पिस कोरका सह–निर्देशक बिइल नेपालमा



काठमाडौं । अमेरिकी स्वयंसेवकहरूको संस्था पिस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सह–निर्देशक स्कट बिइल मंगलबार दुई दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुग्नुभएको छ । सह–निर्देशक बिइलले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटी पिस कोरका स्वयंसेवकहरूलाई नेपाल फर्काउने योजनाका बारेमा छलफल गर्ने अमेरिकी दूताबासले जनाएको छ ।

दूताबासले जारी गरेको विज्ञप्तिअनुसार कोभिड–१९ महामारीका कारण सन् २०२० को मार्च महिनामा स्वदेश फर्केका अमेरिकी स्वयंसेवकहरूलाई सन् २०२३ मा फिर्ता ल्याउने पिस कोरको योजना रहेको छ । नेपालमा पहिलो पटक सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले आफ्नो कार्यसञ्चालन शुरु गरेको थियो र त्यसयता झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा देशभरि छरिएर विभिन्न क्षेत्रमा सेवा पु¥याएका छन् । कोभिडका कारण स्वदेश फर्कनुअघि नेपालमा पिस कोरका १ सय २४ जना स्वयंसेवक तथा प्रशिक्षार्थीले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरिरहेका थिए ।

पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्ने गर्छन् ।

सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १ सय ४२ मुलुकमा सेवा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्