काठमाडौं ।
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ ।
फलाम र स्टील उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत लिन लागेको हो । उद्योगले अहिले करिब ४ मेगावाट विद्युत आपूर्ति लिइरहेको थियो । प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत आपूर्ति दिने छ ।
थप विद्युत आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६-११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ । उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो ।योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताउनुभयो ।
‘उद्योगले अहिले ४।८ एमभिएको लोड लिइरहेको थियो, थप ४४ एमभिए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमश ः स्वीकृति लोड बमोजिम थप विद्युत दिन सुरु गरिएको छ,’उहाँले भन्नुभयो । ‘स्वीकृति लोड अनुसार विद्युत लिएमा उद्योगले मासिक रुपमा २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्ने छ ।’
प्रतिक्रिया