दाहाललाई मिलेर अघि बढ्न ओलीको आग्रह

0
Shares

काठमाडौं । 

नेकपा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिहीबार दिउँसो टेलिफोन गरी मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गर्दै नेताहरूबीच बधाई साटासाट भएको बताउनुभयो । उहाँले निर्वाचनको अन्तिम नतिजा हेरिसकेपछि कसरी जाने भन्नेबारे छलफल हुन सक्छ भन्ने संकेत पनि गर्नुभयो । ओलीका स्वकीय सचिव बज्राचार्यले ओली र प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिने क्रममा प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा समेत गर्नुभएको बताउनुभयो ।

एमाले माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेयता बिहीबार पहिलोपटक दुई नेताबीच संवाद भएको हो । लामो समयको संवादहीनतापछि ओली र दाहालबीच भएको कुराकानीलाई आगामी सरकार निर्माणको जोडघटाउसँग जोडर हेरिएको छ । निर्वाचनको मुखमा एकअर्काविरुद्ध वाकयुद्धमा व्यस्त दुई शीर्ष नेताबीच निर्वाचनको अन्तिम नतिजा आउनुअघि नै संवाद हुनुले आगामी राजनीतिक कोर्सबारे अनेक अड्कलहरू शुरू भएको छ ।

स्रोतका अनुसार टेलिफोन संवादमा ओलीले तिक्तता बढ्दै जाँदा निकै परपर भइने जिकिर गर्दै भन्नुभयो– ‘हामीलाई टाढा पार्ने शक्तिहरू अहिले पनि सक्रिय नै छन् । अब कुरा गरेर अघि बढ्न सकिन्छ ।’ ओलीलाई जवाफ फर्काउँदै प्रचण्डले अरू कसैले टाढा पारेको नभई टाढा हुनुमा ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गर्नुभएको बताइएको छ । दाहालले बसेर कुरा गर्न समस्या नभएको तर, अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्नेमा जोड दिनुभएको श्रोतको दाबी छ । ‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’ प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो– ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

प्रचण्डलाई एमाले उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताले फोन गरी बधाई दिँदै मिलेर अघि बढ्नु उचित हुने भन्दै नतिजा आइसकेपछि बसेर छलफल गर्न सुझाव दिएको बताइएको छ । अध्यक्ष ओलीले प्रचण्डपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बिहीबार साँझ फोन गरेर बधाई दिनुभएको बज्राचार्यले जानकारी दिनुभयो ।