उदयपुर १ मा मतगणना गर्न  आयोगको निर्देशन


काठमाडौं।

निर्वाचन आयोगले उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि नेपाली कांग्रेस र एमालेले विभिन्न माग राखेर मतगणना रोकेका छन् । एमालेले पुनः मतदानकै माग गरेको छ भने कांग्रेसले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएको छ ।

विवाद बढ्दै गएपछि यो विषय निर्वाचन आयोगसम्म पुगेकोमा आयोगले सोमबार पत्र पठाएर मतगणनालाई निरन्तरता दिन उदयपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट डा. नारायण खड्का र एमालेको तर्फबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा रहेकोमा छन् । त्यहाँ कांग्रेसका खड्काले अग्रता कायम गरेका छन् ।