थापाथलीका सुकम्वासीले शुरू गरे माइतीघरमा अनशन



काठमाडौं । 

थापाथलीस्थित सुकुम्बासी बस्तीका सुकुम्बासीले मंगलबारदेखि माइतीघरमा अनशन शुरू गरेका छन् । यसअघि मंगलबार बिहान उनीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए । कामपा प्रमुख बालेन्द्र साहको राजीनामा र सुकुम्बासीको वैकिल्पक व्यवस्थाको माग गर्दै उनीहरू धर्ना बसेका हुन् । उनीहरूले ‘डोजर आतंक बन्द गर, तत्काल वैकल्पिक व्यवस्था गर’ लगायतका नारा लगाएका थिए ।

महानगरले बलजफ्ती डोजर चलाएर हटाउन खोजेको भन्दै सुकुम्बासी बस्तीका बासिन्दाहरूले महानगरको मुख्यालयअगाडी नाराबाजी गर्दा प्रहरी मुक दर्शक बनेको थियो । सोमबार सुकुम्बासी बस्ती हटाउन डोजर लिएर गएका महानगरका प्रहरीलाई सुकुम्बासीहरूले घरेलु हतियार र ढुंगा प्रहार गरी घाइते बनाएका थिए । महानगर प्रहरीमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गर्र्दै कामपाले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ ।

महानगर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने व्यक्ति स्वयं नाजारबाजी गर्न महानगर आउँदा प्रहरीले पक्राउ गर्ने कुनै आँट नगरेको भन्दै कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘म स्वयं र हाम्रा प्रहरीमाथि ढुंगामुढा गर्ने सकुम्बासीहरूको तस्वीर र भिडियोसहित उजुरी दिंदा पनि कुनै कारबाही भएको छैन ।’माइतीघरमा नाराबाजी गरेका सुकुम्बासीले आफूहरू मर्न तयार हुने तर विना विकल्प थापाथलीको बस्तीबाट नहट्ने बताएका  छन् । कामपाले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले पटकपटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । उनीहरूले अटेर गर्दै आएपछि समितिको बस्ती खाली गराउन महानगरसँग अनुरोध गरेको थियो । महानगरले समितिको समन्वयमा सोमबार डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन महानगर प्रहरी पठाएको थियो ।

सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएपछि भएको दुई पक्षबीच झडपमा महानगरका ३६ भन्दा बढी प्रहरी घाइते भएका थिए । सोमबार भएको घटनाबारे जानकारी दिन र सरकारको धारणा बुझ्न सोमबार राती नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुुवाटार पुगेका कामपा प्रमुख साहले सरकारबाट समर्थन नपाएको उहाँले सामाजिक सञ्जाल ट्विटरमा पोख्नुभएको आक्रोशबाट प्रष्ट हुन्छ । उहाँले ट्विट गर्दै लेख्नुभएको छ– ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन? देशको राजधानीमा खुलेयाम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’

शहरको सौन्दर्य कायम राख्न सुकुम्बासीबस्ती हटाउन खोज्दा असहयोग भएको टिप्पणी गर्दै कामपा प्रहरी प्रमुख पाण्डेले सबै तहको सहयोग भए आफहरूले तत्काल सुकुम्बासी बस्ती हटाउन सक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘सोमबार सामान्य अवस्था होला भनेर सामान्य पोशाकमा पुगेका थियौ, एकाएक ढुंगा प्रहार भएपछि ३६ जना प्रहरी घाइते भए । यस्तो अवस्था फेरि आउन नदिन सम्पूर्ण तयारी पूरा गरेका छौं ।’

यसैबीच महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक पाण्डेले मंगलबार दिउँसो प्रहरीलाई जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न निर्देशन दिनुभएको थियो ।कामपा प्रहरी उपरीक्षक दिनेश अर्यालले यस्तो घटना होला भन्ने नसोचेको कारण सामान्य पोशाकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै महानगर प्रहरी खटाइएको तर अबका दिनमा थप सचेत हुँदै भीड नियन्त्रण गर्ने सामग्री लगाएर जान तयारी गरिएको जानकारी दिनुभयो ।

भूमि अधिकार तथा श्रमिक संगठनले भूमिहीन सुकुम्बासीमाथि बल प्रयोग नगर्न चेतावनी दिएको छ । संगठनका अध्यक्ष शान्ता चौधरीले मंगलबार विज्ञप्ति जारी गरी व्यवस्थित र वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गर्नु गैर कानुनी भएको बताउनुभएको छ ।
राज्य आतंकलाई तत्काल रोकेर थापाथलीलगायत नदी किनारमा रहेका भूमिहीनहरूलाई तत्काल कानुनी रूपमा व्यवस्थित गर्न पनि संगठनले माग गरेको छ । बल प्रयोग गरी गरिबहरूलाई उठीबास गर्न खोजिए त्यसबाट सिर्जना हुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने पनि संगठनले जनाएको छ ।

सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

बालेन्द्र साह, काठमाडौं महानगरपालिका प्रमुख

देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन ? देशको राजधानीमा खुलेआम आतंक हँुदा केन्द्र सरकार के हेरेर बसेको छ ?

पम्फा भुसाल, ऊर्जा तथा जलस्रोतमन्त्री
भूमि आयोगले काम गरिरहेको बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ ।

हर्क साम्पाङ, धरान उपमहानगर प्रमुख
राजधानीमा दिनदहाडै आतंक मच्चाउनेलाई छानबिन गरेर कडा कारबाही गरियोस्, प्रिय मेयर बालेनको सुरक्षामा प्रहरी प्रशासन चनाखो हुनुहोला । देशका काम गर्न खोज्नेको खुट्टा तान्ने र लडाउने झोले धेरै भए ।

प्रतिक्रिया दिनुहोस्