धनगढी ।
कैलालीमा एक सरकारी निवासमा तोडफोड भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकास्थित एक सरकारी निवासमा तोडफोड भएको हो ।
घोडाघोडी नगरपालिका वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभयो । लात्तीले प्रहार गर्दा कोठामा रहेका टेबुलहरू भाँचिएको तथा अन्य सामग्री फुटेको प्रहरीको भनाइ छ ।
किन भयो तोडफोड ?
शनिबार राति घोडाघोडीका मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका, सुुखड बजारस्थित ‘माछा घर रेस्टुरेन्ट’मा पनि मदिरा सेवन गरेका र विवाद शुरू भएको प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताउनुभयो ।
मेयरसहितका वडाध्यक्षसँग बसेर मदिरा सेवन गरेका अधिकृत आचार्य र वडानम्बर १ का वडाध्यक्ष ओझाबीच विवाद भएको थियो । पुराना बखेडा झिकेपछि प्रशासकीय अधिकृत आचार्यले अध्यक्षलाई अपशब्द बोलेको र सबैले सम्झाउँदा नमानेपछि तोडफोड भएको बताइएको छ ।
आफ्नै क्वाटरमा बोलाएर गाली गरेपछि ओझाले आक्रोशमा आएर टेबलमा खुट्टा बजार्दै तोडफोड गरेको प्रहरीले जनाएको छ । तर, अधिकृत आचार्यले भने मेयर रावतले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फोडेको बताउनुभयो । आफूले चित्त नबुझेका केही कुरा मेयरलाई सोधेको र त्यसपछि विवाद भएको उहाँको जिकिर छ । विवादका क्रममा हातपात भने नभएको प्रहरीको दाबी छ ।
त्यहाँ विवाद हुनुअघि हाकिम र १ का अध्यक्षले बियर, मेयर र ७ का अध्यक्षले भोड्का खाएको बताइएको छ । अन्य २ अध्यक्षले भने मदिरा सेवन नगरेको बताएका छन् । उक्त पार्टीमा मेयर रावत, १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही ७ का जुगराम चौधरी र १२ का वडाध्यक्ष रामदुलारी चौधरी पनि सहभागी थिए ।
नगरपालिकामा तालाबन्दी
तोडफोडको घटनापछि आइतबार बिहान घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ । मदिरा सेवन गरेर तोडफोड गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नगरपालिकामा तालाबन्दी गरेको हो ।कार्यपालिका बैठक चलिरहेका बेला तालाबन्दी गरेपछि कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् ।
मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेकोलगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । गिट्टी बालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबापत रकम असुल गरेको, नगरपालिकामा भ्रष्टाचार बढाएको लगायतका नेपाल कम्युनिस्ट पार्टीका आरोप छन् । तालाबन्दीपछि कार्यायल बाहिर नाराबाजीसमेत भएको छ। यता, नगरपालिकाकी उप–प्रमुख गुलिया चौधरीले भने आपसी खानपिनपछि विवाद भएको बताउनुभयो । अहिले सोही बारेमा छलफल चलिरहेको उहाँले बताउनुभयो ।











प्रतिक्रिया