रुपन्देहीको तिलोत्तममा दोस्रो व्यापार मेला शुरु, भैरहवामा सञ्चालनको तयारी

0
Shares

बुटवल । रुपन्देहीको तिलोत्तममा दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ शुरु भएको छ भने भैरहवामा २३ गतेदेखि सञ्चालन हुने भएको छ ।

तिलोत्तमा उद्योग ब्यापार संगठनले विहीबारदेखि आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले बैंकहरुले मनपरी व्याज वृद्धि गर्दा उद्योगहरु धरासायी हुने अवस्था आएको भन्दै उद्योगी ब्यवसायीले ब्याज नघटे उद्योगमा तालाबन्दी गरेर बैंकलाई चापी बुझाउने चेतावनी दिएका छन् ।

बैंकहरुलाई उद्योगका चापी बुझाएर चरणबद्ध आन्दोलन थालिने उनीहरुले बताएका छन् । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कोभिड १९ र बैंकको व्याज बृद्धिले उद्योगी ब्यवसायी थलिएको अवस्थामा उनीहरुको समस्या समाधानको लागि नगरपालिकाले सधै साथ दिने बचनवद्धता ब्यक्त गर्नुभयो । तिलोत्तमामा स्थायी प्रकारको औधोगिक ब्यापार गर्ने स्थल नभएकाले त्यसको ब्यवस्थापनमा नगरपालिकाले आवश्यक पहल गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले उद्योगीका समस्या समाधान गर्न पटकपटक अर्थमन्त्रालय र सरोकारवालाई ध्यानाकर्षण गराईरहेको बताउँदै तत्काल बैंकहरुले ब्याज नघटाए चरणबन्द आन्दोलन थालिने बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले मेला सफल बनाउन तिलोत्तमाबासी सबैको सहयोग आवश्यक रहेको बताउनुभयो् । कार्यक्रममा उद्योगी ब्यवसायीहरु गुणनिधि भण्डारी, अनिल ज्ञवाली, हेमलाल न्यौपाने, रोहितराज क्षेत्री लगायतले बोल्दै निर्वाचनका कारण उद्योगीको आन्दोलन स्थगित गरिएको र अबै फेरि चर्को व्याजबिरुद्ध आन्दोलन थालिने उल्लेख गरे ।

मेलाले थलिएको अर्थतन्त्रलाई चलाएमान बनाउन सहयोग पुग्ने उनीहरुले धारणा राखको छन् । तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले)का हितराज पन्थी, नेकपा (माओवादी केन्द्र)का निर्मल जीसी लगायतले पनि उद्योगीका समस्या समाधानका लागि आफूहरु तयार रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै भैरहवामा मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी युद्ध स्तरमा गरिएको छ । उद्योगी–व्यवसायीहरुले आर्थिक क्षेत्रलाई चलायमान बनाउन मेला–महोत्सवको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनीहरुले कोरोना महामारीले थला परेको व्यापार–व्यवसायलाई माथि उकास्न पनि मेला–महोत्सव आयोजना गर्न जरुरी रहेको औल्याए ।

बिहीबार सिद्धार्थ उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को सचिवालय उद्घाटनमा बोल्दै उद्योगी–व्यवसायीले अहिलेको विषम परिस्थितिमा मेला–महोत्सवको भूमिका अझै बढेको जनाए ।