भेलुबाजेलाई पैसा बाँड्ने र बालबालिकालाई प्रचारप्रसारमा प्रयोग गर्ने सूर्य थापालाई निर्वाचन आयोगको स्पष्टीकरण

0
Shares

काठमाडौं । नेकपा (एमाले) प्यूठानका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । भेलुबाजे (मीनबहादुर बुढा)लाई दुई हजार रुपियाँ बाँडेको र चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको भन्दै हिजो (शुक्रबार) निर्वाचन अयोगले थापालाई चौँबीस घण्टे स्पष्टीकरण सोधेको हो ।

भेलुबाजेलाई दुई हजार रुपियाँ दिएको र बालबालिकालाई आफ्नो चुनावी प्रचारप्रसारमा प्रयोग गरेको श्रव्यदृश्य सामाग्रीसहित समाचार प्रकाशन भएपछि स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले बताएको छ ।

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे)लाई नगद वितरण गर्नु भएको हो, होईन ? भेलुबाजेलाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ?’ आयोगले भनेको छ, ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल या जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।’

विभिन्न सञ्चारमाध्यममा कात्तिक २८ गते थापाले दुई हजार रुपियाँ दिएर भाइरल ‘भेलु बाजे’मार्फत भोट मागेको समाचार प्रकाशित भएको थियो । तर भेलु बाजेले केहीबेरमै बोली फेर्दै आफू माओवादीमै रहेको बताएका थिए ।

त्यस्तै थापाले निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि स्पष्टीकरण सोधेको आयोगले बताएको थियो ।

थापालाई आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?’

निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै गत कात्तिक १२ गते पनि आयोगले स्पष्टीकरण सोधिसकेको छ ।