संसद्मा युवाको उदय

प्रभावशाली संसदीय भूमिका निभाउन जनादेश

0
Shares

काठमाडौं । 

संसदीय राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस, नेकपा एमालेखि भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट यो निर्वाचनमा युवाहरूको उदय भएको छ । ३० वर्ष लामो संसदीय राजनीतिमा निरन्तर मैदान नछाड्ने नेताहरूको विरुद्धमा एकाएक युवाहरूको उदय भएको हो ।

मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेसका आशालाग्दा युवाहरू आएका छन् भने केही एमालेका र धेरैजसो चुनावअघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीका युवाहरू सांसद बनेका छन् । पुराना पुस्ताका नेताहरूको पार्टी भन्ने आरोप खेप्दै आएको कांग्रेसले यसपटक केही नयाँ अनुहारका युवाहरूलाई संसद्मा समेट्न सकेको छ । १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा आएका युवाहरू यो निर्वाचनमा संसद्मा छिरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, अर्का महामन्त्री विश्प्रकाश शर्मा, महामन्त्रीमा पराजित नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेल, योगेश गौचन, रामहरि खतिवडा, मोहन आचार्य, उदयशमशेर राणालगायत २९ देखि ५५ वर्ष उमेर समूहका दर्जन बढी नेताहरू यसपटक संसद्मा प्रवेश गरेका छन् । पार्टी र संसद्मा उनीहरूको प्रवेशलाई नेपाली राजनीति र कांग्रेसको राजनीतिक भविष्यमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ ।

नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेकाहरू प्रायः सबै युवा उमेर समूहका छन् । तीमध्ये शिशिर खनाल, सोविता गौतम, डा. तोषिमा कार्की, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, रवि लामिछानेलाई मतदाताले अनुमोदन गरिसकेका छन् । त्यस्तै, नेकपा एमालेबाट योगेश भट्टराई, गोकर्ण विष्टलाई युवा समूहमा राखिए पनि उहाँहरू ५५ वर्षमाथिका हुनुहुन्छ ।
यी नेताहरूमध्ये गगन थापा सबैभन्दा बढी अर्थात चारपटक संसद्मा पुगिसक्नुभएको छ । उहाँसँगै उदयशमशेर राणा, रामहरि खतिवडा, योगेश भट्टराई, गोकर्ण विष्ट संसद्मा पुरानै अनुहार हुन् ।

२९ वर्षीय योगेश गौचन, ४६ वर्षीय प्रदीप पौडेल, ५२ वर्षीय विश्वप्रकाश शर्मा, ४५ वर्षीय मोहन आचार्य संसद्मा नयाँ अनुहार हुन् । त्यस्तै, नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, सोविता गौतम, डा. तोषिमा कार्की, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, रवि लामिछाने राजनीतिक अभ्यासमै पहिलोपटक सांसद बनेका युवा हुन् । उहाँहरूलाई राजनीतिक दलभन्दा माथि उठेर परिवर्तनको संवाहकका रूपमा मतदाताले हेरेको पाइन्छ । पछिल्लो समयमा राजनीतिक दलहरूप्रति नागरिकले असन्तुष्टि जनाउँदै विकल्पको खोजीमा रहेका युवा मतदाताहरूले नयाँ राजनीतिक शक्ति र युवा उम्मेदवारलाई रुचाएको पाइएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल समाचारसँग कुरा गर्दै युवा समूहका मतदाताको रोजाइमा परेका उम्मेदवारहरू दलीय हिसाबले भन्दा पनि विगतका काम र परिवर्तनको आगामी अपेक्षालाई प्राथमिकता दिएको पाइएको बताउनुभयो ।

कांग्रेसबाट टिकट लिएका अधिकांश उम्मेदवारहरू निर्वाचित भएको भन्दै उहाँले पार्टीभित्र र संसदीय फाँटमा समेत युवाको भूमिका जनताले खोजेको बताउनुभयो । निर्वाचित कतिपय युवा सांसदहरू संसद्मा पुरानै अनुहार भए तापनि उनीहरूको संसदीय भूमिकाप्रति मतदाता सन्तुष्ट देखिएका र केही नयाँ युवाप्रति परिवर्तनको सम्भावना देखेर मतदाताले पाँच वर्षका लागि अनुमोदन गरेको उहाँको ठम्याइ छ । पार्टी संरचनामा विद्यार्थी राजनीतिबाट आएका युवाहरूको उपस्थितिले नेतृत्वलाई सच्याउने र कांग्रेसमा नयाँ जागरण पैदा गर्न सक्ने कार्यकर्ता तहमा अपेक्षा छ ।

पछिल्लो समयमा राजनीतिप्रति युवाको आकर्षण घट्दै गएको र स्वतन्त्र अभियान्ताहरूले जनताका आवाज उठाएर राजनीतिक दल खोल्दैमा देशको अवस्था परिवर्तन भइहाल्ने भन्दा पनि पुराना दलहरूले नयाँ नीति कार्यक्रम र योजनाहरूका साथ जनताको सेवक बन्नेगरी कार्यशैली परिवर्तन गर्नुपर्ने नेकपा माओवादीका युवा नेता हिमाल शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘निकै ठूलो राजनीतिक परिवर्तन गरेर आएका दलहरूले देश र जनताको अवस्था र आवश्यकताअनुसार आफै परिवर्तन हुन सक्नुपर्छ । अहिलेको म्यान्डेट पनि त्यसैतिर देखिन्छ ।’ पछिल्ला स्वतन्त्र उम्मेदवार र नयाँ दलहरूलाई हेरेर वर्षौ राजनीतिक अनुभव भएका दलहरूले कार्यशैली परिवर्तन गरी जनजीविकाका सवालमा काम गर्ने अवसरका रूपमा लिनुपर्ने शर्माको सुझाव छ ।

राजनीतिक व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको कांग्रेसमा युवाहरूको आगमनले पुराना दलको कार्यशैली, देश र जनताकोे अवस्था फेर्न सहयोग पुग्ने मतदाताले अपेक्षा गरेका राजनीतिक विश्लेषकहरू बताउँछन् । दलहरूप्रति नागरिकको वितृष्णा बढिरहेको भए पनि मतदाताले राजनीतिक दलका युवाहरूलाई नै रोज्नुको पछाडि परिवर्तनको अपेक्षा रहेको बुझ्नुपर्ने राजनीतिक विश्लेषक शंकर तिवारीको भनाइ छ ।

लोकतन्त्रमा राजनीतिक दलहरूको विकल्प नभएको भन्दै उहाँले भन्नुभयो– ‘बहुदलीय लोकतन्त्रमा राजनीतिक दलको विकल्प हुँदैन । तर, मतदाताले यो निर्वाचनबाट राजनीतिक पार्टीलाई सच्चिनु भनेर चेतावनी दिएको छ । पार्टीलाई समयानुकूल परिवर्तित गर्नकै लागि पार्टीभित्रका नयाँ युवा अनुहारलाई मतदाताले छानेका हुन् । कांग्रेसलगायतका जनअनुमोदित युवा नेताहरूले नेतृत्वको कार्यशैली परिवर्तन गराउन प्रभावशाली रूपमा भूमिका खेल्नुपर्छ ।’ जनताले भरोसाका साथ मत दिएर सदनमा पठाएका युवाहरूले जनादेश बुझेर संसद्मा उपस्थिति देखाउन सक्नुपर्ने तिवारीले सुझाव दिनुभयो ।