मापसे गर्ने मतदान अधिकृत हटाइए


 

पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीतको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।

मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट–१३ मा रहेको दुर्गा आधारभूत माविमा खटिएका मतदान अधिकृत श्याममणिप्रसाद मण्डल दिउँसो मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा निदाएका थिए । उनलाई तत्काल जिम्मेवारीबाट हटाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

मण्डल सहायक वन अधिकृत हुन् । उनको स्थानमा वैकल्पिक व्यवस्था गरी कर्मचारी खटाइएको छ । दुई दिन अगाडि निर्वाचन सामग्री बुझ्ने दिन पनि एक जना मतदान अधिकृत मादक पदार्थ सेवन गरी निर्वाचन अधिकारीसँग झगडा गर्न खोजेपछि जिम्मेवारीबाट हटाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।