पर्सामा बदर मतको प्रतिशत घट्यो



वीरगन्ज । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्सा जिल्लामा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ४५ हजार ७२५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

यो संख्या अघिल्लो आम चुनावको तुलनामा निकै कम हो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार, पर्सामा २०७४ को निर्वाचनको भन्दा यसपालि मंसिर ४ मा भएको निर्वाचनमा भने बदर मतको संख्या निक्कै कम भएको हो । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सामा प्रत्यक्ष र सामानुपातिको गरि औसतमा ९.३७ प्रतिशत मत बदर भएको थियो । तर यसपालिको निर्वाचन त्यो प्रतिशत घटेर ४.८२ प्रतिशतमा झरेको हो ।

मतदाता शिक्षा प्रभावकारी भएको र मतपत्रहरु पनि छुटटा–छुटटै भएका कारणले यसपटकको निर्वाचनमा पर्सामा बदर मतको संख्या विगतको निर्वाचनको भन्दा कम भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख झाले दाबी गर्नुभयो ।

निर्वाचन कार्यालयका पर्साका अनुसार प्रत्यक्षतर्फ खसेको कूल मतमध्ये ३.८९ प्रतिशत मत बदर भएको छ । त्यस्तै समानुपातिकतर्फ खसेको कूल मतमध्ये ५.७५ प्रतिशत मत बदर भएको हो ।

पर्साका चार निर्वाचन क्षेत्र र आठ प्रदेशसभा निर्वाचन क्षेत्रमा गरि प्रत्यक्ष तर्फ १८ हजार ४१९ मत र समानुपातिकतर्फ २७ हजार ३०६ मत गरी ४५ हजार ७२५ मत बदर भएको हो । प्रत्यक्षतर्फ पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कूल ५१ हजार २११ मत खसेकोमा २ हजार ५९१ मत अर्थात ५.०६ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षतर्फ पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा भने सबैभन्दा बढी ५.२० प्रतिशत मत बदर भएको छ । उक्त क्षेत्रमा ५८ हजार ५४७ मत खसेकोमा ३ हजार ४६ मत अर्थात ५.२० प्रतिशत मत बदर भएको हो ।

प्रत्यक्षतर्फ पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा ६४ हजार ३२४ मत खसेकोमा २ हजार ६५१ अर्थात ४.१२ प्रतिशत र क्षेत्र ४ मा ६२ हजार २१९ मत खसेकोमा २ हजार १०३ मत अर्थात् ३.३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिनुभयो ।

यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर २ (क) मा मत बदर भएको छ । ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्साको निर्वाचन क्षेत्र नम्बर–२ को (क)मा ३१ हजार ४५७ मत खसेकोमा १ हजार ३७१ मत अर्थात् ४.३६ प्रतिशत मत बदर भएको छ ।

सबैभन्दा कम क्षेत्र नंबर ४ को (ख) मा ८७८ मत अर्थात् २.६९ प्रतिशत मत बदर भएको छ । पर्सामा प्रत्यक्षको भन्दा सामानुपातिकतर्फ भने बढी मत बदर भएको जिल्ला निर्वाचान कार्यालय पर्साले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ ४.७९ प्रतिशत मत बदर भएको छ । जिल्लाका चारवटै प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा गरि समानुपातिकतर्फ कूल २ लाख ३६ हजार ६५० मत खसेकोमा ११ हजार ३४७ मत अर्थात् ४.७९ प्रतिशत मत बदर भएको हो ।

यस्तै प्रदेशसभामा पनि आठवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा गरि समानुपातिकतर्फ कूल २ लाख ३७ हजार ४१७ मत खसेकोमा त्यसमध्ये १५ हजार ९५९ मत अर्थात् ६.७२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यलय प्रमुख झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्