संघमा एमाले, प्रदेशमा गठबन्धनको अग्रता

गठबन्धनका दुई प्रदेश सदस्य विजयी

0
Shares

काभ्रे।

काभ्रेपलाञ्चोक जिल्लाका दुई वटै प्रतिनिधि सभाका क्षेत्रमा गठबन्धनका विरुद्ध नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् भने प्रदेश सभा तर्फ गठबन्धनका दुई उम्मेदवार विजयी भएका छन् । रत्न ढकाल काभ्रे १ को १ बाट र लक्ष्मण लम्साल काभ्रे २ को १ बाट विजयी भएका छन् । रत्न नेकपा माओवादीका हुन् भने लक्ष्मण नेकपा समाजवादीका हुन् ।

प्रतिनिधि सभा १ का नेकपा एमालेका रेशम लामा ३ हजार मतको अग्रतामा छन् भने नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा काभ्रे २ मा २ हजार ५ सय भन्दा धेरै मतको अग्रतामा छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ र नेपाली काँग्रेसका शिव हुमागाईँ क्रमशः क्षेत्र नम्बर १ र २ मा पछि परेका छन् । प्रदेश सभामा भने गठबन्धनका तर्फबाट उम्मेदवार भएका तीर्थ लामा नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पछि परेका छन् । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कञ्चनचन्द्र बादे नेकपा एमालेका कुमार थापा भन्दा २ हजार ५ सय मतले अघि छन् ।

काभ्रे क्षेत्र नम्बर २ सर्वाधिक चर्चामा थियो । गठबन्धनको १८ हजार मत फरक परेको उक्त क्षेत्रमा पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा उम्मेदवार थिए । बास्कोटा विरुद्ध ५ दलीय गठबन्धनको मोर्चा थियो । बास्कोटाले फराकिलो मतान्तरले अग्रता लिएका छन् । पाँचखाल, धुलिखेलका अधिकांश वडाहरुको गणना बाँकी हुँदै बास्कोटा ३ हजार भन्दा धेरै फराकिलो मतान्तरले अघि लागेका हुन् ।

विजयी भएका रत्न ढकाल यस अघि पनि बागमती प्रदेश सभा सदस्य थिए । बागमती प्रदेश सभामा मन्त्री समेत रहेका ढकालले एमालेका उम्मेदवार दिलबहादुर तामाङलाई ९४४२ मतान्तरमा पराजय गरेका थिए । ढकालको २० हजार ७ सय २० मत प्राप्त भयो भने लामाको ११ हजार २ सय ७८ मत प्राप्त भएको थियो । त्यस्तै लम्साल पनि यस अघि नेकपा एमालेको तर्फबाट सांसद थिए । पार्टी फुटे पछि लम्साल समाजवादीमा थिए । गठबन्धनबाट समाजवादीले काभ्रेमा एक सिट मात्रै प्राप्त गरेको थियो । यस अघि निर्वाचित ३ जना प्रदेश सभा सदस्य यो पटकको निर्वाचनमा प्रतिस्पर्धामा थिए ।