निर्वाचनमा मतदाता असन्तुष्ट, मतपत्रमै नेता र व्यवस्थामाथि तथानाम गालीगलौज



काभ्रे । मतदाताहरुले देशको अवस्था, राजनीतिक दल प्रतिको वितृष्णाप्रति मतपत्रसँगै खाली कागजमा अभिमत प्रकट गरेका छन् । राष्ट्रिय स्वतन्त्र दलको घण्टी चिन्हलाई मतदान गरेका केही मतदाताहरुले मतपत्रको बिचभागमा आफ्नो असन्तुष्टी लेखेर मतपेटिकामा खसालेका छन् । मतगणनाका क्रममा त्यस्ता असन्तुष्टी फेला परेका छन् ।

‘दर्जनौ असन्तुष्टीहरु मतपत्रको बिचमा फेला परेका छन्’– मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले भन्नुभयो– ‘केहिले राजनीतिक दलको निर्वाचन चिन्ह बनाएर मतदान गरेका छन् भने केहिले नेताहरुलाई गाली गरेका छन् ।’ त्यस्ता मतपत्रहरु बदर गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मतपत्रको बीचमा फेला परेका चिटहरुमा ‘नो नट अगेन’, ‘भोट फर चेन्ज’ मेरो भोट परिवर्तनका लागि, प्रदेश सरकार खारेज गर, बृद्ध नेतालाई बिदा गर, गठवन्धन मुर्दाबाद, जय देश जय जनता लेखिएको छ ।

त्यस्तै भोट राख्न आएको होईन भुत पन्छाउन आएको, भोट हैन खाली चेक हो भन्ने शब्द लेखिएको चिट फेला परेको छ । अर्काे मतपत्रमा नालायक, बेबफुक नेता ब्यवस्थापन र भ्रष्टाचार विस्तारका लागि लुटिएको संघीयता खारेज गर, देश र जनता लुट्न पाइँदैन लेखिएको पर्चा फेला परेको छ ।

प्रदेश तर्फको मतगणनाको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिन्ह घण्टी बनाएर मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्