रुपन्देहीको क्षेत्र नम्बर २ दिनभर तनावग्रस्त, मतगणना बहिष्कार

0
Shares

बुटवल।

रुपन्देही प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २मा शुक्रबार दिन भर तनावग्रस्त भएको छ । मतगणनाको क्रममा मुचुल्कामा उल्लेख भएको भन्दा ३४ वटा मतपत्र थप भेटिए पछि मतगणना दिनभर स्थिगित हुन पुगेको हो । नेकपा एमाले बाहेकका राजनीतिक दल तथा उम्मेदवारहरुले मतगणना बहिष्कार गरी पुन : मतदानको माग गरेका हुन् । तर निर्वाचन आयोगले भने कम्प्युटर ईन्ट्रीमा गल्ती भएको स्वीकार गर्दै मतगणना पुन सुरु गरेको छ । यधपी मतगणनामा एमाले बाहेकका राजनीतिक दल तथा उम्मेदवारहरु सहभागी भएका छैनन् ।

रूपन्देही– २ मा मतगणनाको क्रममा ३४ वटा मतपत्र थपेको भन्दै राजनीतिक दल तथा उम्मेदवारहरुले बुटवलमा रहेको मतगणना स्थल बाहिर प्रदर्शन गरेका थिए् । बिहान ५ बजेको समयमा गनेका मत र मुचुल्कामा रहेका मतपत्र फरकफरक पाइएपछि मतगणना स्थगित भएको थियो । पछिल्लो मतगणना अनुसार नेकपा एमालेका विष्णु पौडेलले करिब ११ सय मतान्तरले अग्रता राखेका छन् । उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा लगायत १४ उम्मेदवार र ९ राजनीतिक दलले पुनः मतदानको माग गरेका हुन् ।

उम्मेदवारहरू दीर्घबहादुर केसी, वामदेव क्षेत्री, मोहनबहादुर खड्का, सुरज पौडेल, नारायण रेग्मी, शंकरप्रसाद रेग्मी, जितकुमारी गाहा, प्रदीप पन्त लगायतका उम्मेदवारहरूले पुनः मतदान गर्नुपर्ने भन्दै निर्वाचन कार्यालयमा निवेदन गरेका हुन् ।

यस्तै, सत्ता गठबन्धनसहित ९ राजनीतिक दलहरूले पुनः मतदानको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, नेपाली कांग्रेस बीपी, नेपाल दलित पार्टी लगायतले पुनः मतदानको माग गरेका हुन् ।

पुन मतदानको माग गर्दै बुटवलमा प्रदर्शन समेत गरिएको थियो ।रूपन्देही २ र प्रदेश निर्वाचन २(२) को निर्वाचनमा थुप्रै अनियमितताहरू देखिएका भन्दै पुनः मतदानको माग गरेका हुन् । यता रूपन्देही २ का निर्वाचन अधिकृत उदवीर नेपालीले मतमा कुनै फरक नभएको दाबी गर्दै अभिलेख गर्दा कर्मचारीको गल्ती भएको बताएका छन् ।दिन भर रोकिएको मतगणना साँझबाट पुन सुचारु भएको छ । केन्द्रीय निर्वाचन आयोगले स्थगीत मतगणना सुचारु गर्न निर्देशन दिएपछि मतगणना सुरु भएको हो । तर मतगणनामा एमाले बाहेकका राजनीतिक दल तथा उम्मेदवारहरु सहभागी भएका छैनन् ।