फेरि पनि बजे दुर्लुङ्गमा विजयका बाजा 

0
Shares

पर्वत। 

राजनैतिक दलका नेता र मन्त्रीको गाउँ भनेर चिनिने दुर्लुङ्गमा शुक्रबार छुट्टै रौनक थियो । कुश्मा  नगरपालिका वडा नं ३ दुर्लुङ्गका हरेक बस्ती र टोलमा स्थानीयबासीहरु फूल माला र अबिर बोकेर उभिएका थिए भने धेरैजसो त बाजागाजा सहित गाउँ परिक्रमा गरिरहेका थिए ।

दुर्लुङ्ग गाउँमा पाँच वर्षपछि यसरी जनताले विजयको खुसीयाली बाँड्दै थिए त्यसको कारण थियो प्रतिनिधिसभामा दुर्लुङ्गका बासिन्दा पदम गिरीको विजय । गिरीले पर्वतबाट प्रतिनिधिसभामा दोस्रो पटक विजय भएपछि गाउँमा पुग्दा भव्य स्वागत गरेका छन् ।  गिरीलाई सल्यान देखि देउराली हुँदै दुर्लुङ्ग कोट पुगेर चनौटे गाउँ हुँदै काफल चौर सम्म गाउँलेले बाजा गाजा सहित स्वागत गरेका थिए भने भव्य विजय जुलुस समेत निकालेका थिए ।

२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यको रुपमा क्षेत्रबहादुर गुरुङ्गको विजय पछि साबिकको दुर्लुङ्ग गाविसका  बासिन्दाले संसदीय राजनीतिमा विजय हासिल गरेका थिएनन् । तीन दशक पछि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दुर्लुङ्गका बासिन्दालाई दोस्रो पटक पनि खुसी फर्काइदिएका हुन । स्थानीयवासीले भन्दै थिए ‘सांसद र मन्त्रीको डाँडा हो दुर्लुङ्ग भनेर फेरी साख फर्किएको छ’ । दुर्लुङ्ग गाउँमा जन्मेकाहरूले जिल्लाको राजनीतिमा आफ्नो प्रभुत्व जमाउँदै आएका पनि छन् तर पहिले पहिले सांसदको डाँडो भनिने दुर्लुङ्ग संसदीय राजनीतिमा भने पछिल्लो समय पछि पद आएको समयमा २०७४ मा प्रत्यक्ष मात्रै होइन समानुपातिकमा समेत नेपाली कांग्रेसबाट लालकाजी गुरुङ सांसद बनेर त्यो रेकर्ड तोडिएको थियो । त्यसअघि पनि दुर्लुङ्ग घर भएका उमेदवारहरुले चुनाव नलडेका भने होइनन् ।

२०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा सदस्य पदका उम्मेदवार नवराज गुरुङ नेकपा(एमाले)का कृष्णप्रसाद भट्टराईसँग पराजित भए । गुरुङ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पर्वतको क्षेत्र नं २ मा पुगेर चुनाव लडे तर एमालेका विकास लम्सालसँग पनि पराजय भोगे । २०७४ मा  प्रदेश क मा नै  चुनाव लडेका नवराज गुरुङले भने माओवादी केन्द्रका नेत्र अधिकारी सँग पराजित हुँदै हारको ह्याट्रिक नै पुरा गरे ।

२०४८ पछि २०५६ को संसदीय निर्वाचन सम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पूर्व सहायक मन्त्री क्षेत्रबहादुर गुरुङले पनि चुनाव लडेका थिए तर चुनाव जित्न सकेका थिएनन्  । पदम गिरीले तीन पटक पर्वतमा निर्वाचन जितेर चुनाव नहार्ने उम्मेदवारको पहिचान बनाएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई १२ हजार भन्दा बढीको फराकिलो मतान्तरले पराजित गरेर दुर्लुङ्गमा विजयको श्रृङ्गखला शुरु गरेका गिरीले यस पटक पनि जोशीलाई २ हजार २ सय ६३ मतान्तरले जित निकाल्न सफल भएका थिए ।

गएको निर्वाचनमा गिरी विजय भएपछि कच्ची सडक गाउँ सम्मै पक्की भएको छ । खानेपानी, पर्यटन, विद्यालय भवन देखि धेरै क्षेत्रमा परिवर्तन भएको छ । यसले गर्दा पनि दुर्लुङ्गबासी खुसीले गदगद देखिएका थिए । विजयपछि गाउँ पुग्दा आफन्त र छिमेकीले गरेको स्वागतपछि गिरीले भन्नुभयो  ‘यो गाउँमा मात्रै नभई सम्बृद्धिको पक्षमा मैले जिल्लालाई नै नमुना बनाउने गरी काम  गर्छु’ जनताले दिएको मतलाई खेर जान नदिने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो ।

पाँच वर्षमा पर्वतका मुख्य सडक कालोपत्रे गर्ने, खानेपानी, बिद्युत्, सिंचाईका क्षेत्रमा उल्लेख्य काम  भएको बताउँदै अधुरा योजना पुरा गरेर सम्बृद्ध पर्वत बनाउने आफ्नो लक्ष्य भएको बताउनुभयो ।