जागिर मिलाउने वहानामा रकम असुल गर्ने दुई अभियुक्त पक्राउ



मुगु । जागिर मिलाउने वहानामा रकम असुली गर्ने दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनामा गागिर मिलाउने वहानामा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्नेहरूमा मुगु छायाँनाथ रारा नगरपालिका–१० झाकोटका ४० वर्षीय विकास भनिने सुर बहादुर बुढा र जुम्ला तातोपानी गाउँपालिका–२ जर्मीका ३९ वर्षीय तेजेन्द्र रावत भएको जिल्ला प्रहरी कार्यालय मुगुले प्रेस नोट मार्फत जानकारी गराएको छ ।

नेपाली सेनाको रिक्त सैन्य पदमा आव्हान गरिएको विज्ञापनमा उम्मेदवारी दिई भर्ना छनोटमा रहेका दुई जना उम्मेदवारलाई आश्वासन र धम्की दिएर रकम असुली गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

ठगी गर्ने मनसायले सैन्य पदका उम्मेदवारसँग आर्थिक लाभ लिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रनि सुदर्शन पन्थीको कमाण्डमा खटिएको प्रहरी टोलिले ठगी आरोपमा पक्राउ गरेको हो ।

सैन्य पदको उक्त विज्ञापन गत बैशाखमा प्रकाशित गरिएको थियो । सोही विज्ञापनका सैन्य पदहरूमा नाम निकाली दिने भन्दै उनीहरुले पीडितलाई भ्रममा पारेर ठगी गरेका थिए ।

अभियुक्त उपर ठगी, विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रकाशित प्रेस नोटमा उल्लेख गरिएको छ ।

पक्राउ पर्ने दुवै अभियुक्त नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्