थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

नगर प्रहरी बलका प्रमुखसहित ३६ जना प्रहरी घाइते

0
Shares

काठमाडौं । 

थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । नगर प्रहरी निरीक्षक सूर्य के.सी. का अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

उहाँका अनुसार सुकुम्बासी बस्तीका मानिसहरूले घरेलु हरियारसहित प्रदर्शन र प्रहरीमाथि ढुङ्गा हानेका थिए । घाइतेमध्ये धेरैको टाउकोमा चोट लागेको र कसैको टाउकोमा ७ टाँकासम्म लगाउनु परेको जानकारी दिँदै नगर प्रहरी निरीक्षक के.सी.ले भन्नुभयो– ‘टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका बिरामी धेरै हुनुहुन्छ ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा बस्तीमा पुग्न नपाइकन स्थानीयबाट घरेलु हतियारसहित ढुङ्गा आक्रमण भएको बताउनुभयो ।बस्ती हटाउन डोजर लगेपछि सुकुम्बासीहरूले लगातार नाराबाजी र ढुंगामुढा गरेका थिए । बस्ती भत्काउन आउने खबर पाएपछि सुकुम्बासीले बिहानैदेखि सो क्षेत्रमा बाँसका भाटा, ढुंगा र ईंट्टाको टुक्रा तयार पारेका थिए ।

सोमबार दिउँसो करिब ३ बजे डोजरसहित पुगेका वागमती सभ्यता एकीकृत समिति, नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाका प्रहरी टोलीमाथि सुकुम्बासीले ढुंगा प्रहार गरेका थिए । सुकुम्बासीले प्रहार गरेको ढुंगा लागेर कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित डेढ दर्जन महानगर प्रहरी घाइते भएका छन् । नर्भिक अस्पतालमा उपचार गराइरहेका कामपा प्रहरी प्रमुख पाण्डेले नेपाल समाचारपत्रसँग कुरा गर्दै सरकारको निर्देशन पालन गर्ने क्रममा जस्तोसुकै परिस्थिति आए पनि बस्ती खाली गराएरै छाड्ने बताउनुभयो ।

प्रहरी आएलगत्तै सुकुम्बासीले बस्ती छिर्ने बाटो बन्द गरी टायर बालेर विरोध जनाएका थिए । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं शहरलाई सुन्दर बनाउन बस्ती हटाउनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।वागमती सभ्यता समितिले यही मङ्सिर १ गते सार्वजनिक सूचना जारी गरी मङ्सिर ४ गतेसम्म सुकुम्बासी बस्ती खाली गर्न आग्रह गरेको थियो । चुनावको दिनसम्म बस्ती हटाउन सूचना जारी गरेको भन्दै समितिको सर्वत्र विरोध भएको थियो । समिति र महानगरले सरकारको निर्देशन पर्खेर बस्दाबस्दै कुनै निर्णय नआएपछि सोमबार कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डे, प्रहरी र समितिका टोली सोमबार सुकुम्बासी बस्ती पुगेका थिए ।

कामपा प्रमुख बालेन्द्र साह र गृहमन्त्रीको राजीनामा माग गर्दै थापाथलीका सुकुम्बासीले आफूहरूलाई व्यवस्थापन नगरुञ्जेलसम्म बस्ती नछाड्ने अडान राखेका थिए । हाल सो क्षेत्रमा करिब १ सय ४० घरमा करिब ३ हजार सुकुम्बासीको परिवार बसोबास गरिरहेका छन् ।

उच्च स्रोतका अनुसार महानगरले प्रहरीको सहयोगमा बिहानै सुकुम्बासी बस्ती हटाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री निवास वालुवाटारले ‘ग्रीन सिग्नल’ नदिएको कारण बिहान सम्भव भएन । कामपाका एक कर्मचारीले नेपाल समाचारत्रसँग भने– ‘मध्यान्ह वालुवाटारबाट खबर आयो, भर्खरै निर्वाचित हुनुभएका सो क्षेत्रका सांसद प्रकाशमान सिंहलाई सोध्नुपर्छ भनेर । तर, सिंहले तत्काल कुनै उत्तर नदिएपछि र उताबाट कुनै खबर नआएपछि हामी आफैं सुकुम्बासी बस्ती गयाैं ।’

गृहमन्त्रालयले प्रहरी परिचालन गर्ने विषयमा केही नबोलेको जानकारी दिँदै उनले भने– ‘हामी बागदरबारबाट मुभ गरेपछि बल्ल प्रहरी टोली हामीसँगै आएको हो ।’ सुकुम्बासी बस्ती हटाउन डोजर थापाथली पुग्दा सबैको सहयोग भएको भए तत्कालै हटाउन सक्ने महानगरको भनाइ छ ।आन्दोलनमा उत्रिएका सकुम्बासीहरूले भने निर्वाचन अघि नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका नेता रवीन्द्र मिश्र भोट माग्दै सुकुम्बासी बस्तीमा पुगेका र त्यसबेला सबैले उचित व्यवस्थापन नभएसम्म नहटाउने आश्वासन दिएका दिएको तर अहिले एकाएक हटाउन आएको बताए ।

वागमती सभ्यता एकीकृत विकास समितिको तथ्यांकअनुसार हाल काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्बासी बस्तीमा ३ हजार ४ सय ९६ घरधुरी रहेको छन् । यसअघि महानगरको सहयोगमा समितिले धोबीखोला, वागमती, विष्णुमती, बालाजुलगायतका क्षेत्रबाट सुकुम्बासी बस्ती हटाएका थिए ।

काठमाडौं महानगरपालिकाले वागमती र धोबीखोला करिडोर क्षेत्रअन्तर्गत थापाथलीस्थित रुद्रेश्वर मन्दिर आसपासमा बनेका संरचना हटाइसकेको छ। खोला किनारामा कतिपय धार्मिक संस्थाले किरियापुत्री भवन, सालिक, मन्दिर, भजन मण्डलीलगायतका संरचनाहरू निर्माण गरेका थिए । तर, समितिले शंखमूल नजिक रहेको समितिकै नेतृत्वमा सत्य साई बाबा ध्यान केन्द्र, ओम शान्तिको सभा हल र रुद्रेश्वर मन्दिर हटाइसकेको छ ।कामपाका प्रवक्ता नवीन मानन्धरले खोला किनाराको सौन्दर्य कायम गर्नसुकुम्बासी बस्ती हटाउन थालिएको जानकारी दिनुभयो ।

प्रहरीको पूर्ण सहयोग भएन

काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको पूर्ण सहयोग बिना हचुवाको भरमा थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन पठाउँदा कामपा प्रहरी प्रमुख पाण्डेसहित ३६ जना महानगर प्रहरी घाइते भएका छन् ।
सुरक्षा कवच र लाठीबिना नै थापाथली पुगेका महानगर प्रहरीलाई सुकुम्बासीले ईंट्टा, ढुंगा र लाठी प्रहार गर्दा महिला प्रहरी पनि सख्त घाइते भएका छन् ।

कामपा प्रवक्ता नवीन मानन्धरले नेपाल प्रहरीले पूर्ण सहयोग नगरेको कारण कामपाका ३६ प्रहरी घाइते भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाल र सशस्त्र प्रहरीले पूर्ण सहयोग गर्छु भनेको थियो, तर सोचेअनुसार सहयोग हुन सकेन । महानगर प्रहरीलाई अघि सारेर नेपाल प्रहरीको टोली पछाडि बसेको कारण कामपा प्रहरीलाई क्षति पुगेको हो ।’कापमा प्रहरीका एसपी दिनेश अर्यालले सुकुम्बासीले निरन्तर ढुंगा प्रहार गर्दा दर्जनौं संख्यामा प्रहरी घाइते भएको जानकारी दिँदै भन्नुभयो– ‘शुरूमा सबै सुरक्षाकर्मीले सहयोग गर्ने कुरा भएको थियो । भिड्न पर्दा हाम्रो प्रहरी मात्र अघिअघि देखियो ।’

तस्वीर :  अनिल आङदेम्बे