प्रधानमन्त्री बन्ने योजनासहित चौथोपटक संसदमा गगन

0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि मंसिर ४ मा भएको निर्वाचनमा काठमाडौं–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ह्याट्रीक गर्नुभएको छ । युवा नेता थापाले एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गर्दै तेस्रो पटक जित्नुभएको हो ।

उहाँले २१ हजार ३०२ मत सहितकोे ह्याट्री गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा थापा समानुपातिक समेत गरी चौथो पटक पाँच वर्षका लागि संसादको भूमिकामा रहनुहुनेछ । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित थापा चौथो पटक संसद छिर्दै हुनुहुन्छ । उहाँ संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट पहिलोपटक प्रत्यक्षतर्फ निर्वाचित भएको थियो ।

त्यस्तै प्रतिनिधिसभा सदस्यमा २०७४ मा समेत काठमाडौं–४ बाटै निर्वाचित हुनुभएको थियो । यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्री भएर छाटो समय काम गर्दा कमाएको छविलाई कायम कायम राख्दै अघि बढ्नुभएको छ ।

२०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सक्रिय हुनुभएका थापा २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित हुनुभएको थियो । त्रिचन्द्र क्याम्पसमा २०५३ सालमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित हुँदै थापा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्यसमेत रहनुभएको थियो ।

२०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष बन्दै २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हाल्नुभएका थापाले २०६२÷०६३ को जनआन्दोलनमा गण्तन्त्रको नारा लगाउँदै युवा समूहको नेतृत्व गर्नुभएको थियो । २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थापा २०७२ मा भएको १३औँ महाधिवेशनमा महामन्त्रीमा चुनाव लडेर हार्नुभयो । त्यस्पछि कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएर काम गर्नुभएका उहाँ हाल नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

विद्यार्थीकाल देखिनै परिवर्तन र जनताका पक्षमा प्रष्ट धारण राख्दै आउनुभएका थापाको लोकप्रियता डेढ दशक देखि निरन्तर कायम राख्नुभएको छ । पछिल्लो पटक प्रधानमन्त्रीको दावेदारि सहित चुनावमा होमिनुभएका थापा पार्टीले संसदीय दलको नेता बन्नबाट रोक लगाउन खोजेपनि दलको नेताको तयारीमा लाग्ने संकेत गर्नुभएको छ । उहाँले निर्वाचित भएलगत्तै पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा आजकै दिनबाट संसदीय दलको नेताकालागि तयारीमा जुट्ने प्रतिकृया दिनुभएको छ ।

थापाको व्यक्तित्व, टीम वर्क, विगतमा संसदमा खेलेको भूमिका, भावी योजना, सञ्चार माध्याम तथा सामाजिक सञ्जालको उपयोग लगायतले थापाको ह्रयाट्रिकमा सहयोग पुगेको छ । २०७४ सालमा यही क्षेत्रमा गगन थापा २१ हजार ५५१ मतसहित निर्वाचित हुनुभएको थियो भने भट्टराईले १८ हजार १४० मत पाउनुभएको थियो ।

काठमाडौं क्षेत्र ४ मा काठमाडौं महानगरका चारवडा (१, ७, ८ र ३०) सहित बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडाहरु पर्दछन् । उक्त क्षेत्रमा काठमाण्डौका स्थायी बासीन्दासँगै बाहिरी जिल्लाबाट आएर बसोबास गर्नेहरुको बाहुल्यता रहेको छ । १४ स्वतन्त्र सहित ३१ उम्म्ेद्वार प्रतिस्पर्धामा रहेको काठमाण्डौं क्षेत्र नम्बर ४ मा ६९ हजार ७५२ मतदाता रहेका छन् । काठमाण्डौं क्षेत्र नम्बर ४ मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।