वागमतीमा अब प्रतिस्पर्धा मुख्यमन्त्रीको

0
Shares

हेटौंडा । 

प्रत्यक्षतर्फ प्रदेशसभाको जारी मतगणनाअनुसार नेपाली कांग्रेसले ४ प्रदेशमा पहिलो स्थान हासिल गरेको छ । वागमती प्रदेशमा कांग्रेसको अग्रता देखिएको छ । वागमती प्रदेशमा हालसम्म कांग्रेसले १८ सिटमा जित हासिल गरेको छ भने ६ सिटमा अग्रता कायम छ । कांग्रेसको पछि रहेको एमालेले ९ सिटमा जित र ४ मा अग्रता बनाएको छ ।

यतिखेर १३ जिल्लाको प्रतिनिधित्व गर्दै वागमती प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने चासोको विषय बनेको छ । पहिलो कार्यकालमा हालसम्म ३ मुख्यमन्त्री पाएको वागमतीमा दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री को बन्लान् भन्ने चर्चा शुरू भएको छ ।बागमती प्रदेशको भावी मुख्यमन्त्रीको रूपमा दाबी गर्दै आएका ६ जनामध्ये ३ जना मात्र प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । निर्वाचनअघि नै मुख्यमन्त्रीमा नेकपा एमालेका ३, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्र एक-एक जना गरी ६ जनाले दाबी गरेका थिए ।

जसमध्ये ३ जनामात्र निर्वाचन जित्न सफल भएका हुन् । दाबी गरेकामध्ये एमालेका सबै आकांक्षी निर्वाचनमा पराजित भएका छन् भने कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका आकांक्षीहरू भने चुनावमा विजयी भए ।वागमती प्रदेशका मुख्यमन्त्रीको दाबेदारका रूपमा कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीका मुख्य दाबेदार हुनुहुन्छ । एमाले विभाजनसँगै प्रदेश सरकार ढलेपछि सत्ता गठबन्धनमा ६÷६ महिना आलोपालोमा सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको थियो ।

तर, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले ८ महिनापछि सरकारको नेतृत्व छाड्न नमान्दा मुख्यमन्त्री परिवर्तनले अन्य प्रदेशमा पनि हलचल ल्याउला भन्ने केन्द्रको ठम्याईले बानियाँलाई शान्त बनाइएको चर्चा चलेको थियो । जसले गर्दा कांग्रेस नेता बानियाँ मुख्यमन्त्री बन्नबाट वञ्चित हुनभएको थियो । अघिल्लो कार्यकाल मुख्यमन्त्री पाउनुपर्ने बानियाँले अबको कार्यकालमा भने मुख्यमन्त्री नछाड्लान् भन्ने अड्कल लगाउन सकिन्छ ।

मकवानपुर प्रदेशसभा क्षेत्रनम्बर–२ (ख) मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार कांग्रेसका बानियाँले कुल खसेको ४० हजार ५ सय ९९ मतमा बानियाँ ८ हजार ७ सय १६ मत ल्याएर प्रदेशसभा सांसद् विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापासँग १ हजार ७ सय ८२ मतान्तरले उहाँ विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनकै घटक माओवादीबाट शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्रीको दौडमा हुनुहुन्छ । उहाँलाई मुख्यमन्त्री बनाउन गठबन्धनभित्र प्रतिस्पर्धा हुने देखिएको छ । जम्कट्टेललाई मुख्यमन्त्री बनाउने उद्देश्यका साथ पुनः प्रदेशसभा सदस्यमा उम्मेदवारी दिइएको माओवादीको दाबी छ । प्रदेश सरकार गठन भएदेखि प्रायः सत्तामै रहेका जम्कट्टेल एमाले–माओवादीको गठबन्धनमा बनेको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको थियो । माओवादी नेता जम्कट्टेल धादिङ–१ (२) बाट विजयी हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल पनि मुख्यमन्त्रीको दौडमा हुनुहुन्छ । खनाल चितवन–१ (ख) बाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएर विजय हुनुभएको छ । खनाल यसअघि प्रदेशको सामाजिक विकास मन्त्री पनि हुनुभएको थियो । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा उहाँले १५ दिन मन्त्री सम्हाले पनि राजीनामा दिएर एमालेबाट विभाजित भएर बनेको पार्टी एकीकृत समाजवादीमा आवद्ध हुनुभएको हो । तर, राजीनामा दिएको २ महिना नबित्दै उहाँ फेरि मन्त्री बन्नुभएको थियो ।

नेकपा एमालेबाट भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा रहेका सानुकुमार श्रेष्ठ काठमाडौं–२ (क) बाट पराजित भएपछि एमालेले प्रदेशको मुख्यमन्त्रीको दाबेदारमा चितवनबाट निर्वाचित प्रदेशसभा सदस्य जगन्नाथ थपलियालाई अघि सार्ने रणनीति लिएको छ । थपलिया चितवन निर्वाचन क्षेत्र–१ को प्रदेशसभा (१) मा निर्वाचित हुनुभएको छ ।

श्रेष्ठलाई राप्रपाका सुनिल केसीले पराजित गर्नुभएको हो । केसीले ६ हजार ५ सय ९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत प्राप्त गर्नुभयो । एमालेबाट भावी मुख्यमन्त्रीमा दाबी गर्दै आएका देवी ज्ञवाली चितवन–२ (ख) बाट पराजित हुनुभएको छ । उहाँलाई कांग्रेसका उत्तम जोशीले पराजित गर्नुभएको छ । जोशीले १३ हजार ३ सय ६ मत पाउँदा ज्ञवालीले १२ हजार ७ सय ४४ मत पाउनुभएको छ ।