काठमाडौँ विश्वविद्यालयमा फोहोर मैला व्यवस्थापन अध्ययन र अनुसन्धान 

३ करोड ११ लाखमा निर्मित भवनको उद्घाटन

0
Shares

काभ्रे।
फोहोर मैला व्यवस्थापनका लागि अध्ययन अनुसन्धान गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय धुलिखेलमा विश्व विद्यालय अनुदान आयोगको अनुदानमा ३ करोड ११ लाख रुपियाँमा निर्माणाधीन भवनको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नु भएको छ ।

‘विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षालाई सुधार गर्नु आवश्यक छ’–शिक्षा तथा विज्ञान प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौड्यालले भन्नुभयो–‘अहिले उच्च शिक्षा अध्यापनका लागि शिक्षक समेत व्यवस्थापन हुन सकेको छैन ।’ गुणस्तरीय शिक्षा आजको आवश्यकता भए पनि त्यसको व्यवहारिकतामा ल्याउन नसकिएको उहाँले बताउनु भयो ।

काठमाडौँ विश्वविद्यालयका उप कुलपति डा. भोला थापाले काठमाडौँ विश्वविद्यालयले प्रदान गरेको शिक्षा र कार्यक्रमहरूमा गुणस्तर कायम गरिएको बताउनु भयो । काठमाडौँ विश्वविद्यालय अनुदान आयोगका सचिव डा. शंकर भण्डारीले विश्वविद्यालय आवश्यकताका आधारमा खोल्नु पर्ने बताउनु भयो । संविधानले व्यवस्था गरेको आधारमा मात्रै नभई विश्वविद्यालय खोल्ने मापदण्ड र त्यसको आवश्यकताका बारेमा खोलिनु पर्ने बताउनु भयो ।

विश्वविद्यालयका डा. विकास अधिकारीले विश्वभर फैलिएको कोभिड महामारीको व्यवस्थापनसँगै उत्पादन भएको फोहोर व्यवस्थापनका साथै अन्य फोहोर व्यवस्थापनका लागि आवश्यक अनुसन्धान र अध्ययनका लागि तयार गरिएको कार्यक्रमलाई अनुदान आयोगले सहयोग गरेको बताउनु भयो । ५ करोडको कार्यक्रम मध्ये विश्वविद्यालय अनुदान आयोगले भवन निर्माणका लागि ४ करोड विनियोजन गरेकोमा ३ करोड ११ लाख रुपैयाँमा बोलपत्र आव्हान गरी कार्य सम्पन्न भएको उहाँले बताउनु भयो । भवन सुरु भएको ९ महिनामा नै निर्माण कार्य सम्पन्न गरी विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।

तीन तल्ले भवनको भुईँ तल्लामा ल्याब, दोस्रो तल्लामा अध्ययनका लागि ४० जना अध्ययन गर्ने क्षमताका ४ वटा कोठा र माथिल्लो तल्लोमा अनुसन्धानका लागि छुट्टाइएको छ । भवन निर्माण भए पनि भवनका लागि आवश्यक पर्ने फर्निचर लगायतका अन्य पूर्वाधारका लागि सरकारको सहयोग आवश्यक पर्ने उहाँले बताउनु भयो । शिक्षा मन्त्री देवेन्द्र पौड्यालले उक्त भवनले नेपालमा समस्याका रुपमा रहेको फोहोर मैला व्यवस्थापनको दिगो समाधानमा योगदान पुर्‍याउने बताउनु भयो । विश्वविद्यालयमा गरिएको अध्ययन पछि स्थानीय सरकारसँग फोहोर मैला व्यवस्थापनमा सहकार्य गरिनेछ ।