पाल्पालीको अपेक्षा समस्या सम्बोधनको

0
Shares

-सिद्धार्थ राजमार्गको स्तरोन्नति र सुधार
– तानसेनको खानेपानी समस्या समाधान
– पूर्वी पाल्पाको विद्युतीकरण
-सीमान्तकृत र अल्पसंख्यकको समस्या
-जंगली जनावरको क्षतिका निम्ति पहल गर्नुपर्ने माग

 पाल्पा  । 

पाल्पा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम नतिजा आइसकेको छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामध्ये दुई प्रतिनिधिसभा र दुई प्रदेशसभामा एमाले तथा एक–एक प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेका छन् ।

चुनावको दौरानमा मतदाताको घरदैलोमा पुग्ने बेला उम्मेदवारहरुले यहाँका मुख्य समस्याहरु सिद्धार्थ राजमार्गको सुधार, तानसेनको खानेपानी दुर–दराजमा रहेका खानेपानी विद्युत्, भौतिक पूर्वाधारको विकासका साथै जनताको जीवनस्तरमा सुधार ल्याउने संकल्प र योजना अघि सारेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले जिल्लाको समग्र विकासका अलावा जंगली जनावरको समस्या समाधान र अल्पसंख्यक समुदायको आर्थिक र सामाजिक उत्थानका लागि योजना ल्याउने बताएका थिए । विशेष गरी नेकपा समाजवादी केन्द्रका उम्मेदवार सोमप्रसाद पाण्डे र नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले जिल्लाका विभिन्न स्थानमा भएका चुनावी कार्यक्रममा यस्तो योजना ल्याउनुभएको थियो ।

चुनावको दोेैरानमा आफ्नै पूर्वसहकर्मी पाण्डेलाई करिब ४ हजार मतान्तरले पराजित गरेका नेकपा एमालेबाट निर्वाचित पूर्वविद्यार्थी नेतासमेत रहेका गैरेले पाल्पाको विकासका लागि आफू मन, वचन र कर्मले लाग्ने बताउनुभएको छ । चुनावको दौरानमा पाल्पा जिल्लाका विभिन्न स्थानमा बाँदरलगायत जंगली जनावरको आतंकका कारण कृषकहरु मर्कामा परेको र बसाइँसराइसम्म गर्नुपरेकाले त्यसको समाधान र नियन्त्रणका लागि योजना ल्याउने उहाँको भनाइ थियो ।

जिल्लाका विभिन्न स्थानमा बाँदर, दुम्सी, बँदेल, मृगजस्ता जंगली जनावरले कृषकलाई दुःख दिएको गुनासो पाल्पालीले गरिरहँदा यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा आम मतदाताको जोड छ । पछिल्लो समय यहाँको वगनासकाली, रिव्दीकोट, रैनादेवी छहरालगायत तानसेन नगरपालिकाका विभिन्न वडामा कृषकले लगाएको अन्नबाली, फलफूल र तरकारी खेतीमा जंगली जनावरले दुःख दिने र बालीनाली नोक्सान गर्ने गरेका कारण कृषक मर्कामा परेका छन् । यसको समाधानका लागि उहाँ कसरी अघि बढ्नुहुन्छ जिल्लावासी उत्सुकताका साथ हेरिरहेका छन् ।

वर्षेनी दर्जनौं व्यक्तिको ज्यान लिने र मृत्युमार्गका रूपमा चिनिएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको सुधार गरी पाल्पामा पर्यटक भित्र्याउन र समग्र पाल्पाको विकासमा टेवा पु¥याउनका लागि यो मार्गको सुधार अत्यन्त जरुरी छ । र, हरेक चुनावका बेला यो मुद्दा जोडतोडले उठ्ने पनि गरेको छ । यसको सम्बोधन गर्नका लागि प्रदेशसभा र संघीय संसद्का विजयी उम्मेदवार कसरी अघि बढ्छन् त्यो पनि जिल्लावासीको प्रतीक्षाको विषय बनेको छ । यद्यपि चुनावका बेला र विजय भइसकेपछि शुभकामना दिने क्रममा पाल्पावासीले यो विषयको सम्बोधन हुनुपर्ने कुरालाई जोड दिएका छन् ।

अर्काे समस्याका रूपमा सदरमुकामवासीले भोग्दै आएको खानेपानी समस्या हो भने उत्तर–दक्षिण जोडिएका सडकहरु, पूर्वी पाल्पाको विद्युतीकरण, पर्यटकीयस्थलहरुको सुधारका साथै जनजीविकाका सवालहरु पनि छन् । त्यसो त सीमान्तकृत समुदाय, कुमाल, बोटेलगायतको आर्थिक सामाजिकस्तरमा ल्याउनुपर्ने सुधार र दैनन्दिन समस्याको समाधान पनि नवनिर्वार्चित सांसदहरुको काँधमा छ । त्यसो त चुनावी अभियानकै दौरानमा हाल विजयी भएका प्रतिनिधिसभाका उम्मेदवार नारायण आचार्य, वीरबहादुर राना, तुलाराम घर्ती, राजुप्रसाद श्रेष्ठ तथा खेमबहादुर सारूले आ–आफ्नो निर्वाचन क्षेत्रका जनतासँग विभिन्न किसिमका योजना र कार्यक्रम अघि सार्ने प्रतिबद्धता गर्नुभएको छ ।

पाल्पामा एमाले पहिलो

प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिक निर्वाचनमा पाल्पामा नेकपा एमाले पहिलो पार्टी भएको छ । हुन त प्रत्यक्षतर्फ पनि एमाले नै पहिलो भयो । पाल्पा क्षेत्र नं. १ मा प्रतिनिधिसभा र प्रदेशसभामा ३ जना नै एमालेकै उम्मेदवार विजयी भए ।
क्षेत्र नं. २ मा प्रतिनिधिसभामा एमाले र प्रदेशसभामा एउटामा कांग्रेस र अर्कोमा ‘एस’ र माओवादीका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ पाल्पामा नेकपा एमालेले समानुपातिकमा ५० हजार १ सय २३ मत पाएको छ । नेपाली कांग्रेसले ३७ हजार ९ सय ७९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८ सय १३, नेकपा माओवादी केन्द्रले ५ हजार ७ सय ९१, मंगोल नेसनल अर्गनाइजेसनले ३ हजार १ सय ९८, नेकपा (एकीकृत समाजवादी)ले १ हजार ६ सय ९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५ सय ४२, राष्ट्रिय जनमोर्चाले ६ सय ३२, राष्ट्रिय जनमुक्ति पार्टीले ५ सय ४०, जनमत पार्टीले १ सय ३० मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत रुक्मागत अर्यालले बताउनुभयो ।

कुल २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा प्रतिनिधिसभातर्फ १ लाख २१ हजार ५ सय ९७ मत खसेको थियो भने ३ हजार ५ सय ४५ मत बदर भएको थियो ।

प्रदेशसभामा पनि एमालेले नै धेरै मत ल्याएको छ । नेकपा एमालेले ५५ हजार ३ सय ६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ३९ हजार ८ सय ६८ मतका साथ दोस्रो दल भएको छ । नेकपा माओवादी केन्द्रले ८ हजार २ सय १६ मत, मंगोल नेसनल अर्गनाइजेसनको ३ हजार ९ सय ५, नेकपा समाजवादीले ३ हजार ७ सय ४०, राप्रपा ३ हजार १५, राष्ट्रिय जनमोर्चाको १ हजार ३३, राष्ट्रिय जनमुक्ति पार्टीको ७ सय ४८ मत रहेको छ ।

त्यस्तै, हाम्रो नेपाली पार्टीको ४ सय ९४ मत, जनमत पार्टीको २ सय ४९, जनता समाजवादी पार्टीको २ सय ४२, नेपाल आमा पार्टीको १ सय ७७, नेकपा माक्र्सवादी लेलिनवादीको १ सय ४८ मत, जनसमाजवादी पार्टीको १ सय ६ मत रहेको छ ।
२ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा प्रदेशतर्फ १ लाख २२ हजार ४ सय ४२ मत खसेको थियो ।