छापा : विश्वासको मूलधार

प्रकाशकीय : ३९औं वार्षिकोत्सव विशेष


अभिव्यक्ति स्वतन्त्रताको उपयोगका दृष्टिले सञ्चारमाध्यम यति व्यापक इतिहासमा कहिल्यै भएको थिएन । इन्टरनेटको विकासले उपलब्ध गराएको सामाजिक सञ्जाल र अनलाइनका कारण अहिले आम नागरिकसम्म अभिव्यक्तिको माध्यम सशक्त रुपमा पुगेको छ । यो माध्यम यति प्रभावशाली छ कि अक्षरको प्रयोगमा मात्र सीमित छैन, यसमा आवाज र चित्रका साथ अभिव्यक्ति दिन सकिन्छ, ग्राफ र कार्टुन जोड्न सकिन्छ । भन्न चाहेको सदेश देश–विदेश थर्काउने गरी प्रक्षेपण गर्न सकिन्छ । त्यही पनि मूलधार भनिने सञ्चारमाध्यमको सहयोगविना नै !

कामना प्रकाशन जति बेला स्थापना भयो, ३८ वर्षअघि आजकै दिन, त्यो बेला नागरिक अभिव्यक्तिमा यस प्रकारको प्रगति होला भनेर अनुमान गर्न सक्ने सम्भावना नै थिएन । स्वर्गीय पुष्करलाल श्रेष्ठले कामना मासिक पत्रिकाबाट यस संस्थाको स्थापना गर्दा कम्तीमा नेपाली चलचित्र र कला क्षेत्रका कलाकर्मी, लगानीकर्ता र प्राविधिकहरुको अभिव्यक्ति हुन सकोस्, उनीहरुका विषयमा सर्वसाधारणले धारणा राख्न सकून् भन्ने सोच रहेको देखिन्छ । उहाँले, नागरिक अभिव्यक्तिको मञ्चहरुको विकास गराउनकै लागि क्रमशः साधना मासिक, महानगर दैनिक, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक न्युज अफ नेपाल अनलाइन र कामना फिल्म अवार्डस् स्थापना गर्नुभयो । आज महानगर दैनिकबाहेक सबै प्रकाशनहरु आदरणीय पाठकको सेवामा समर्पित छन्, लाखौं शुभचिन्तकको माया पाइरहेका छन् ।

यसअतिरिक्त कामना न्यूज पब्लिकेसन्स् प्रालिले किताबको प्रकाशन पनि शुरु गरेको छ । यस संस्थाका बिक्रीवितरण च्यानल प्रयोग गर्दै किताब प्रकाशित गर्न–गराउन चाहने लेखकहरुलाई सहकार्यको अवसर जुरेको छ । पहिला हामी आफ्नै प्रकाशन परिवारका सदस्यले लेखेका किताबहरु मात्र प्रकाशित गथ्र्याैं, तर आज अन्य व्यक्तिका उत्कृष्ट रचनाहरुले पनि स्थान पाउने भएका छन् ।

भनिन्छ, छापा माध्यम विश्वसनीयता अर्थात् क्रेडिबिलिटीका लागि, टेलिभिजन दृश्य अर्थात् भिजिबिलिटीका लागि र अनलाइन चर्चा वा भाइरलिटीका लागि हुन् । कतिले छापा माध्यम विश्वसनीयताका लागि भनिए पनि यसको आयु छोटिँदै गएको भन्ने टिप्पणी गर्दछन् । तर नेपालको सन्दर्भमा आज पनि विज्ञापन आयका दृष्टिले हेर्दा छापा माध्यम नै अन्य माध्यमको तुलनामा अघि छ । पश्चिमी मुलुकमा विज्ञापन आयमा टेलिभिजन सबैभन्दा अघि, डिजिटल मिडिया दोस्रो स्थानमा, छापा तेस्रो र रेडियो सबैभन्दा तल देखिन्छ, यही अवस्था कोरोनापछि छिमेकी भारतमा पनि छ ।

तर, यस सन्दर्भमा गम्भीर पक्ष के छ भने, छापा माध्यममा विज्ञापन छापिएको परिमाण हेर्दा जुन मात्रामा यसले आय गरेको देखिन्छ, यथार्थमा त्यस्तो छैन । प्रकाशकहरु ८० प्रतिशत अरूलाई छुट दिएर केवल २० प्रतिशतका लागि विज्ञापन छापिरहेका देखिन्छन् । सरकारी विज्ञापनको हकमा गम्भीर भ्रष्टाचार भइराखेका छन् । यस विषयमा विज्ञापन बोर्डले पहलकदमी लिएर छापा माध्यमलगायतका मिडियालाई न्याय दिलाउनुपर्छ । गुगल, युट्युब, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा अवैधानिक रुपमा अर्बौं रुपियाँ बिदेसिएको छ । यसलाई विज्ञापन बोर्ड तथा नेपाल राष्ट्र बैंकले रोक्ने प्रयास गरेमा पनि नेपाली सञ्चारमाध्यम बलियो बन्ने अपेक्षा गर्न सकिन्छ ।

सम्प्रेषणका दृष्टिले अनलाइन र सामाजिक सञ्जाल छिटो माध्यम देखिए पनि जिम्मेवारीपूर्ण र सिद्धान्तनिष्ट भएर पत्रकारिता गर्ने दिशामा छापा माध्यम अगाडि छ । किनभने नियमित रुपमा डेडलाइन र डेटलाइनको सम्मान गर्दै, ठूलो लगानीका साथ देश–विदेशमा समेत प्रतिनिधि राखेर र सूचनालाई प्रशोधन गरी समाचार बनाएर प्रकाशित गर्ने भएकैले यसलाई राज्यको चौथो अंग मानिएको हो ।

तर, राज्यको चौथो अंगलाई राज्यले संरक्षण नगर्ने र सुविधा नदिने अनि युट्युब, फेसबुकजस्ता माध्यमले भ्रम र अतिरञ्जना फैलाइरहने, उसले पारेको फोहोर सफा गर्दै सही समाचार दिन मूलधारको माध्यम सक्रिय भइरहनुपर्ने आजको अवस्थाले पनि छापालगायतका पुराना सञ्चारमाध्यमलाई थप समस्यामा पारेको छ ।

यी विविध प्रतिकूल अवस्थाका बाबजुद नेपाल समाचारपत्रलगायत कामना परिवारका प्रकाशनले श्रद्धेय पाठकको सेवामा कुनै कसर बाँकी राखेको छैन । ३९औं वार्षिकोत्सवका उपलक्ष्यमा हामी अझ बढी समर्पित भएर यहाँहरुको सेवामा सक्रिय रहने प्रण गर्दछौं । हामीलाई यहाँहरुको सदाझैं निरन्तर माया भए पुग्छ ।

दिरेकलाल श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक