फलाम काट्ने फलाम अर्थात दुर्लभ थापा

0
Shares

भनिन्छ फलाम काट्न फलामै चाहिन्छ ।भक्तपुरको भूगोलबाट नेपाली राजनीतिमा उदाएर बलियो गरी स्थापित एमाले नेता महेश बस्नेतलाई मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा पराजय गरी फलाम काट्ने फलामको रुपमा उदाएका छन् नवनिर्वाचित संघीय सांसद दुर्लभ थापा।

नेपाली काँग्रेसका जिल्ला सभापति थापाले नेकपा एमालेका पोलिटव्यूरो सदस्य बस्नेतलाई ९५७ को मतान्तरले पराजित गरी विजयी भएका हुन् । कूल ६५ हजार ९९१ मत मध्य थापाले २४ हजार २३९ मतले अग्रता प्राप्त गरी विजयी भएका छन् भने बस्नेतले २३ हजार २८२ मत प्राप्त गरी पछाडि परेका हुन् ।
देशभरि निर्वाचनका लागि हेभीवेट भिडन्तको चर्चा भइरहँदा दोस्रो पुस्ताका नेताहरुको प्रतिस्पर्धा हुँदै गरेको भक्तपुर क्षेत्र नंं.२ समेत त्यही चर्चाको मेसोमा देखिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै राजनीतिक वृत्तमा बढ्दै गएको गर्मागर्मीले भक्तपुर जिल्ला पनि अछुतो रहने कुरै थिएन ।
भक्तपुर जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये १ नं क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को  अन्य दलले हल्लाउनै नसक्ने पकड स्थापित छ । २ नं. क्षेत्रमा भने पहिलो पटक बि.सं.२०७४ मा एमालेले झन्डा गाडेको थियो ।यस अघि यहाँ नेपाली काँग्रेस र नेमकिपाले आलोपालो जित्दै आएका थिए ।तर पछिल्लो समय नेमकिपा यहाँ कमजोर बन्दै कमजोर तेस्रो शक्तिमा सीमित हुन पुगेको छ ।

अघिल्लो निर्वाचनमा भक्तपुर २ बाट प्रतिस्पर्धीभन्दा करिब दोब्बर मत ल्याएर विजयी भएका एमाले नेता बस्नेतलाई यस पटक भने सहज पक्कै थिएन भन्ने अन्दाज त थियो नै । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा पनि यो क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखिएको थियो ।

०७४ को संसदीय निर्वाचनको नतिजा र स्थानीय तहको मत परिणाम हेर्ने हो भने मुख्य प्रतिस्पर्धा काँग्रेस नेतृत्वको सत्ता गठबन्धन  एमालेबीच हुने देखिएकै थियो । अघिल्लो आमनिर्वाचनमा भक्तपुर २ मा बस्नेतले करिब ६० प्रतिशत मतसहित जित हासिल गरेका थिए । कुल ६३ हजार एक सय नौ मतमध्ये उनले ५७.७० प्रतिशत अर्थात् ३६ हजार चार सय १२ मत पाएका थिए । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दमननाथ ढुंगानाले जम्मा २९ प्रतिशत (१८,६८७) मत पाएका थिए ।

भक्तपुर २ काँग्रेस र नेमकिपाको प्रभाव क्षेत्रका रूपमा रहँदै आए पनि पछिल्लो समय त्यो प्रभाव एमालेका बस्नेतले तोडेका थिए । काँग्रेस र नेमकिपाको आलोपालोबीच उदाएका एमालेका बस्नेत यहाँ नेमकिपा कमजोर बन्दै जाँदा यस पटक काँग्रेसको पालोको जाँतोमा कमजोर बनेका छन् ।

थापा र बस्नेत दुबै नेता हकी स्वभाव भएका रुपमा चिनिन्छन् । गत साल भदौ १८ को कुरा हो । भक्तपुर, सूर्य विनायकमा भएको काँग्रेस वडा अधिवेशनमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर–२ का तत्कालीन सांसद महेश बस्नेतलाई आउने चुनावमा जितेर देखाउन ठाडो चुनौती दिएका थिए । ‘सक्नुहुन्छ भने भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउनुस्’, उनले भनेका थिए ।

बस्नेतले भक्तपुरको एक कार्यक्रममा अब काँग्रेसलाई खोज्नुपर्ने बेला भएको भन्दै देउवालाई आफूसँग चुनाव लड्न आह्वान गरेपछि उनले यस्तो चुनौती दिएका थिए । नभन्दै आसन्न चुनावमा देउवाले भनेझैँ बस्नेत र थापाबीच टकराव भएको हो ।

२०७४ मा वाम एकताका कारण पनि बस्नेतलाई सहज थियो । एमाले र माओवादीका साथै केही साना दलबीच एकता भएपछि ती मत पनि बस्नेततर्फ गएको स्थानीयको भनाइ छ । अहिले माओवादी केन्द्र काँग्रेसको पक्षमा थियो । साथै एमालेबाट टुक्रिएको नेकपा एस पनि सत्ता गठबन्धनमा रहेकाले यस पटकको प्रतिस्पर्धा रोचक हुने देखिएकै थियो । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा सूर्य विनायकमा एमाले अघि र मध्यपुर ठिमीमा काँग्रेसको अग्रताका थियो ।

एमाले उम्मेदवार बस्नेतले यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको दाबी गर्दै त्यसैलाई चुनावी एजेन्डा बनाएका थिए ।

अघिल्लो पटक पनि कामै गरेका कारण जितेको र यस पटक त झनै बढी मत पाउने उनको दाबी थियो । ‘त्यसवेला वाम गठबन्धन हुँदा पनि खासै प्रभाव परेन । किनकि, यहाँ माओवादीको उपस्थिति न्यून छ । विभाजनको असर पनि भक्तपुरमा खासै छैन,’दोब्बर मतले मतले ढुंगानलाई पराजित गरेका  बस्नेतले भन्ने गरेका थिए । गएको चुनावमा दोब्बर मतले जितेका बस्नेत यस पटक तेब्बर मतले जित्ने दाबी गर्दथे ।

निर्वाचन अघि काँग्रेसका उम्मेदवार थापा पनि गठबन्धनको मात्रै नभई आफूलाई भक्तपुरका सबैले चिन्ने भएकाले जित सुनिश्चित रहेको बताउँथे । काँग्रेसमा गुटबन्दी नरहेकाले सिंगो जिल्लाका कार्यकर्ता साथमा रहेको उनको दाबी थियो । उनी दुई पटक जिल्ला सभापति भइसकेका व्यक्ति हुन् ।

नभन्दै चुनावी परिणामले थापाको दाबी सही ठहर्याएको छ ।थापा र बस्नेतबीच समानता के छ भने दुवै ५५ वर्षभन्दा कमका र हक्की नेताका रूपमा स्थानीयमाझ परिचित छन् । थापालाई भने सबैभन्दा ठुलो फाइदा सिंगो गठबन्धनको भोट रहेकाले भयो । बस्नेतबाट असन्तुष्टहरूले नयाँ मुहार खोज्दा विकल्पमा थापा उदाए ।
उम्मेदवारी बस्नेतका लागि नौलो भने थिएन । यसअघि नै उनले यसै क्षेत्रबाट आफूलाई दुई पटक परीक्षण गराइसकेका थिए।

२०७० को संविधानसभा निर्वाचनमा काँग्रेसका रामेश्वर ढुंगेल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग पराजित भई १६ हजार २९ मत ल्याएर तेस्रो स्थानमा सीमित भएका बस्नेतले गएको २०७४ को चुनावमा भने फड्को मारेका थिए ।
यद्यपि २०७४ सालमा बस्नेतले वाम गठबन्धनको साथ र काँग्रेसबाट भएको कमजोर उम्मेदवारीको फाइदा उठाउँदै दोब्बर मतले निर्वाचित भएको टिप्पणी हुने गर्छ । हुन पनि गएको चुनावमा ‘टुरिस्ट’ उम्मेदवारको रूपमा काँग्रेसले ढुंगानालाई उठाएको थियो ।

प्रत्येक पटक काँग्रेसले नयाँ नयाँ उम्मेदवार उठाउँदा पनि काँग्रेसले जित्ने गरेकोमा यस पटक काँग्रेसका नयाँ उम्मेदवार थापाले जितेका छन् । गठबन्धनअन्तर्गत माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ भएकाले पनि थापालाई जित्ने आधार बलियो भएको हो ।
एमालेको युवा संघ नेपालबाट राजनीतिक करियर सुरु गरेका बस्नेत २३ वर्षकै उमेरमा भक्तपुरको गुन्डु गाविसका अध्यक्ष बनेका हुन् । २०७० को चुनावमा हार्दाहार्दै पनि ओलीनिकट रहेका बस्नेत सुशील कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री बनेका थिए ।

केन्द्रीय रुपमा एमाले र राप्रपाबीच ३ स्थानमा तालमेल भए पनि यहाँ तालमेल नहुनु र नेमकिपा समर्थकले आफ्नो जित हुन नसके बरु बस्नेतको जीत भन्दा थापाको जीत होस् भन्ने चाहेकाले पनि थापाका लागि निकै सहज बनेको देखिन्छ । अर्को कुरा अघिल्लो पटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको लक्ष्यसहित चुनावी तालमेल हुँदा आगामी सरकार कम्युनिष्टको बन्छ भन्ने लगभग निश्चितजस्तै थियो । त्यसमाथि एमालेले ल्याएको राष्ट्र वादको नाराले काँग्रेस मनोवैज्ञानिक रुपमै कमजोर थियो ।

काँग्रेसको सरकार बन्ने सम्भावना क्षीण भएको अवस्थामा काँग्रेसबाट सरकारको नेतृत्वगर्ने दलको जनप्रतिनिधिलाई पठाउँदा बढी विकास हुने मनोविज्ञान समेत हाबी थियो । त्यसैले यो अवस्थामा एमालेले चुनाव जित्यो ।
यस पटकको मनोविज्ञान चुनावपछि पनि गठबन्धनको सरकार बन्छ भन्ने थियो । यो मनोविज्ञानको प्रत्यक्ष लाभ  थापाले पाए नै। निर्वाचनपछि एमालेको सरकार बन्दैन भन्ने मनोविज्ञान हाबी हुँदा यसले महेश बस्नेतलाई रक्षात्मक बनाएको छ ।

दुवै नेता  विभिन्न कारणले चर्चामा आउने गरेका छन् । अघिल्लो वर्ष भक्तपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा रिसाएपछि थापाको चर्चा चुलिएको थियो । महेश बस्नेत पृष्ठभूमि र विगतमा उनको बोलीको कारण कहिले चर्चा र कहिले विवादमा समेत आउने गरेका छन् । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको आलोचनापछि उनी अर्को विवादमा तानिए । त्यही बेला अर्का उम्मेदवार थापाले भने बालेनलाई भेटेर उनको कदममा समर्थन जनाए ।

यही कारणले बालेनप्रति आस्था राख्ने स्वतन्त्र मत थापाप्रति बढी झुकाव राख्नसक्ने विश्लेषण गरिएको थियो ।भक्तपुरमा विकास निर्माणमा सक्रिय राजनीतिज्ञका रूपमा परिचय बने पनि बस्नेतलाई यसपल्ट थापाले पराजित गरेका छन् । सता गठबन्धनले भक्तपुरमा सिट बाँडफाँटमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग काँग्रेसले पाएको थियो । सोही अनुसार काँग्रेसले जिल्ला सभापति थापालाई टिकट दिएको हो ।

भाले भिडन्तको रुपमा हेरिएको यस क्षेत्रमा बस्नेत चुनावी ‘ट्याक्टिस’ मा माहिर,पिठो पनि बेच्न सक्षम,आर्थिक सम्पन्नता,सहयोगी छवि र विगतको भोट बैंक उनका जित्ने आशाका आधार थिए ।त्यसो त काँग्रेसको गढ,स्थानीय चुनावको परिणाम,प्रतिद्धन्दीको विवादलाई मुद्दा बनाउन सक्दा र फुटेको एमालेको गिरेको मनोबललाई समाएर थापाले जितेका छन् ।