सय वर्षमाथिका ज्येष्ठ नागरिकको उत्साहपूर्वक सहभागिता

0
Shares

काठमाडौं । 

यसपटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा देशैभर मताधिकार प्रयोग गर्ने सवालमा आम मतदाताको उत्साहमा कमी देखिएकै बेलामा ज्येष्ठ नागरिकहरूको उत्साह भने प्रशंसनीय रह्यो ।

आइतबार सम्पन्न आम निर्वाचनमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ की ११५ वर्षीया मनरानी आङदेम्बेले मतदान गर्नुभएको थियो । उहाँले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।
यस्तै, बैतडीको पाटन नगरपालिका– ४ की ११३ वर्षीया मानमतीदेवी भट्टले पनि मतदानमा उत्साहपूर्वक सहभागिता जनाउनुभएको थियो ।

उहाँले पाटन नगरपालिका– ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा पुगेर मतदान गर्नुभएको थियो । बैतडीकै मेलौली नगरपालिका– २ सलेनाकी ९९ वर्षीया मानमती जोशीले पनि धर्मघर मावि सलेना मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो ।

त्यसै गरी म्याग्दीमा पनि १०७ वर्षीय ज्येष्ठ नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका– २ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रमा पुगेर मत खसाल्नुभएको थियो ।

काठमाडौंको कीर्तिपुरमा पनि ९२ वर्षीया तरमै महर्जनले मत खसालेर आफ्नो मताधिकारको प्रयोग गर्नुभएको थियो । कीर्तिपुर निवासी महर्जनले कीर्तिपुर वडा नं. ९ स्थित नेपाल टेलिकम कार्यालयमा रहेको मतदान केन्द्रमा मत खसाल्नुभएको थियो । आफ्नो छोराको सहयोगमा बिहानै मतदान केन्द्रमा पुगेकी महर्जन मतदानका लागि निकै उत्साही देखिनुहुन्थ्यो ।

मतदानपछि उहाँले भन्नुभयो–‘हामीलाई भोट हाल्ने अधिकार छ, भोट त हाल्नै प¥यो । यो उमेरमा पनि भोट दिन पाउँदा राम्रो लागेको छ ।’ गत स्थानीय तहको निर्वाचनमा पनि मतदान गरेकी महर्जनले यसपटक मतदान केन्द्रमा पहिलाजस्तो मतदाताको भीड नदेखिएको बताउनुभयो ।

त्यसै गरी तनहुँको व्यास नगरपालिका–५ पतेनीका ९० वर्षीय ज्येष्ठ नागरिक जगतमाया न्यौपानेले पनि मतदानमा उत्साहपूर्वक सहभागिता जनाउनुभएको थियो । आफ्नो घरदेखि ५ सय मिटरको दूरीमा रहेको ठूलोतारस्थित उदय माध्यामिक विद्यालय मतदान केन्द्रमा उहाँले आफ्नो भोट खसाल्नुभएको हो । परिवारको साथमा मतदान केन्द्रमा पुगेकी न्यौपानेले मतदानपछि जनताले आफ्नो जनप्रतिनिधि चयनका लागि मतदान गर्नैपर्ने बताउनुभएको थियो ।