गृहमन्त्री खाँणमाथि पार्टीभित्रैबाट प्रहार, निर्वाचनमा असहयोग गर्नेको लिष्ट तयार

98
Shares

बुटवल।

मुलुकको निर्वाचन शान्तिपूर्ण रुपमा सफल पार्न सक्षम गृहमन्त्री बालकृष्ण खाँणले  निर्वाचनमा हार्नु परेको कारण खोजी हुँदै छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन एकै चरणमा स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गृहमन्त्री खाँण सफल देखिनु भएको छ ।

निर्वाचनमा सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री खाँण आफै निर्वाचनमा पराजय व्यहोरेर निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा प्रश्न उठाउने स्थान देखिएन । निर्वाचनमा धाँधली भयो भनेर कुनै पनि विपक्षी दलले प्रश्न पनि उठाउन सकेका छैनन् ।

उहाँ रुपन्देहीको क्षेत्र नं ३ बाट २०४८, २०६४, २०७० सालमा भएका संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो । सांसद र पटक–पटक मन्त्री भएका बेला गरेका विकासले उहाँ रुपन्देही बासीमाझ विकास प्रेमी नेताका रूपमा परिचित हुनुहुन्छ । त्यो काँग्रेसका नेता कार्यकर्ताले मात्रै होइन, अन्य दलका नेता कार्यकर्ता र आम नागरिकले पनि स्विकार्छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, तिनाउ नदीमा १० र दानव नदीमा १२ मोटरेबल पुल, दानव नदीको किनार कर्साघाटमा कृषि बजार थोक केन्द्र निर्माणका लागि २ अर्ब बजेट लगायतका दर्जनौँ योजना गृहमन्त्री खाँणले पार्नुभएको हो । तर, यती विकास गरेका र स्थानीय माझ लोकप्रिय नेता खाँण यो निर्वाचनमा तुलनात्मक रुपमा कमजोर उम्मेदवारसँग किन पराजित हुनुभयो भन्ने प्रश्न अहिले चर्चाको रुपमा उब्जिएको छ । परिकल्पना बेगरको पराजय खाँणले व्यहोर्नुका कारण केलाउन सुरु  गरिएको छ ।

प्रारम्भिक निष्कर्ष पार्टीभित्रैको अन्तर्घातले उहाँले पराजय व्यहोरेको चर्चा परिचर्चा सुरु भएको छ । उहाँलाई निर्वाचन जिताउन लागि परेका काँग्रेसका एक स्थानीय नेता भन्छन्, ‘हाम्रो प्रारम्भिक विश्लेषण पार्टीभित्रका साथीहरूले घात गरेका कारण उहाँको पराजय भएको छ । उहाँ जत्तिको राष्ट्रिय राजनीतिकै खम्बा भइसकेको नेतालाई नचिन्नु र निर्वाचनमा उहाँको विपक्षमा लाग्नु आश्चर्यको विषय भएको छ । यसले पार्टी संगठनमा दीर्घकालीन प्रभाव पार्नेछ ।

खाँण निर्वाचित भएर गएपछि पार्टी र मुलुकको नेतृत्व गर्ने तहमा पुग्न सक्ने विश्लेषणसहित आन्तरिक रूपमा जसरी भए पनि हराउनै भनेर लागेकाले निर्वाचनमा पराजय व्यहोरेको तर्क पनि उहाँ निकटहरू गर्छन् । पार्टी केन्द्रमा उहाँलाई रोक्न सकेमा आफू नेतृत्व तहमा पुग्न सकिन्छ भन्ने विश्लेषण साथ स्थानीय तहका नेताहरू परिचालन गरेको पनि पार्टी क्षेत्रीय समितिको प्रारम्भिक निष्कर्ष छ ।

वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका दाहिने हात खाँणलाई पराजित गरेमा देउवा कमजोर हुने र आफूहरू अगाडि पुग्न सकिन्छ भन्ने मानसिकतामा पनि केही नेता लागेको स्रोत बताउँछ । खाँणको पराजयले देउवालाई समेत क्षति पुगेको पनि विश्लेषण हुन थालेको छ ।

निर्वाचनका दौरानमा पार्टी केन्द्रका प्रभावशाली नेताहरू रुपन्देहीमा आएर पनि खाँणलाई नभेटी कार्यकर्ता मात्र भेटेर जानाले  केही आशंका गर्ने ठाँउ रहेको बताइन्छ ।

प्रदेश सभा क मा खाँणका लागि प्राय वडा नयाँ थिए । ती वडामा काँग्रेसले स्थानीय तह निर्वाचनमा ११ हजार ९ सय ३५ मत प्राप्त गरेको थियो । अहिले खाँणले १७ हजार ४ सय ७४ मत ल्याउनु भयो । जुन स्थानीय तह निर्वाचनमा काँग्रेस उम्मेदवारहरुले पाएको मत भन्दा ५ हजार ५ सय ३९ मत बढी हो ।

ख अन्तर्गतका वडाहरुमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवारहरुले पाएको मत मात्रै जोड्दा २२ हजार ९ सय १८ थियो । तर, अहिले खाँणलाई १६ हजार ५ सय ६२ मत मात्रै आयो । यो मत गठबन्धन दलले खसालेको मतसहित हो । यो मत हेर्दा स्थानीय तह निर्वाचनमा पार्टी एक्लैले पाएको मत भन्दा ६ हजार तीन सय ५६ मत कम देखिन्छ ।

यी दुई प्रदेश सभामा पाएको मतको तथ्यांक हेर्दा उहाँमाथि पार्टीभित्रैबाट अन्तर्घात भएको प्रस्टै देखिन्छ । प्रारम्भिक अनुसन्धानमा केही व्यक्तिको व्यवहारका कारण खाँण पराजित भएको देखाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुले केही व्यक्तिले निर्वाचन अघि गरेका आकांक्षा पूरा नभएपछि निर्वाचनमा असहयोग गर्दा पराजय भएको भन्ने प्रारम्भिक अनुसन्धान गरेका छन् ।

स्रोतका अनुसार २०७४ सालको निर्वाचनमा रुपन्देही ३ (ख)बाट प्रत्यक्ष उम्मेदवार बनी पराजित भएका बुटवल उपमहानगरपालिका १५ का हरिध्वज मल्लले खाँणलाई सहयोग गर्नुभएन । उहाँ अहिले पनि प्रदेश सभामा उम्मेदवारका आकाङ्क्षी हुनुहुन्थ्यो । आफूले टिकट नपाएपछि पार्टीका निर्वाचन केन्द्रित कार्यक्रममा पनि उहाँ त्यति धेरै सहभागी हुनुभएन ।

त्यस्तै निवर्तमान लुम्बिनी प्रदेश सभाकी सांसद तिलोत्तमा नगरपालिका १४ की रमा अर्यालले पनि असहयोग गरेको अनुमान क्षेत्रीय समितिको छ । आफूलाई सांसदको उम्मेदवार नबनाएको र पार्टीमा पनि जिम्मेवारी नदिएको उहाँ निकटस्थहरुले बताएका छन् ।

अघिल्लो निर्वाचनमा रुपन्देही १ (ख)मा प्रत्यक्षतर्फ उम्मेदवार बनेर पराजित अहिले टिकटका प्रत्याशी भएर पनि नपाएका तिलोत्तमा नगरपालिका ९ का हरि न्यौपाने पनि खाँणलाई हराउने रणनीतिमा लागेको बताइएको छ । उहाँ आफूले पाउनु पर्ने टिकट खाँणले अर्कैलाई दिएको भन्दै असन्तुष्ट रहेको निकटस्थहरू बताउँछन् ।

शुद्धोदन गाउँपालिका ३ का रमेश खनाल ३(ख)मा प्रत्यक्षतर्फ टिकटका आकाङ्क्षी हुनुहुन्थ्यो । तर, पार्टीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाललाई टिकट दिएपछि प्रचार प्रसारमा त्यति नदेखिनु भएको खनाल पनि भित्री रुपमा खाँणलाई हराउन भूमिका खेलेको निकटस्थहरू बताउँछन् ।
शुद्धोदन गाउँपालिका २ का भगवतीप्रसाद चौधरी लुम्बिनी प्रदेश सभाको समानुपातिकतर्फ उम्मेदवारका आकाङ्क्षी हुनुहुन्थ्यो । तर, समानुपातिक सूचीमा नपरेपछि उहाँले पनि सहयोग नगरेको बुझिएको छ ।

अर्को नेपाली काँग्रेसले पहिला रुपन्देही ५(क)मा पार्टी नेता विष्णु पोखरेललाई टिकट दिएको थियो । पछि उहाँको टिकट केन्द्रबाटै खोसेर अर्कैलाई दिइएको थियो । आफ्नो टिकट खोसिएपछि पोखरेलले पत्रकार सम्मेलन नै गरेर खाँणले आफ्नो टिकट खोसेको आरोप लगाउनु भएको थियो । बुटवल उपमहानगरपालिका ३ का रामबहादुर कार्कीले रुपन्देही २(ख)बाट टिकट दाबी गर्नु भएको थियो । गठबन्धनभित्र भागवण्डा गर्दा माओवादीको भागमा परेपछि उहाँ पनि रुष्ट हुनुहुन्थ्यो ।

त्यस्तै सियारी गाउँपालिका ६ का खगेन्द्रप्रसाद रिजाल र रत्नबहादुर रानाभाट, सियारी १ का जसवन्त कुँवर तथा बुटवल उपमहानगरपालिका १९ का जोगबहादुर खत्री र पोषराज चाँपागाईले पनि सहयोग नगरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पार्टी स्रोतले बतायो ।
क्षेत्रीय समितिले प्रारम्भिक अनुसन्धानमा असहयोग गरेको देखिन आएका व्यक्तिहरूलाई प्रमाण पु¥याएर केन्द्रको अनुसन्धान आयोगमा कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको जनाएको छ ।