खाडलमा गाडिए पशुचौपाया, व्यवस्थापनको चुनौती

0
Shares

धनगढी । 

कञ्चनपुरमा पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका छन्। वेदकोट नगरपालिका–३ स्थित चोरपानी नजिकै आठवटा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएका हुन्। यस्तै चारवटा चौपाया भीरबाट लडेर मरेको अवस्थामा फेला परेका छन्।

खाडलमा गाडेका पशुचौपायालाई स्थानीयले डोजरको प्रयोग गरेर निकालेका छन्। तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको छैन। स्थानीयले भने नगरपालिका कार्यालयले हत्या गरेर रातारात पशुचौपाया गाडेको आरोप लगाएका छन्।

व्यवस्थापनको माग गर्दै स्थानीयले आइतबार र सोमबार नगरपालिका कार्यालयमा ल्याएर पशुचौपाया थुनेका थिए। तर, पछि पशुचौपायालाई राति ट्रकमा वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरिएको गौशालामा लगेर राखिएको नगरपालिकाले जनाएको छ।

सोमबार राति १५३ पशुचौपायालाई गौशालामा पु¥याइएको बताइएको छ। गौशालामा राखिएका गाईगोरुलाई अज्ञात समूहले गौशालाबाट निकालिदिएपछि समस्या भएको जनप्रतिनिधिहरुको दाबी छ। यहाँ छाडा पशुचौपाया व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको छ। गत शनिबारदेखि स्थानीयहरु छाडिएका पशुचौपाया नगरपालिकाभि थुनेर आन्दोलनमा उत्रिनुभएको थियो। उहाँहरुले छाडा पशु चौपायाका कारण अन्नबालीदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै नगरपालिका कार्यालयभित्र पशु चौपाया हुलेर आन्दोलन गर्नुभएको थियो। यसअघि नगरपालिकाले मुसेपानी सिद्धसरोवर सामुदायिक वनमा छाडा पशु चौपाया व्यवस्थापन गरेको थियो।

तर, अल्पकालीन व्यवस्थापनका लागि त्यहाँ चौपाया लगे पनि स्थानीयले सो स्थानमा राख्न दिनुभएको थिएन। त्यहाँ चौपाया राख्न नदिएपछि नगरपालिकातिरै फिर्ता गरेका थिए। सिद्ध सरोवर सामुदायिक वनका अध्यक्ष एवं चुनेपानी छाडा पशु चौपाया व्यवस्थापन समितिका अध्यक्ष गणेश बमले नगरपालिकाले समन्वय नै नगरेर यहाँ ल्याइएका सयौँ पशु चौपाया फिर्ता गरिएको बताउनुभयो।

सोमबार नगरपालिबाट व्यवस्थापन गर्छौँ भनी लगिएका पशु चौपाया चुरे फेदमा मृत र गाडिएको अवस्थामा फेला परेको स्थानीय डम्बरदत्त भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, ‘नगरपालिकाबाट चुनेपानीमा व्यवस्थापन गर्छौँ, भनेर ट्रकमा ल्याइएका केही पशु भिरबाट खसालेर मारिएको रहेछ।’

यस्तै विश्व हिन्दू गौरक्षा अभियानका अध्यक्ष चक्रदेव जोशीले नगरपालिकाले व्यवस्थापन गर्ने नाममा नेपालको राष्ट्रिय जनावर गाईको हत्या गरिएको आरोप लगाउनुभएको छ।

यो घटनाको छानबिन गरेर दोषिीपर कारबाही हुनुपर्ने उहाँको माग छ। बेदकोट नगरपालिका छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएपछि राजनीतिक दलले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थापन गर्ने बहानामा ट्रकका ट्रक हुलेर चोरपानी हुँदै भीरमा खसाल्नेदेखि गाड्ने काम भएको भन्दै भर्त्सना गरेका छन्।

यता, बेदकोट नगरपालिकाले चालू आर्थिक वर्ष ०७९÷८० मा छाडा पशु चौपाया व्यवस्थापनका लागि बालज्योति विद्यालयको जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढाइएको जनाएको छ। नगरपालिकाले अस्थायी रूपमा कार्यालयपरिसर र स्थायी रूपमा विद्यालयको जमिन भाडामा लिएर व्यवस्थापन कार्य अघि बढाएको नगरका प्रवक्ता चित्रदेव भट्टले बताउनुभयो।