पर्सामा कांग्रेसको विरासत फर्कियो, एमाले खाता खोल्नमै सिमित, माओवादी र लोसपाको परिणाम निराशाजनक

0
Shares

वीरगञ्ज । २०७४ सालमा सम्पन्न भएको आम चुनावमा पर्साको सबै निर्वाचन क्षेत्र विरासत गुमाएको नेपाली कांग्रेसले यस पटकको चुनावमा भने आफ्नो विरासत फर्काएको छ ।

पर्सा जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र छन् । २०७४ को निर्वाचनमा कांग्रेसले चारवटै प्रतिनिधिसभा क्षेत्र र ८ मध्ये ६ प्रदेशसभा क्षेत्रमा पराजय व्यहोरेको थियो ।

मंसिर ४ मा भएको निर्वाचनमा भने पर्सामा कांग्रेसका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् । पर्सामा ३ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यमा गरि कांग्रेसका पाँचजना उम्मेदवार थिए ।

त्यस मध्ये २ प्रतिनिधिसभा सदस्य र ३ प्रदेशसभा सदस्यमा कांग्रेसले जितेको हो । जनता समाजवादी पार्टी (जसपा)ले भने १ प्रतिनिधिसभा सदस्य र २ प्रदेशसभा सदस्य जित्दा नेकपा (एमाले)ले भने १ प्रतिनिधिसभा सदस्य मात्र जितेको छ ।

नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र स्वतन्त्र उम्मेदवारले भने १/१ प्रदेशसभा सदस्य मात्र जितेका छन् । २०७४ को निर्वाचनमा पर्सामा जसपा (तत्लानी संघीय समाजवादी फोरम)ले ३ प्रतिनिधिसभा सदस्य र ५ प्रदेशसभा सदस्य जित्दा कांग्रेसले २ प्रदेशसभा सदस्य मात्र जितेको थियो ।

लोसपा (तत्कालिन राष्ट्रिय जनता पार्टी)ले १ प्रतिनिधीसभा सदस्य र १ प्रदेशसभा सदस्य जितेको थियो । मंसिर ४ मा भएको निर्वाचनमा जिल्ला सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको कांग्रेसले पर्सा २ र ४ को प्रतिनिधिसभा सदस्य तथा पर्सा २ को (क), ३ को (ख) र ४ को (क)मा प्रदेशसभा सदस्य जितेको हो ।

पर्सा २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका अजय चौरसिया निर्वाचित हुनु भएको छ । चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित हुनु भएको हो ।

२०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बन्नु भएको थियो । २०७४ को निर्वाचनमा भने चौरसिया तत्कालिन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसँग पराजित हुनु भएको थियो ।

पर्सा ४ को प्रतिनिधिसभा सदस्यमा पनि कांग्रेसकै रमेश रिजाल विजयी हुनु भएको छ । निकटतम् प्रतिस्पर्धी एमालेका जालिम मियाँलाई ५ हजार ५ सय ३० मतान्तरले पराजित गर्दै रिजाल निर्वाचित हुनु भएको हो ।

२०४८ यताको हरेक निर्वाचनमा चुनाव लड्दै आएका कांग्रेस केन्द्रीय सदस्य रिजाल चौथो पटक सांसद बन्नु भएको हो । पर्सा-३ को प्रतिनिधिसभा सदस्यमा भने एमालेका राजकुमार गुप्ता निर्वाचित हुनु भएको छ ।

गुप्ता, कांग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ५१ मतको झिनो अन्तरले पराजित गर्दै विजयी हुनु भएको हो । गुप्ताको दोश्रो पटक संसदको यात्रा तय भएको छ । यसअघि २०७० को संबिधान सभाको चुनावमा उहाँ विजयी हुनु भएको थियो ।

पर्सा क्षेत्र नम्बर-१ मा भने जसपाका प्रदीप यादव निर्वाचित हुनु भएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गर्नु भएको हो । कांग्रेसबाट टिकट नपाएपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो ।

यादव र द्विवेदीबीचको मतान्तर १ हजार ६ सय २० छ । यस क्षेत्रमा पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार एवम् निर्वतमान सांसद लक्ष्मणलाल कर्णको भने जमानत नै जफत भएको छ । यसअघिको चुनावमा भने कर्ण पर्साकै क्षेत्र नम्बर-४ बाट निर्वाचित हुनु भएको थियो ।

प्रदेशसभा सदस्यतर्फ कांग्रेसका चारमध्ये तीनजना उम्मेदवार जित हात पार्न सफल भएका छन् । पर्सा क्षेत्र नम्बर-१ (क)को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित हुनु भएको छ । पर्सा क्षेत्र नम्बर १ (ख)मा मुख्यमन्त्रीसमेत रहेका जसपा उम्मेदवार मोहम्मद लालबाबु राउत गद्दी पुनः निर्वाचित हुनु भएको छ ।

पर्सा क्षेत्र नम्बर-२(क) को प्रदेशसभा सदस्यमा कांग्रेसका श्याम पटेल निर्वाचित हुनु भएको छ । पर्सा क्षेत्र नम्बर २ (ख)को प्रदेशसभा सदस्यमा लोसपाका रमेश कुर्मी पुन निर्वाचित हुनु भएको छ । पर्सा क्षेत्र नम्बर-३ (क)को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी हुनु भएको छ । पर्सा क्षेत्र नम्बर-३ (ख)को प्रदेशसभा सदस्यमा कांग्रेसका जनार्दनसिंह क्षेत्री निर्वाचित हुनु भएको हो ।

पर्सा क्षेत्र नम्बर-४ (क)को प्रदेशसभा सदस्यमा कांग्रेसका शंकर चौधरी पुनः निर्वाचित हुनु भएको हो । पर्सा क्षेत्र नम्बर-४ (ख)मा जसपाका उम्मेदवार सिंहासन सा कलवार पुनः निर्वाचित हुनु भएको हो ।

यसरी हेर्दा पर्सामा कुनै समय ठूलो दल रहेको कांग्रेसले अहिले आफ्नो बिरासत जोगाउन सफल भएको छ भने एमालेले पनि प्रतिनिधिसभामा खाता खोलेको छ भने चारै क्षेत्रमा जीत निकालेको जसपा भने यसपटक एउटा सिटमा खुम्चिएको छ ।