सुदूरपश्चिमका ३ जिल्लामा बम फेला, सेनाद्वारा डिस्पोज

0
Shares

धनगढी ।

सुदूरपश्चिमका तीन जिल्लामा बम फेला परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशको कैलाली, अछाम र बझाङमा बम फेला परेका छन्।

प्रहरीका अनुसार कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम) फेला परेको हो। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो।

कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको र अहिले उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएको छ। आज कैलालीसहित देशभर मतदान भइरहेको छ। निर्वाचन बिथोल्ने अभियानमा लागेकाहरुले उक्त कार्य गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

बझाङ

बझाङमा पनि बम फेला परेको छ। आइतबार बिहान जिल्लाको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडि बमजस्तो संकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाल्टिन बमजस्तो वस्तु देखिएको हो। उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेना खटिएको छ। निर्वाचनलाई बिथोल्न उक्त वस्तु राखिएको हुनसक्ने बताइएको छ। तर, उक्त वस्तुले मतदान प्रक्रियालाई असर नगरेको त्यहाँका प्रमुख जिल्ला अधिकारीले बताए।

अछाम

अछाममा पनि प्रेसर कुकर बम फेला परेको छ। जिल्लाको ढकारी गाउँपालिका २ स्थित कालीका देवी मावि हिच्मा मतदान केन्द्र नजिकै प्रेसर कुकर बम फेला परेको प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेयले बताए। उक्त बम बिहान ७ बजेतिर फेला परेको र नेपाली सेनाले डिस्पोज गरिसकेको उनले बताए।