मतदातालाई धन्यवाद दिन घरदैलो गर्दै निर्वाचित उम्मेदवारहरु

0
Shares

पर्वत। 

चुनावपूर्व घरघरमै पुगेर मत मागेका पर्वतबाट विजयी उम्मेदवारहरु प्रचारकै शैलीमा घरघरमा पुगेर धन्यवाद दिन थालेका छन् ।
प्रतिनिधिसभामा विजयी भएका पदम गिरी, प्रदेशसभा १ मा विजयी भक्त कुँवर र  तथा प्रदेशसभा २ मा विजयी मित्रलाल बस्याल शुक्रवारदेखि मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलोमा पुग्न थालेका हुन ।

पर्वतमा निर्वाचनको मत परिणाम बिहीबार मात्रै सार्वजनिक भएको थियो  । मत परिणाम सार्वजनिक भएको दिन कुश्मामा विजय उत्साह मनाइएको थियो भने त्यसको दोस्रो दिनदेखि नै मतदातालाई धन्यवाद दिन गाउँमा लागेका हुन ।

प्रतिनिधिसभाका सदस्य गिरीले शुक्रवार जन्मथलो दुर्लुङबाट मतदातालाई धन्यवाद दिन सुरु गरेका थिए भने प्रदेशसभा १ का सदस्य भक्त कुँवरले जन्मथलो बाजुङ र प्रदेशसभा २ का मित्रलाल बस्यालले पनि जन्मथलो हुवासबाट नै धन्यवाद ज्ञापन सुरु गरेका थिए ।

नेकपा(एमाले) पर्वतका सचिव गोविन्द पहाडीका अनुसार शनिवार देखि तीन जना नै विजयी सांसदहरूले एकीकृत रूपमा धन्यवाद ज्ञापन सुरु गरेका छन् । प्रतिनिधिसभा सदस्य गिरी, प्रदेशसभा सदस्यहरू कुँवर र बस्यालले फलेबास नगरपालिका र बिहादी गाउँपालिकामा धन्यवाद ज्ञापन कार्यक्रम सकेका छन् ।

सामूहिक रूपमा धन्यवाद ज्ञापन कार्यक्रम ६ दिन सम्म चल्ने छ । मंसिर ११ गते आइतबार पैंयू गाउँपालिका र महाशिला गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ भने १२ गते जलजला गाउँपालिकामा कार्यक्रम हुनेछ । १३ गते कुश्मा नगरपालिकाका धेरै जसो वडाहरू तथा १४ गते मोदी गाउँपालिकामा सामूहिक धन्यवाद कार्यक्रम हुनेछन् ।