गुरुलाई हराएर संघीय संसद् पुगे चेला

0
Shares

हेटौंडा।

दुई वटा प्रतिनिधिसभा क्षेत्रमा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिँदा अबको ५ वर्षका लागि २ सांसद् प्रतिनिधिसभामा र ४ जना प्रदेशसभामा पुग्दा ३ नयाँ अनुहार र ३ पुरानै अनुहारले निरन्तरता पाएको छ ।\

२ प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा दुवै क्षेत्र लोकतान्त्रिक बाम गठबन्धनको हातबाट फुत्किएको छ । क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह विजयी हुनुभएको छ भने क्षेत्र नम्बर–२ मा नेकपा एमालेका महेशकुमार बर्तौला विजयी हुनुभएको छ । क्षेत्र नम्बर–१ मा विजयी सिंहलाई निर्वाचन प्रणालीमा पाँचौं प्रयासमा मिलेको सफलता हो भने क्षेत्र नम्बर–२ मा विजयी बर्तौलाले पहिलो प्रयासमा नै बाजी मार्नुभएको हो ।

मकवानपुरबाट प्रतिनिधिसभा सांसद्का लागि क्षेत्र–१ मा १६ जना र क्षेत्र–२ का लागि १० जनाको उम्मेदवारी दर्ता भएको थियो । मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ मा विजयी नेकपा एमालेका बर्तौलाका निकटतम् प्रतिस्पर्धीका रुपमा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडालाई भारी मतान्तरले पराजित गर्दै विजयी हुनुुभएको हो । बर्तौला, खतिवडाका राजनीतिक चेला हुन् । विद्यार्थीकालदेखि नै खतिवडासँग राजनीतिमा प्रवेश गर्नुभएका बर्तौलाले उहाँकै गुरुलाई पराजित गर्नुभएको छ ।

उक्त क्षेत्रमा खसेको ८६ हजार ६ सय ५२ मतमा बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गर्नुभएको छ । पहिलो पटक नै सफलता हात परेपछि अब युवापुस्तालाई देश चलाउन जिम्मा दिएर आराम गर्न खतिवडालाई आग्रह गर्दै आफ्नो जितमा खुशी हुन बर्तौलाले सुझाव दिनुभएको छ ।

नेकपा एमाले वागमती प्रदेश कमिटी उपमहासचिवसमेत रहनुभएका बर्तौलाले आफ्नो अठोटमा ‘एक पालिका–एक आवासीय विद्यालय’ कार्यक्रममार्फत् बालबालिकालाई घण्टौं हिंडेर विद्यालय जानुपर्ने र फर्किनुपर्ने अवस्था अन्त्य, सबै बालबालिकाको विद्यालयमा सहज पहुँच स्थापित गरिने, विद्यालय शिक्षामा शिक्षकको विषयगत् दरबन्दी सुनिश्चितता गर्न केन्द्रीय नीति, आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधार विकास गरी मकवानपुरलाई उच्चशिक्षाको हब बनाउन पहल गरिने उल्लेख गर्नुभएको छ ।

विभिन्न जातिका भाषा, कला, संस्कृति संरक्षण, प्रवद्र्धन र विकास, उद्यमशीलता विकासमार्फत् युवाको श्रमलाई उत्पादनसँग जोड्दै स्वरोजगार बनाइने, लगानीमैत्री वातावरण सिर्जना एवम् औद्योगिक पूर्वाधार विकास गरी हजारौंको रोजगारी सिर्जना गरिने, किसानले भोग्नुपरेका मल, विउ, सिचार्इं र बजारको समस्यालाई दीर्घकालीन समाधानको पहल गरिने, प्रत्येक घरमा पिउने पानीको पहुँच स्थापित गरिने र एक गाग्री पानीका लागि घण्टौं धाएर जानुपर्ने अवस्था अन्त्य गरिने उहाँले उल्लेख गर्नुभएको छ ।

मकवानपुरको स्वास्थ्य सेवालाई व्यवस्थित, गुणस्तरीय र विश्वनीय बनाइने, सडकसञ्जाल, सञ्चार तथा शिक्षालगायत भौतिक पूर्वाधार विकासमार्फत् सम्पूर्ण गाउँबस्तीको विकास र समृद्धिलाई प्राथमिकता दिइने, प्राकृतिक स्रोतसाधनलाई क्षेत्रको विकासका लागि परिचालन र व्यवस्थापन गरिने, जलवायु परिवर्तन एवम् वातावरण संरक्षण क्षेत्रमा नीतिगत् एवम् कानुनी सुधार र कार्यान्वयन गरिने, मध्यवर्ती आरक्ष क्षेत्रको कानुनका कारण मनहरी र साबिक हाँडीखोलाका बासिन्दाले भोग्नुपरेका समस्यालाई दीर्घकालीन समाधान खोजिने र आवश्यक स्थानमा नदीनियन्त्रण, बस्तीबचाऊ तथा तटबन्धन गरिने उहाँको अठोट छ ।

सीमभञ्ज्याङमा मैत्रीबगैंचा, थाहाको मुलबारीमा राष्ट्रिय विभूतिपार्क बनाइने, पर्यटन पूर्वाधार विकासमार्फत् मकवानपुरलाई आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य बनाइने, पयर्टन करिडोरको अवस्थाअन्तर्गत् समग्र क्षेत्रको विकासलाई प्राथमिकता दिइने उल्लेख गर्नुभएका उहाँले पूर्वाधार विकासका लागि छुट्याइएको केन्द्रीय बजेटको शत्प्रतिशत् कार्यान्वयन गर्दै समयमा आयोजना सम्पन्न गराइने बताउनुभयो ।

सार्वजनिक सेवाप्रवाहलाई छिटो, छरितो, पारदर्शी र जनमैत्री बनाउँदै सुशासन कायम गरिने, अनाथ, असहाय बालबालिकाको संरक्षणका लागि बनेका कानुन कार्यान्वयन, मकवानपुरका ऐतिहासिक, धार्मिक एवम् संस्कृतिक महत्वका पुरातात्विक सम्पदा संरक्षण र प्रवद्र्धन गरी यसको थप खोजी एवम् प्रचारप्रसार गर्दै अनुसन्धानकर्ता एवम् पर्यटकहरुको आकर्षणको केन्द्र बनाइने उहाँको अठोट छ ।

४ वटा प्रदेशसभा क्षेत्रले पनि प्रदेशसभा सांसद् पाएको छ । प्रदेशसभा–१ (क) मा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु, १ को (ख) मा नेकपा एमालेका एकालाल श्रेष्ठ, प्रदेशसभा क्षेत्र–२ (क) मा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र २ को (ख) मा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ ।
मकवानपुर प्रतिनिधि र प्रदेशसभाको ६ सिटमा २ माओवादी केन्द्र, २ नेकपा एमाले, १ नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट पाएको छ । प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ ।