आफैले गराएको निर्वाचनमा हार बेहोर्ने कांग्रेसका दुई गृहमन्त्री 

0
Shares

२०६४ यता भएका चारवटा निर्वाचन मध्य २०६४ र २०७९ को निर्वाचनमा आफैले चुनाव गराएका गृहमन्त्रीले हारेका छन् ।  २०७९ को प्रतिनिधिसभा सदस्यमा बहालवाला गृहमन्त्री बालकृष्ण खाँड पराजित हुनुभयो भने २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन बहालवाला गृहमन्त्री कृष्णप्रसाद सिटौला पराजय बेहोर्नु भएको हो ।

बहालवाला गृहमन्त्री खाँड प्रतिनिधि सभातर्फ रुपन्देहीको क्षेत्र नं. ३ मा नेकपा एमाले– राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहरासँग पराजित हुनुभयो । राप्रपा–एमाले गठबन्धनका नेता बोहराले ३६ हजार ६ सय ४८ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका नेपाली कांंग्रेसका उम्मेदवार खाँणले ३४ हजार ६ मत ल्याउनुभयो । यसअघि ०७४ सालको निर्वाचनमा राप्रपा–काँग्रेस गठबन्धनबाट बोहरालाई नै भोट माग्नुभएका खाँण यस पटक उनै बोहरासँग हार्नुभएको हो ।  खाँडलाई हराउने बोहराले वि.सं.२०३६ सालको आम निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएसँगै संसदीय राजनीति सुरु गर्नुभएको थियो ।

वि.सं.२०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा रुपन्देही क्षेत्र न.२ बाट संविधानसभा सदस्य निर्वाचित भई  गणतन्त्र नेपालको संविधान बनाउन योगदान गर्नुभएको थियो । २०७४ सालको  निर्वाचनमा बोहरालाई रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएर चुनावी कमान्ड सम्हाल्नुभएका  काँग्रेस खाँणलाई अहिले बोहराले नै पराजित गर्नुभएको छ । बोहरा पटक पटक मन्त्री भएर काम गर्नुभएको छ । खाँड चुनाव गराउने वर्तमान सरकारका गृहमन्त्री हुनुहुन्छ ।

आफैले चुनाव गराउँदा पनि खाँड हार्नुको पछाडि राजनीतिमा पारिवारिक मोहलाई  लिइएको स्थानीय नेताहरुको भनाइ छ । उहाँले श्रीमती  मञ्जु खाँडलाई समानुपातिकको बन्दसूचिमा आगाडिनै नाम राखेपछि पार्टी कार्यकर्तातहमा असन्तुष्टि बढेको थियो । श्रीमतीलाई  समानुपातिक बन्दसूचिमा राखेका खाँडले चुनावको मुखैमा अन्य नेता कार्यकर्तासामु त्याग गर्न सक्नुपर्ने भन्दै भाषण गर्नुभएको थियो ।  त्यस्तै गत स्थानीय तहको निर्वाचनमा भाइ रामकृष्ण खाँडलाई तिलोत्तमा नगरपालिकाको मेयर बनाउँदा समेत स्थानीय नेताकार्यकर्ताहरु खाँडप्रति सन्तुष्ट थिएनन् । यसैको सिकार बन्नुभएका गृहमन्त्री खाँड नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर निकटका प्रभावशाली नेता हुनुहुन्थ्यो ।

त्यस्तै २०३३ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा लागेर लामो गृहयुद्धको अन्त्य, शान्ति–सम्झौता र गणतन्त्र स्थापनामा खास भूमिका खेल्नुभएका नेता सिटौलाले यो पटक पनि गणतन्त्र र सङ्घीयता विरोधी शक्ति राप्रपासँग हार बेहोर्नु पर्‍यो । २०६३ सालमा  गिरीजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम (चुनावी) सरकारका गृहमन्त्री सिटौलालाई नेकपा माओवादीका उम्मेदवार पूर्णसिंह राजवंशीले हराउनुभएको थियो भने अहिले रप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हराउनुभयो । गत २०७४ को निर्वाचनमा समेत सिटौलालाल लिङ्देनले नै पराजित गर्नुभएको थियो । झापाबाट राष्ट्रिय राजनीतिमा उदाउनुभएका नेता सिटौला पार्टीभित्र र राष्ट्रिय राजनीतिमा धेरै घात–प्रतिघात झेल्दै र झेलाउँदै आउनुभएको नेताका रुपमा चिनिनुहुन्छ ।

२०४८ यता निरन्तर केन्द्रीय चुनावमा टिकट पाउने सीमित नेतामध्येमा उहाँ पनि पर्नुहुन्छ ।  २०४८, २०५१ र २०५६ को संसदीय तथा २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित उहाँ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समेत हार्नुभयो । तर, २०५६ मा पराजित गरेका नेकपा (एमाले)का द्रोणाचार्यको निधनपछि भएको उप–निर्वाचनमा उहाँले जित निकाल्नुभएको थियो  ।

त्यस्तै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उहाँ झापा क्षेत्र नं.३ बाटै राप्रपाका लिङ्देनलाई ५ हजार १०२ मतले पराजितगर्दै विजयी हुनुभएको थियो ।  उसो त यो निर्वाचनमा पार्टीका माथिल्लो तहमा रहेर मन्त्रीको जिम्मेवारीमा सम्हालिसकेका तथा बहालवाला मन्त्रीहरु समेत ढलेका छन् । तर लोकतन्त्र र संघीयताका पक्षमा उभिनुभएका बहालवाला गृहमन्त्रीले नै सङ्घीयता विरोधी शक्तिसँग पराजय वेहोर्नुलाई राजनीतिक बृत्तमा विशेषरुपमा हेर्न थालिएको छ । तर नेपाली कांग्रेसका नेताहरुले भने आफू हारेर पनि निष्पक्ष निर्वाचन गराउनु लोकतान्त्रको सुन्दर पक्ष भएकाले हार जितलाई सहज स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।