रास्वपाको नाम र चिह्न अमेरिकाको फ्रिडम पार्टीसँग मिल्छ : ओली

0
Shares

काठमाडाैं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिह्न अमेरिकाको फ्रिडम पार्टीसँग मिल्ने बताउनुभएको छ । मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले स्वतन्त्र पार्टीको नाम र चिह्न अमेरिकाको फ्रिडम पार्टीसँग दुरूस्तै मिल्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिह्न घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका । दुरुस्त आकारको फोटो खिचेजस्तो घण्टी यहाँ पनि ल्याएको छ, फ्रिडम पार्टी ।’ उहाँले अमेरिकाको फ्रिडम पार्टीसँग नाम र चुनाव चिह्न मिल्ने भएकाले रास्वपा पनि कतैबाट आएको हावा त हैन भन्ने टिप्पणी गर्नुभयो ।

ओलीले चुनाव अघिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिट पनि नजित्ने दाबी गर्दै आउनुभएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ७ सिट जितेर चौथो राष्ट्रिय पार्टी बनेको उक्त दलप्रति तिखो टिप्पणी गर्दै ओलीले ‘ह्वात्तै फुलेकाले चाँडै झर्ने’ बताउनुभयो ।

रास्वपाले समानुपातिकतर्फ १० लाख ९० हजारभन्दा बढी मत ल्याइसकेको छ । आगामी संसद्मा एमाले दोस्रो दल हुँदा प्रत्यक्ष र समानुपातिक गरी रास्वपा चौथो दलका रूपमा संसदमा प्रतिनिधित्व गर्ने हैसियत कायम राखेको छ । उक्त दलका २२ भन्दा बढी सांसद हुने देखिएको छ ।