महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था डरलाग्दो

14
Shares

काठमाडौं । राजधानी बाहिर बसेर पत्रकारिता गर्ने एक महिला पत्रकारले अनलाइन हिंसाका कारण आफू आत्महत्या गर्ने सोचसम्म पुगेको बताइन् ।

महिला पत्रकारको क्षमता अभिबृद्धिका लागि महिला पत्रकारसम्बद्ध संस्थाका लागि एउटा मन्त्रालयबाट सहयोग लिएकै कारण आफ्नै सहकर्मीले उक्त मन्त्रालयका मन्त्रीसँग जोडेर सामाजिक संजालमा आफ्नो बेइज्जत गरको तितो अनुभव साट्दै उनले भनेकी छिन्– ‘मेरो पहलबाट उक्त सहयोग आयो भनेर केही पत्रकारसम्बद्ध संघसंस्थाकै व्यक्तिहरूले मेरो नाम सहयोग लिएको मन्त्रालयका मन्त्रीसंग जोडेर सामाजिक संजालमा छ्याप्छ्याप्ती बनाइयो ।

तिमीहरूको फोटो छ, भिडियो छ भन्दै फेसबुक म्यासेन्जरमा म्यासजहरू पठाइयो । कहिले हामी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं, कहिले तिम्रो बारेमा धेरै कुरा बाहिर ल्याइन्छ भन्ने । आफ्नो गल्ती नहुँदानहुँदै पनि म अनलाइन हिंसाको शिकार भएँ ।’

सामाजिक संजालमा एकै छिनमा सेयर गर्दै कहाँबाट कहाँ पुर्‍याउने, पढ्नै नसकिने जथाभावी प्रतिक्रिया दिने कार्यले आफूलाई डिजिटल हिंसा अफलाइन हिंसाभन्दा डरलाग्दो लागेको बताउँदै ती पत्रकारले भनिन्– ‘एक रात प्रतिक्रिया पढ्दै जाँदा केही प्रतिक्रिया यस्ता थिए कि मलाई त आत्महत्या नै गरुँ जस्तो लाग्यो ।’

‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी अध्ययनको क्रममा उजागर भएको यो एउटा प्रतिनिधि घटना मात्र हो । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले बुधबार ललितपुरमा सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनमा ८८ दशमलब ६ प्रतिशत महिला पत्रकारले आफूले अनलाइन हिंसा भोगेको बताएको उल्लेख छ । सन् २०२२ को मे महिनाबाट चार महिना लगाएर गरिएको उक्त अध्ययनमा सहभागी छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत् २ सय ८१ महिला पत्रकारमध्ये एक सय १६ जनाले आफ्नै कार्यालयका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मी, ८९ ले परिचित व्यक्ति, ६३ जनाले समाचार स्रोत, ५६ ले राजनीतिक दलसम्बद्ध व्यक्ति र २६ जनाले सरकारी अधिकारीबाट आफूलाई अनलाइन हिंसा भएको बताएका थिए ।

त्यसैगरी सहभागीमध्ये ५३ प्रतिशतले आफूले भोगेको अनलाइन हिंसा पत्रकारिता पेसासँग सम्बन्धित रहको बताएका थिए भने २१ दशमलब ४ प्रतिशतले अनलाइनबाट शुरु भएको हिंसा पछि गएर धम्की र भौतिक आक्रमणसम्म पुगेको बताएका थिए । अध्ययनका अनुसार अनलाइन हिंसामा सबैभन्दा बढी अर्थात ६२ दशमलब ३ प्रतिशत फेसबुक मेसेन्जर, १५ दशमलब ५ प्रतिशत ट्वीटर, १२ दशमलब ८ प्रतिशत ह्वाट्सएप, ११ दशमलब ७ प्रतिशत भाइबर, ६ प्रतिशत इमेल र ४ दशमलब ६ प्रतिशत इन्स्टाग्रामको प्रयोग भएको पाइएको छ ।

अनलाइन हिंसामा परेकामध्ये ४० दशमलब २ प्रतिशत महिला पत्रकारले पेसामै असर परेको र ३१ प्रतिशतले पारिवारिक जीवनमा असर पारेको अध्ययनको क्रममा बताएका छन् ।

कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले पत्रकारहरू नै कसरी अनलाइन हिंसाबाट पीडित भएका छन् भन्नेमा अहिलेसम्म मन्त्रालय सचेत नभएको जिकिर गर्दै भन्नुभयो– ‘अहिले कानुन र ऐन बन्ने क्रममा छ । नयाँ संसद गठन भएपछि त्यसमा दफावार छलफल चलाउने क्रममा अनलाइन हिंसालाई पनि गम्भीरताका उठाइने छ ।’ उहाँले संचार मन्त्रालयले नेपाल टेलिकमसँग मिलेर डिजिटल सुरक्षाका बारेमा अभियान शु? गर्न लागेको जानकारी पनि दिनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जनतालाई सुसूचित गर्ने व्यक्ति नै हिंसामा परेपछि समाजमा हिंसाको अवस्था अझ कस्तो होला भन्दै यसका लागी कानुनलाई सशक्त बनाउनुपर्ने त छँदैछ साथै स्वभाव परिवर्तनलाई पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड) का सदस्य बन्दना राणाले अनलाइन हिंसा पु?षमा चाहिं कुन स्तरमा भएको छ भन्ने सम्बन्धमा पनि अध्ययन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले यसबाट महिला र पु?षबीच हुने हिंसाको अन्तर र स्तर थाह पाउन सहज हुने र यसले हिंसा नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

म्यागका संस्थापक अध्यक्ष बबिता बस्नेतले प्रतिवेदन प्रस्तुत गर्दै अनलाइन हिंसा रोक्न पर्याप्त कानुनको व्यवस्था गर्नुपर्ने र मानवीय व्यवहार सुधार गर्न ज?री भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा म्यागका अध्यक्ष अनिता विन्दुले महिला हिंसा र डिजिटल सुरक्षामा बढ्दै गएको खतरा न्यूनीकरण गर्न आवश्यक नीति र कानुन निर्माणमा राज्यलाई सहयोग पु¥याउने उद्देश्यले महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्थाबारे अध्ययन गरिएको बताउनुभयो ।