उत्तरकोरियाली नेता कान्छीछोरीका साथ क्षेप्यास्त्र परीक्षणस्थलमा

0
Shares

एजेन्सी।

उत्तरकोरियाका नेता किम जोङ–उन आफ्नी कान्छी छोरीसँग पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन् । विश्वको सबैभन्दा गोप्य राज्यको नेतृत्व गर्ने नेता किमको व्यक्तिगत जीवन बारेमा धेरै कम थाहा भएका बेला सार्वजनिक भएको बाबुछोरीको तस्बिर अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरूमा व्यापक भएको छ ।

सेतो कोट लगाएकी आफ्नी छोरी किम चु–एको हात समाएर शुक्रबार उनी अन्तरमहादेशीय ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपणको निरीक्षणमा सहभागी भएको तस्बिर प्योङयाङले शनिबार सार्वजनिक गरेपछि क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाइएका लामो समयदेखि चलिरहेका अफवाहको पुष्टि भएको हो ।

संयुक्त राज्य अमेरिकासम्म प्रहार गर्ने क्षमता भएको देशको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको स्थलमा नेता किम श्रीमती, छोरी र वरिष्ठ अधिकारीका साथ उपस्थिति भएका उत्तरकोरियाको आधिकारिक समाचार संस्था केसिएनएले जनाएको छ । उक्त क्षेप्यास्त्र अमेरिकाका जुनसुकै स्थानमा प्रहार गर्न सक्षम रहेको दाबी गरिएको छ ।

नेता किमले शुक्रबार परीक्षण गरिएको उक्त क्षेप्यास्त्र अमेरिकी सैन्य धम्कीलाई नियन्त्रण गर्ने भरपर्दो एवम् अधिकतम क्षमता भएको हतियार भएकामा त्यसप्रति गर्व गरेका छन् । क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले पनि सुपरसोनिक बमवर्षक विमान उडाएर शक्ति प्रर्दशन गरेको छ ।

यसैबीच, दक्षिणकोरियाली सञ्चारमाध्यमहरूले ३८ वर्षीय नेता किमका तीन सन्तान रहेका जनाएका छन् । उनीहरूको जन्म क्रमशः सन् २०१०, २०१३ र २०१७ भएको थियो ।

यसअघि उत्तरकोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकामा अमेरिकाको कडा शब्दमा निन्दा गरेको थियो । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको खण्डन गर्दै प्योङयाङले वासिङटनको निन्दा गरेको थियो । प्रवक्ता किर्बीको भनाइ अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तरकोरियाको छवि धमिलो पार्ने अमेरिकाको शत्रुतापूर्ण प्रयास भएको आरोप उसले लगाएको थियो ।