‘पराजित भएकोमा हिनताबोध होईन झन् उत्साहित छौं’ : बिशाल भट्टराई

0
Shares

खोटाङ ।

खोटाङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एमालेका बिशाल भट्टराईले पराजित भएकोमा हिनताबोध नभई झन उत्साहित भएको बताउनुभएको छ । शनिबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै स्थानीय तहमा पार्टीले पाएको मत भन्दा प्रतिनिधिसभा र प्रदेशसभामा बढी मत पाएकाले उत्साहित भएको बताउनुभएको हो ।

प्रमुख सचेतक समेत रहनुभएको नेकपा एमाले पोलिट्ब्युरो सदस्य भट्टराई बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेकपा माओवादीका रामकुमार राई (पासाङ)सँग २ हजार ६ सय ६९ मतले पराजित हुनुभएको थियो ।

सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको परिणाम अनुसार खोटाङसँगै देशैभरी गठबन्धन असफल भएको भट्टराईको टिप्पणी छ । गठबन्धनको कारण अबको पाँच वर्ष स्थिर सरकार नबन्ने निश्चित भइसकेकाले देश दुर्घटनामा जाने उहाँले उल्लेख गर्नुभयो । अहिलेको गठबन्धन पूर्ण रुपमा असफल भईसकेको जनताले दिएको मतले पुष्टि गरेको उहाँको भनाई छ ।

निर्वाचन समीक्षा सम्बन्धमा भट्टराई स्वयमले आयोजना गर्नुभएको पत्रकार भेटघाटमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै देशमा विकास र समृद्धिका लागि अहिलेका ठुला दल नै आवश्यक रहको दावी गर्नुभयो । अस्थायी रुपमा रातारात उदाएका दलहरुको दिगोपना नभई चाडै बिलाएर जाने भट्टराईको तर्क छ । तर, मूलधारका राजनीतिक दलहरु पनि केही सुधारिनु आवश्यक रहेको उहाँको ठहर छ ।

सरकारमा जाने की नजाने भन्ने प्रश्नमा एमालेप्रति अन्य पार्टीले राख्ने दृष्टिकोणमा भर पर्ने उहाँको जवाफ छ । सरकारमा जान तत्परता नराखिने तर आईलागेमा एमाले पछि नहट्ने भट्टराई बताउनुहुन्छ । उहाँले जितका आधारमा खुट्टा तान्ने नभई जितेकालाई रचनात्मक सहयोग गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

२०५६ र २०६४ को तत्कालिन संसदीय निर्वाचन तथा संबिधानसभाको नर्वाचनमा पराजय ब्यहोर्नुभएको भट्टराईले २०७० मा एमालेको तर्फबाट र २०७४ मा गठबन्धनको तर्फबाट लगातार बिजय हासिल गर्नुभएको थियो । भट्टराईले खोटाङको विकासमा सधै लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।