नेपाली चलचित्र : उत्साहजनक उपलब्धि पहाडजस्ता चुनौती



Photo: 4.bp.blogspot.com
विदुर गिरी

भारतीय कलाकार, भारतीय प्राविधिक र भारतमै सुटिङ, सम्पादन र डबिङ, भाषा मात्र नेपाली । श्यामश्वेत प्रविधि, मोनो ध्वनि प्रणाली । सात दशकअघि सत्य हरिश्चन्द्रबाट यसरी शुरू भएको नेपाली फिल्मको बाटो अब फेरिएको छ । यो बाटोले अब उच्च राजमार्गको रूप धारण गर्नथालेको छ । स्तरीय विदेशी फिल्मकै तुलनामा नेपाली फिल्म क्षेत्रले आफ्नो स्वरूप धारण गर्न थालेको छ ।

ढेड दशकयता फिल्म निर्माणमा डिजिटल प्रविधि प्रयोग भएसँगै स्वदेशी सिनेमाको रूप फेरिएको छ । सिनेमासँगसँगै हलहरू पनि डिजिटलाइज हुँदै जाँदा नेपाली फिल्म क्षेत्र अहिले आएर थप शानको विषय बन्न पुगेको छ । धमिलो चित्र, अमिलो गन्ध आउने हल बन्द हुँदै गएका छन् भने एउटै भवनमा दुई वा सोभन्दा बढी अत्याधुनिक सुविधायुक्त शानदार सिनेमा घर थपिएको थपियै छन् । आधुनिक ध्वनि प्रणालीका साथ स्क्रिन क्रिस्टल कलरले चम्किन थालेका छन् । आरामदायक र अत्याधुनिक सुविधासम्पन्न हलले नेपाली फिल्मका दर्शकलाई लोभ्याइरहेका छन् । एकतिरबाट मात्र आवाज आउने अस्पष्ट ध्वनि प्रणालीको साटो सोराउन्ड साउन्ड सिस्टमले जीवन्तताको अनुभूति पनि उसैगरी गराइरहेको छ ।

फिल्म निर्माणमा पनि अत्याधुनिक क्यामरा र क्रेनदेखि ड्रोनका साथ भिएफएक्स, कलर ग्रेडिङजस्ता विकसित प्रविधि भित्रिएसँगै निर्देशक र कथाकारले कल्पना गरेजस्तै फिल्म बन्न सम्भव हुन भएको छ । सबै पक्षले तयार भई पर्दासम्म पुगेका कथानक दृश्यले दर्शकलाई आकृष्ट गरिरहेको छ । सासु बुहारीको झगडा तथा जमिन्दार र मुखियाको थिचोमिचोमै रुमलिएको नेपाली फिल्म केही समययता आएर किशोर किशोरीको मन छाम्न सफल भएको छ भने ग्रामीण परिवेश नै कथानक प्रस्तुतिको आकर्षण मान्ने मानसिकता पनि फेरिएको छ । त्यस्ता विषयका फिल्मलाई पनि फराकिलो र भिन्न ढंगले तयार पार्दा दर्शक लोभिन थालेका छन् ।

निश्चल बस्नेतले अगाडि ल्याएको लुटदेखि रामबहादुर गुरुङले बनाएको पछिल्लो फिल्म कबड्डी ४ सम्मले दर्शकको स्वाद थप फेरिदिएका छन् । ज्ञानेन्द्र देउजाको झिंगे दाउदेखि दीपेन्द्र कुमार खनालको के घर के डेरा, दीपेन्द्र लामाको दुई नम्बरी, प्रदीप भट्टराईको महापुरुषसम्मले दर्शक रिझाएको छ ।झन्डै पौने शताब्दी लामो इतिहास रचिसकेको स्वदेशी फिल्म वर्तमानमा आएर विदेशी फिल्मको स्तरमा आइपुगेको त छ, तर वर्षमै करोडौं लगानी हुने यो क्षेत्रले त्यही बराबरको लगानी फिर्ता दिन नसक्नु अहिले पनि चुनौतीकै विषय बन्न पुगेको छ ।

खासगरी विदेशी फिल्मले नेपालमा सहजै प्रवेश पाइरहँदा नेपाली फिल्मले बल्ल बल्ल अन्तर्राष्ट्रिय बजारको बाटो पहिल्याउन थालेको छ । विश्वका धेरै देशमा नेपाली फिल्मले प्रवेश त पाएको छ, तर त्यहीँका देशका नागरिकले समेत हेर्ने र वाह भन्ने वातावरण बनाउन नेपाली फिल्म क्षेत्र सफल हुन सकेको छैन । प्रेमगीत ३ ले यसका लागि ढोका खोल्ने काम गरेको छ । अन्यथा नेपाली फिल्म त्यहाँ त्यहाँमात्र पुगिरहेका छन्, जहाँ जहाँ नेपालीको वसोबास बढेको छ । त्यहाँ त्यहाँ मात्र नेपाली फिल्म प्रदर्शन भइरहेको छ, जहाँ नेपालीमात्र देखिएका छन् । अधिकांश नेपाली फिल्म विदेशसम्म पुगे पनि केवल होटल र रेस्टुराँका थोरै नेपाली दर्शकमाझ मात्र सीमित भइरहेका छन् । विदेशी फिल्मले नेपालका हलमा पकड जमाए जसरी अत्यन्त न्यून नेपाली फिल्मले मात्र विदेशका हल देख्न पाएका छन् ।

कुनै पनि क्षेत्रले पौने शताब्दी लामो यात्रा तय गर्नु आफैंमा गौरवमय इतिहास हो । तर, यी सबलाई हेर्दा नेपाली फिल्मको यति लामो यात्रालाई गौरवशाली रूपमा लिन सकिन्छ या सकिन्न मूल्यांकन गर्नुपर्ने भएको छ । यति लामो यात्रा पार गरिसके पनि यसको पहुँच तथा विकास क्रमलाई हेर्ने हो भने यो समय बिताएकै विषयलाई गौरवको क्षण मान्न मिल्दैन ।

अर्कातिर नेपालजस्तो थोरै जनसंख्याले मात्र फिल्म हेर्ने तथा फिल्म हेर्ने संस्कृति नै विस्तारै फर्कंदै गरको पक्षलाई हेर्दा यो घडी र यात्रामा धेरै खुशी हुनुपर्ने ठाउँ देखिदैन । नेपाली भाषामा भारतमा बनेको सत्य हरिशचन्द्र होस् या नेपाली भूमिमा नेपाली कलाकारलाई नै लिएर निर्माण गरिएको आमा होस्, जसलाई नेपाली फिल्मको पहिलो कडी माने पनि एक प्रतिशत जनताले पनि नहेर्ने नेपाली फिल्म क्षेत्र सरकारी मान्यता नपाउनुका बाबजुद करिब करिब उद्योगकै रूपमा आजको घडीसम्म आइपुग्नु उल्लेखनीय र महत्वपूर्ण विषय भने मान्न सकिन्छ । तर, निर्माणको वर्षौंसम्म पनि कछुवाको गतिमा फिल्म क्षेत्रको विकास हुनुले धेरै उत्साहित हुने ठाउँ नेपाली फिल्म क्षेत्रले पाउन सकेको छैन ।

केही दशक अघिसम्म पनि धेरैजसो प्राविधिक कार्य पूरा गर्न भारतकै भर पर्नुपर्ने नेपाली फिल्म क्षेत्रका सम्पूर्ण कार्य अहिले स्वदेशमै सम्पन्न हुन सक्नुचाहिँ उत्साहजनक विषय भएको छ । अहिले पनि नेपाली फिल्म केवल प्रयोगका हिसाबले निर्माण भइरहेका छन् । थोरै प्रयोगले सफलता हासिल गरेका छन्, धेरैजसो प्रयोग केवल प्रयोगमै सीमित भएका छन् । प्रदर्शनमा आएका धेरैजसो फिल्म व्यापारिक रूपमा असफल भएपछि करोडौंको लगानी बालुवामा पानी हालेसरह भइरहेको छ ।

नेपाली फिल्म क्षेत्र यो उमेरमा आइपुग्दा पनि फिल्म निर्माण, वितरण र प्रदर्शनको क्षेत्रमा गन्जागोल उत्तिकै छ । विदेशी फिल्म फस्टाउनुका धेरै कारणमध्ये एउटा प्रमुख कारण सम्बन्धित देशले फिल्म क्षेत्रका लागि बनाइदिएको बलियो नीतिनियम पनि हो । तर, नेपाली फिल्मको क्षेत्रमा बल्ल बल्ल राष्ट्रिय फिल्म नीति बने पनि त्यसलाई सरकारले कार्यान्वयनमा ल्याएको छैन । स्वदेशी फिल्मको प्रवद्र्धन र संवद्र्धन तथा विकास र विस्तारका लागि चलचित्र विकास बोर्डको स्थापना गरिए पनि बोर्ड स्थापनाकालदेखि नै सामान्य प्रशासनिक कार्यमै अल्झिरहेको छ ।

फिल्मको निर्माण, वितरण र प्रदर्शन कतिसम्म अव्यवस्थित छ भने एउटा फिल्मले २ करोड कमाए पनि निर्माताको हिस्सामा भने १ करोड रुपियाँ पर्न मुश्किल छ । फिल्मको कुल कमाइमध्येबाट निर्माताको हातमा बढीमा ३८.९५ प्रतिशत र नभए ३४.८५ प्रतिशत मात्र परिररहेको छ । विभिन्न साना ठूला बाटो हुँदै धेरै चरणहरू पार गरिसकेको फिल्म क्षेत्रले अब भने राजमार्गकै गतिमा दौडिनु जरुरी र चुनौतीको विषय भएको छ ।

कथा, प्रस्तुतिदेखि प्राविधिक स्तरसम्म, आन्तरिक बजारदेखि बाह्य बजारसम्म विस्तार तथा पहुँचको बाटो भएर अघि बढे यो क्षेत्रले पूर्णरूपमा उद्योगको आकार ग्रहण गर्न लामो समय लाग्ने छैन । सरकाले पनि खेलकुद क्षेत्रलाई जस्तै फिल्म क्षेत्रलाई पनि प्राथमिकताको विषय बनाएर यसलाई प्रोत्साहित गर्न अब ढिला गर्नुहुन्न । कुनै देशमा गएर खेल जिते त्यही देशका सीमितले मात्र नेपाल चिन्नेछन्, तर नेपाली फिल्मकै पहँुच भए त्यो सिंगो देशले नेपाल बुभ्mनेछ । बलिउडकै कारण भारत विश्वभरि चिनिएको यथार्थलाई उदाहरण मानेर निजी क्षेत्र तथा सरकार दुवैले मिलेर यो क्षेत्रलाई होस्टेमा हैसे गरे सिंगो मुलुकले नै यसको फाइदा लिन सक्छ ।

नेपाली गाउँदेखि विदेशी शहरसम्म मुलुक चिनाउने फिल्म

भुवन केसीअध्यक्ष– चलचित्र विकास बोर्ड

नेपाली फिल्मको मुख्य चुनौती भनेको नपाली फिल्म नेपालमा मात्र सीमित हुनु हो । नेपाली फिल्म नेपालमै देखाएर मात्र हुँदैन । नेपालमै पनि पर्याप्त मात्रामा सिनेमाघर नै छैनन् । गाउँबस्तीमा अहिले पनि सिनेमाघरको अभाव छ । गाउँबस्तीमा फिल्मको पहुँच पु-याउनु एउटा चुनौती छ भने अन्तर्राष्ट्रिय रूपमै नगई अपेक्षाकृत छलाङ मार्न सकिन्न । त्यसको लागि हामीले नीति निर्माण नै गर्नुपर्छ ।

हामीले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न र इन्टरनेसनल मार्केटमा जानका लागि कमसकेम सबै इन्डोर सुटिङ गर्न मिल्ने र त्यहीँ बसेर पोस्ट प्रडक्सनको समेत काम गर्नसक्ने गरी स्टुडियो निर्माण गर्नु जरुरी छ । आउटडोर त नेपालको जुनसुकै ठाउँमा गए पनि प्राकृतिकरूपमै सुन्दर स्टुडियो बराबर छ । त्यसैले पोस्ट प्रडक्सनको कामसमेत गर्न सकिने गरी इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर बोर्डले नयाँ योजना सरकारलाई पेस गर्नेछ ।

त्यस योजनाअनुरूप सरकाले आफैं पनि स्टुडियो निर्माण गर्नेछ भने निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्नेछ । इन्टरनेसनल लेभलमा नेपाली फिल्म पठाउनका लागि प्राविधिक दृष्टिकोणले पनि बलियो बनाउनुपर्छ भने नेपालमा नेपाली भाषामै र अन्य देशमा इन्टरनेसनल ल्याङ्ग्वेजमा फिल्म बनाएर संसारभर फैलाउनु आवश्यक हुन्छ । तर, यो हाम्रोे चुनौतीको विषय बनेको छ । स्वदेशमै विदेशी भाषामा नेपाली फिल्म ल्याए भविष्यमा नेपाली भाषा संस्कृतिप्रति के असर पार्ला भन्ने विचार पु¥याएर अघि बढ्नु जरुरी छ ।

प्रेमगीतले बाटो देखायो,
अरूले त्यसमा हिँडे पुग्छ

पुष्प खड्का, अभिनेता

नेपाली फिल्मको क्षेत्रमा कोरोना र त्यसपछिको समय सा¥है कठिन थियो । कबड्डी ४ पछि भने यसले राम्रो छलाङ मा¥यो । त्यसपछिको झिंगेदाउदेखि तिहारसम्मका फिल्मले सुखद व्यापार गरेका छन् । अर्कोतिर प्रेमगीत ३ विश्वका विभिन्न देशमा प्रदर्शन भई नपाली दर्शक कहाँ कहाँ छन् भनेर खोजी गर्न सफल भएको छ । संसारभर छरिएर रहेका नेपालीलाई यसरी बाँध्न सकियो भने नेपाली फिल्मको व्यापार अभैm फैलन सक्छ ।

प्रेमगीत ३ ले नेपाली रहेका थुप्रै देशमा नेपाली फिल्म पु-याएर उनीहरूलाई फिल्मप्रति आकर्षित गर्न सकिन्छ भन्ने देखाएको छ । अबको चुनौती भनेको अरूले पनि यसलाई फलो गरेर नेपाली फिल्मलाई विश्व बजारमा फैलाउनु हो । हाम्रो पहिलो प्राथमिकता भनेको संसारभर रहेका नेपाली नै हुन् । उहाँहरूलाई समेट्नै पर्छ, उहाँहरूको मन जित्नैपर्छ ।

त्यसका लागि विदेशी फिल्मको नक्कलभन्दा हाम्रो अफ्नै कथावस्तु, आफ्नै मौलिकता, हाम्रै नीति नियम, हाम्रै देशको परिस्थिति अनुसारको घटना समेट्नुपर्छ । अर्को चुनौती भनेको हलिउड बलिउडका फिल्मको भीएफएक्सजस्तो प्रविधिसँग कम्पिटिसन गर्नु हो । तर, नेपाली मूलको कथा बोकेको अग्र्यानिक फिल्ममा दर्शक आकर्षित हुने देखिएको छ । मौलिकता बोकेकै कथा भए सेफ ल्यान्ड हुने रहेछ ।

विश्व व्यापारीकरण जरुरी छ

केकी अधिकारी अभिनेत्री तथा निर्मात्री

सर्वप्रथम कामना न्युज पक्लिकेसन्स्लाई ३९औं वार्षिकोत्सवका अवसरमा बधाइका साथ यत्रो वर्षदेखि नेपाली फिल्म, कला, संस्कृति र कलाकारका लागि उदाहरणीय भूमिका खेलेकोमा धन्यवाद दिन चाहन्छु । केही अघिसम्म उथलपुथल भएको फिल्म उद्योगको अवस्था अहिले सन्तोषजनक छ । केही अघिसम्म बक्स अफिस रिजल्ट राम्रो नहुने र फिल्म निर्माणको संख्या पनि कम अनि उत्साह पनि कम थियो । अहिले भने नेपाली फिल्मले राम्रो व्यापार र उन्नति गरेका कारण यस क्षेत्रमा उत्साह बढेको छ । सँगसँगै अबको दिनमा व्यावसायिकीकरण हुनुपर्ने चुनौती पनि उत्तिकैै छ । व्यवस्थापनमा पनि हाम्रो निकै ठूलो कमजोरी छ । त्यसमा पनि काम गर्नुपर्ने अर्को चुनौती छ । चलचित्र विकास बोर्डले यसको लागि बलियो भूमिका निर्वाह गर्नु जरुरी छ । बोर्डले नेपाली फिल्मको उत्थान र समृद्धिको लागि नयाँ नयाँ कार्यक्रम र योजना ल्याउनुपर्छ । साथै नेपाली फिल्मको विश्व व्यापारीकरण कसरी गर्न सकिन्छ भन्नेमा अब चाहिँ हामीले सोच्ने बेला आएको छ ।

उद्योगको रूपमा स्थापित गर्नुछ : दीपकराज गिरी

दीपक गिरी/अभिनेता तथा निर्माता

सतही रूपमा हेर्दा वर्तमान फिल्मी अवस्था राम्रो देखिएको छ । तर यो पूर्णरूपमा उद्योगको रूपमा स्थापित हुन केही चुनौती छन् । निर्माताहरूमा यसलाई केवल व्यापारको रूपमा मात्रै हेर्ने वा कलाको रूपमा मात्रै हेर्ने दुई फरक प्रकारका सोच पाइन्छ । त्यसलाई त्यागेर मनोरञ्जन र कलाको सम्मिश्रण गर्दै दर्शकको चाहनाअनुसारको फिल्म बनाउने तथा पैसामुखी मात्रै नहुने हो र प्रतिद्वन्द्वीतालाई बिर्सेर समग्र उद्योगको लागि हातेमालो गरेर अघि बढ्ने हो भने यसको भविष्य राम्रो छ ।
हाम्रा चुनौती सधैं एकै प्रकारका छन् । पहिलो चुनौती भनेकी प्राविधिक रूपमा सशक्त विदेशी फिल्मसँगको प्रतिस्पर्धा हो । यसका बाबजुद नेपाली फिल्म अहिले पनि हेर्ने सरकारी दृष्टिकोण पुरानै प्रकारको छ । नेपाली फिल्मलाई कला र संस्कृतिको जगेर्ना गर्ने महत्वपूर्ण माध्यम नसोची केवल मनोरञ्जनको विषय सम्झेर प्राथमिकतामा नराख्ने परम्परा कायम छ । त्यसको अतिरिक्त हाम्रै अस्वस्थ प्रतिस्पर्धा अर्को चुनौती बनेर खडा भइरहेको छ ।
इमान्दारीका साथ काम गर्नुपर्छ: दीपेन्द्रकुमार खनाल

दीपेन्द्रकुमार खनाल/निर्माता, लेखक तथा निर्देशक

कोभिडपछिको निराशाजनक अवस्थालाई चिर्दै आजसम्म आइपुग्दा यो वर्ष नेपाली फिल्म क्षेत्र उत्साहका साथ अघि बढिरहेको देखिन्छ । यो वर्ष कलात्मक र व्यावसायिक दुवै पाटोमा नेपाली फिल्मले राम्रो पकड राखेका छन् । नेपाली फिल्मलाई अझै सशक्त बनाउन फिल्मको सबै विधामा सबैले इमान्दारीतका साथ काम गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।

अर्काको अस्तित्व नस्वीकार्ने समस्या

वीरेन्द्रनारायण श्रेष्ठ /अध्यक्ष, नेपाल चलचित्र संघ

नेपाली फिल्म क्षेत्रले पछिल्लो समयमा प्रगति गरिरहेको छ । राम्रा र उत्कृष्ट फिल्म बनिरहेका छन् भने व्यावसायिक सफलता पनि हासिल गरिरहेका छन् । यसमा फिल्ममा अभिनय गर्ने, फिल्म निर्माण गर्नेदेखि लिएर वितरण गर्ने तथा प्रदर्शन गर्ने फिल्मकर्मीको ठूलो मेहनत र भूमिका छन् । यसरी समग्रमा हेर्दा नेपाली फिल्मको भविष्य सुमधुर देखिन्छ । यद्यपि नेपाली फिल्म क्षेत्रमा एक अर्काको अस्तित्व नस्विकार्ने ठुलो समस्या पाइएको छ । नेपाली फिल्म क्षेत्रको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहुँच अबको चुनौतीका रूपमा देखिएको छ । यसका लागि सरकार र फिल्म क्षेत्रबीच गहिरो सहकार्य जरुरी बनेको छ । साथै सरकारको प्राथमिकतामा नेपाली फिल्म क्षेत्र पर्नु नै वर्तमानको आवश्कता हो । यो हाम्रा लागि चिन्ता र चुनौतीको विषय पनि हो ।

हामी माझिने चरणमै छौं

सुनीलकुमार थापा/महासचिव, नेपाल चलचित्र निर्माता संघ

कोभिडपछिको केही वर्ष फिल्म क्षेत्रको लागि कठिन समय थियो । विश्वव्यापी प्यानेमिकले गर्दा दर्शकको उपस्थिति न्युन थियो भने फिल्म निर्माताहरू पनि सिनेमा प्रदर्शन गर्न हिचकिचाइरहेका थिए । सिनेमा वृत्तमा समेत अब वैकल्पिक बाटोको खोजी गर्नुपर्ने आवाज उठिरहेको थियो । पछिल्ला केही महिना यता भने नेपाली फिल्मले एकपछि अर्को गर्दै व्यावसायिक सफलता हासिल गर्दै गएका छन् । जुन यो उद्योगको लागि हर्षको कुरा हो । यसले के पनि पुष्टि गर्दछ भने सिनेमा चल्नको लागि त्यसको कथावस्तु उत्कृष्ट हुनै पर्दछ ।

एउटा उत्कृष्ट विषयवस्तु बोकेको सिनेमाले व्यावसायिक रूपमा सफलता हात पार्न सक्छ भन्ने पछिल्ला सिनेमाले पुष्टि गरिसकेका छन् । तथापि यति सिनेमा सफल भए भनेर खुसी भइहाल्नु पर्ने अवस्था भने छैन ।नेपाली सिनेमाको आन्तरिक बजारलाई व्यापकता प्रदान गर्नका लागि नीतिगत रूपमै सरकारी तवरबाट व्यापक गृहकार्य गरिनु पर्दछ ।

उत्कृष्ट कथावस्तु बोकेका सिनेमालाई राज्यबाटै सेवा सुविधा उपलब्ध गराइनु, एउटा मल्टिप्लेक्समा कम्ती एउटा स्क्रिन अनिवार्य रूपमा नेपाली फिल्मलाई छुट्याउनु, कर तथा राजश्वमा नेपाली फिल्मलाई प्राथमिकता प्रदान गर्नु, नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा लैजानको लागि सर्वप्रथम व्यावसायिक दृष्टिकोणबाट नीतिमार्फत बाक्लो नेपाली समुदाय रहेका देशमा एकसाथ प्रदर्शन गर्ने वातावरण तयार पार्नुजस्ता व्यावसायिक पाटोलाई राज्यस्तरबाटै सम्बोधन भएको खण्डमा नेपाली फिल्मको स्तर अझै माथि पुग्ने छ ।

वर्तमान अवस्थालाई सांगोपांगो रूपमा पर्गेल्ने हो भने हामी व्यावासायिक रूपमा माझिने चरणमै छौं । हामीले सिनेमा सफलताको त्यति ठूलो स्वाद नै चाखेको छैनौं । यो नै चुनौतीको प्रमुख विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्