नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवालाई एक स्तरको उचाइ प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सराहनीय छ । तर, उनीहरुको जिम्मेवारी, भूमिका र योगदानलाई उचित मात्रामा पहिचान र सम्मान दिन भने सकिएको देखिन्न । महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान र कदरका लागि दिवस नै कुर्ने अभ्यास चलेको छ ।
पेशागत सुरक्षा र पहिचान उनीहरुको आवश्यकता हो, त्यता राज्यको ध्यान जानुपर्छ । वर्षको एक दिन दिवस मनाएका बेला उनीहरुका पक्षमा केही शब्द बोलेर मात्र राज्य र राजनीतिक दलको जिम्मेवारी पूर्ण हुँदैन । हरेक व्यक्तिको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र सामाजिक उत्तरदायित्व हुन्छ ।
महिला स्वास्थ्य स्वयंसेविकाले पनि घरपरिवारको जिम्मेवारी, आफ्नो र परिवारको स्वास्थ्यलाई समेत ख्यालगरी समाजमा देखापरेका स्वास्थ्य समस्यालाई आफै समाधान गर्ने, समाधान गर्न नसके राज्यको माथिल्लो निकायसम्म पु¥याउने, सरोकारवालाको ध्यानाकर्षण गराउने, समाजको चित्त बुझाएर मौसमी र आवधिक खोप लगाउने, औषधि वितरण गर्ने, स्वास्थ्य परामर्श दिने, घरदैलो कार्यक्रम सञ्चालन गर्ने काममा उनीहरुले खट्नुपरेको हुन्छ, जो सजिलो छैन ।
महिला स्वास्थ्य स्वयंसेविकालाई महिनावारी तलब सुविधा हुन्न । सामान्य तालिम र यातायात भत्ता, वार्षिक रुपमा पाउने एकजोर कपडा आदिमा उनीहरुले चित्त बुझाउनुपर्छ । राज्यले महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा अघिसारेकै कारण ग्रामीण भेगमा खासगरी महिला स्वास्थ्य सेवाका क्षेत्रमा सुधार आएको छ । कतिपय दुर्गम ठाउँमा स्वयंसेविकाले चिकित्सकको भूमिका समेत निर्वाह गर्न बाध्य हुनुपर्छ । गाउँघरमा चिनिएका, स्वास्थ्यका विषयमा जानकार व्यक्ति भनेकै महिला स्वास्थ्य स्वयंसेविका हुन्छन् ।
यी स्वयंसेविका नै स्थानीय आमा, दिदी, बहिनी, तथा ज्येष्ठ नागरिकका सच्चा चिकित्सक हुन् । यति ठूलो जिम्मेवारी जानी–नजानी बहन गर्ने महिला स्वास्थ्य स्वयंसेविका र उनका परिवारका विषयमा राज्यले प्रायः कार्यक्रममा प्रयोग गरेजस्तै उनीहरुका समस्यामा पनि साथ दिनु जरुरी देखिन्छ । सरकारले उनीहरुको आवश्यकतालाई मध्यनजर गरी खासगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनीहरुले अवसर पाउनुपर्छ ।
शिक्षित स्वयंसेविकालाई उच्च शिक्षामा अघि बढ्न या उनीहरुको सन्ततीको शिक्षा र स्वास्थ्यमा समेत सघाउन सके उनीहरु अझ बढी समर्पित भएर स्वास्थ्यसेवामा जुट्नेथिए । उनीहरुलाई जति दक्ष र समर्पित बनायो त्यति स्वास्थ्य समस्या गाउँमै सुल्झिने अवस्था आउँछ । ग्रामीण भेगका नागरिकले अस्पताल आउँनु भनेको थप आर्थिक भार बोक्नु मात्र नभै शारीरिक र मानसिक रुपमा समेत पीडादायी हुने गरेको छ ।
ग्रामीण भेगका नागरिकले अस्पताल आउन सजिलो छैन । खासगरी, आकस्मिक रुपमा जटिल खालको समस्या समाधान गर्न ग्रामीण क्षेत्रमै व्यवस्था हुनसके ठूलो सहयोग पुग्नेछ ।प्रायः ग्रामीण क्षेत्रको स्वास्थ्य समस्या नेताहरुका लागि चुनावमा मत माग्ने आधार भएको देखिन्छ ।
उनीहरु स्वास्थ्य क्षेत्रको विथिति देखाएर चुनावी नारा बनाउँछन् । देशका आम नागरिकको समान रुपमा स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको संरक्षण र सम्बद्र्धनमा राजनीतिक दल र नेताहरुले अपेक्षित मात्रामा योगदान दिनसकेका छैनन् । भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित नेतागणले चुनावी घोषणापत्रमा उल्लेख गरेका या नगरेका नागरिकका हरेक समस्यालाई लिपिबद्ध गरी कार्यान्वयनमा ल्याए मात्र पनि ग्रामीण स्वास्थ्य क्षेत्रमा सुधार आउने छ ।
प्रतिक्रिया