बताउनुभयो।यसमा सरोकारवालासहित राज्यका विभिन्न तह र निकाय गम्भीर भएर लाग्ने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो ।

९१ वर्षीय साहित्यकार बज्राचार्यको कथा, कविता, निबन्ध गरी नेपाल भाषाका १७ वटा भन्दा बढी पुस्तक प्रकाशित भइसकेको छ । बज्राचार्यले नेपाल भाषाका विभिन्न साहित्यिक पत्रिकाको सम्पादन, प्रकाशनसंगै, नेपाल भाषा परिषद्, आशा सफूकुथि र बुद्ध धर्मको विभिन्न संघसंस्थामा जीवनभर सक्रिय रही पु¥याउनुभएको योगदानलाई कदर गर्दै सो पुरस्कार प्रदान गरिएको मंकाः खलःले जनाएको छ ।

सो समारोहमा मंका खलःका सहसचिव राजु ताम्कारले नेपाल भाषा, साहित्य र संस्कृतिमा विशिष्ट योगदान पु-याउने स्रष्टाहरुलाई वर्षेनी सो पुरस्कार प्रदान गर्नको लागि अक्षय कोष खडा गरी रकम जुटाउने कार्य भइरहेको बताउनुभयो ।सो अवसरमा भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान पु-याउने ललितपुरका पूर्वमन्त्री एवं मेयर बुद्धिराज बज्राचार्य, समाजसेवी मोतिलाल शिल्पकार र मंका खलःका संस्थापक अध्यक्ष एवं अन्वेषक छत्रबहादुर कायष्ठलाई सम्मान गरिएको थियो ।