निर्वाचनका क्रममा ११ जिल्लामा गोली चल्यो

0
Shares

काठमाडौं । 

निर्वाचनका क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको थियो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागि गोली चलाउनु परेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयले चितवनको राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको जनाएको छ ।

त्यसै गरी दोलखाका ७ ठाउँमा स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गौरीशंकर गाउँपालिका–२, बैतेश्वर गाउँपालिकाको वडानम्बर–१ र २ नम्बर वडा, कालिञ्चोक गाउँपालिका वडा नम्बर –७ र १ र जिरी नगरपालिका–९ मा पनि गोली चलेको थियो ।
त्यसै गरी प्रहरीले तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि मतदान केन्द्रमा झडप हुँदा १५ राउन्ड गोली चलाइएको थियो ।

कालापनीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताका बीच भएको झडपमा सुरक्षाकर्मी पनि घाइते भएका थिए । स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्रमा पनि गोली चलेको थियो । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा पनि प्रहरीले १७ राउन्ड गोली चलाएको थियो । त्यस्तै, मान्धारा मावि भकुण्डामा पनि गोली चलेको थियो ।

बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य मावि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको थियो । डोटीको राधाकृष्ण मावि गोपाघाटमा ४ राउन्ड फायर गरिएको थियो भने दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको छ ।