भक्तपुर २ मा कांग्रेसकाे अग्रता

0
Shares

काठमाडौं ।

भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा ९एमाले०का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो ।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय मतान्तरले अग्रता लिएका छन् ।

मध्यपुरथिमि नगरपालिका३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले २ हजार ३३० मत प्राप्त गरेको छ । त्यस्तै एमालेले १६३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले २३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४ र नेपाल मजदुर किसान पार्टीले २५० मत प्राप्त गरेको छ । मतगणना जारी रहेको छ ।

निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।

यसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए ।