भारतीय राजदूत नवीन श्रीवास्तावको दलका शीर्ष नेतासँगको राजनीतिक भेटवार्ता तीव्र

0
Shares

काठमाडौं । भारतीय राजदूतको राजनीतिक भेटघाट तीव्र बनेको छ । मंसिर ४ मा सम्पन्न आम निर्वाचन लगत्तै दलका शीर्ष नेतासँग राजदूत नवीन श्रीवास्तवको राजनीतिक भेट तीव्र बनेको हो ।

श्रीवास्तवले निर्वाचन सकिएसँगै जारी मतगणनाको समयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । त्यस्तै उनले हिजो (बुधबार) नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरे ।

ओलीसँग भेटवार्ता गर्नु अगावै उनले सत्ता गठबन्धन दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । त्यस्तै हिजो (बुधबार) नै राजनूत श्रीवास्तवले उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि भेट गरेका थिए ।

यतिबेला सत्ता गठबन्धन र राजनीतिक दलहरूबीच चुनावी समीक्षा लगायत अन्य बैठक चलिरहेको छ । दलका शीर्ष नेताहरूले नयाँ सरकार गठनका लागि सत्ता समीकरणको विषयमा समेत औपचारिक तथा अनौपचारिक छलफल जारी राखेका छन् ।

यहीँबेला भारतीय राजदूत श्रीवास्तवको राजनीतिक भेटघाट बाक्लै बढेको छ । भारतीय राजदूतको राजनीतिक भेटवार्ता र सक्रियतालाई राजनीतिक वृत्तमा बडो चासोका साथ हेरिएको छ भने राजदूतको यो भेटलाई कूटनीतिक मर्यादाविपरीत भएको भन्दै आलोचना पनि भएको छ ।