छैटौंपटकका विजेता गच्छदार सातौंपटक पराजित

0
Shares

विराटनगर । 

सुनसरी क्षेत्रनम्बर ३ मा नेकपा (एमाले) की भगवती चौधरी विजयी हुनुभएको छ । ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदै एमाले उम्मेदवार चौधरीको जित सुनिश्चत भएको हो ।

दुईपटकको हारको बदला लिँदै विजयी भएकी चौधरीले सार्वजनिक भएको पछिल्लो मतगणनाअनुसार ३९ हजार २ सय ९७ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका विजय गच्छदारले ३३ हजार ८ सय ६३ मत पाउनुभएको छ । उहाँहरूबीचको मतान्तर ५ हजार ४ सय ३४ मत छ ।

चौधरी २०७० को निर्वाचनदेखि गच्छदारसँग निरन्तर पराजित हुँदै आउनुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले चौधरी पराजित हुनुभएको थियो । ७४ मा भने उहाँ ३ सय २१ मतान्तरले पराजित हुनुभयो । उहाँ २०७४ को निर्वाचनमा भने गच्छदारले धाँधली गरेको भन्दै पुस ११ गते भगवती सर्वोच्च जानुभयो ।

उहाँले लत्पतिएको र बदर मतसमेत रूख चिह्नमा गणना गर्न लगाएको आरोप लगाउनुभएको थियो । मुद्दा परेको तेस्रो दिन अर्थात् १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी ग-यो । तर, पाँच वर्ष बित्यो फैसला नआए पनि यसपटकको निर्वाचनमा चौधरीले बाजी मार्नुभएको हो ।

सुनसरी–३ बाट बहुदलपछि गच्छदारले एकलौटी चुनाव जित्दै आउनुभएको थियो । गच्छदारले सुनसरीबाट ४८, ५१, ५६, ६४ र ७४ मा निर्वाचन जित्नुभयो । उहाँले २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम, ७० फोरम लोकतान्त्रिकमा गएर समेत सो क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । तर, त्यसमा २०७९ मा भगवतीले ब्रेक लगाइदिनुभएको छ । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बनमा परेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी फरवार्ड लघुवित्तमार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा लाग्नुभएको छ । उहाँ यस संस्थाको सस्थापक हुनुहुन्छ । अखिल नेपाल महिला संघको राजनीतिबाट एमालेको राजनीतिमा आएकी चौधरी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुनुहुन्छ ।

उहाँ २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्रीसमेत हुनुभएको थियो । १५ वर्षको निरन्तरको संघर्षपछि चौधरीले संसद्को यात्रा तय गर्दा २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार भने राजनीतिक जीवनको उत्तराद्र्धमा पराजित हुनुभएको छ । ६ पटकका विजेता गच्छदार सातौंपटक भने पुरानै प्रतिस्पर्धीसँग पराजित हुनुभएको हो ।