प्रमाणपत्र बोकेर सांसदहरु मलगोदाम र अस्पतालमा



हेटौंडा। 

मकवानपुरको २ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित फरक दलका नयाँ अनुहारका नवसांसदहरु नवनिर्वाचित भएको प्रमाणपत्र बोकेर आ-आफ्नो क्षेत्रमा जुट्नुभएको छ । प्रतिनिधिसभा–१ का सदस्य तथा राप्रपा केन्द्रीय सदस्य दीपकबहादुर सिंह अस्पताल र २ नम्बर क्षेत्रका एमाले युवा नेता महेश बर्तौला मल गोदाममा पुग्नुभएको हो ।

अस्पताल पुगेर सांसद सिंहले हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि आफूले महत्त्वपूर्ण काम गर्ने बताउनुभयो । प्रतिनिधिसभामा विजयी भएपछि हेटौंडा अस्पताल अनुगमनमा पुग्नुभएका सिंहले हेटौंडामा स्वास्थ्य क्षेत्र तल परेको भन्दै अस्पतालको स्तरोन्नतिका लागि आफ्नो तर्फबाट महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

बागमती प्रदेशको राजधानीमा रहेको अस्पताल स्तरोन्नति नभएको र उपचारका लागि जनताले दुःख पाएको देख्दा आफूलाई निकै दुःख लागेको बताउँदै सिंहले अस्पतालको स्तरोन्नतिका लागि आफ्नो कार्यकालभर निरन्तर लाग्ने धारणा व्यक्त गर्नुभयो । अनुगमनका क्रममा सिंहले त्यहाँ उपचाररत बिरामीहरुसँग प्रतिक्रिया पनि लिनुभएको थियो ।

हेटौंडामा स्वास्थ्यको कुरै नगरौँ । हेटौंडा अस्पतालको बेथिति र गैरजिम्मेवारपनका कारण सहज स्वास्थ्य सेवा पाउन सक्ने अवस्था छैन । डाक्टरको उचित व्यवस्थापन गर्नुपर्ने अवस्था छ । सबै प्रकारका सुविधा नपाउँदा नागरिक उपचारका लागि भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

निर्वाचित सिंहले पटक पटक हेटौंडा अस्पताल सुधार गर्छु भन्दै आउनुभएको छ । सोहीअनुसार उहाँले जित लगत्तै हेटौंडा अस्पताल अनुगमन गर्नुभएको हो ।

मकवानपुरका किसानले खेतीबाली लगाउने समयमा मल नपाएको गुनासो गरेपछि जिल्लाको क्षेत्र नम्बर–२ का सांसद बर्तौला कृषि सामग्री कम्पनी लिमिटेडको मल गोदाममै निरीक्षणमा जानुभएको छ ।

संघीय सांसद निर्वाचित भएपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमाणपत्र लिएपछि सांसद बर्तौला किसानले समयमा मल नपाएको गुनासो बढेकाले तत्काल मल वितरण गर्ने निर्देशनका लागि कृषि सामग्री कम्पनी लिमिटेको हेटौंडा–२, सिद्धार्थ रोडस्थित गोदाममा निरीक्षण गर्दै तत्काल किसानलाई मल वितरण गर्न निर्देशन दिनुभएको हो ।

मकवानपुर जिल्लाका १० स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल गोदाममा थन्किएको छ । तर, स्थानीय तहका कर्मचारी र सहकारी संस्थाका कारण समयमा मल वितरण गर्न थप समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष बताउनुभयो । मल आइसकेको विषयमा कार्तिक अन्तिम साता पत्राचार गरिएको तर हालसम्म हेटौंडा उपमहानगरबाहेकका स्थानीय तहले समन्वय नगर्दा मल वितरणमा समस्या भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्