दैलेखमा निर्वाचनको तयारी पूरा, सुरक्षा व्यवस्था कडा

0
Shares

दैलेख । आइतबार देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । आज (शुक्रबार) जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार निर्वाचनको लागि सबै तयारी पूरा भएको हो ।

दैलेखमा प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन् भने प्रदेशसभातर्फ चारवटा वटा निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १०२, क्षेत्र नम्बर २ मा २०४ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले बताएको छ । जिल्लाको सदरमुकामा भने दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । दुवै निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार मतदाता रहेका छन् ।

प्रतिनिधिसभातर्फ ३३ र प्रदेशसभातर्फ २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ २ र स्वतन्त्रसहित कूल ८ जना प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेशसभातर्फ ५÷५ जना उम्मेदवार मैदानमा छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ पाँच राजनीतिक दलबाट उम्मेदवार चुनावमा सहभागी छन् भने प्रदेशसभा (क)मा १ स्वतन्त्रसहित पाँच जना र प्रदेशसभा (ख)मा ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनको लागि जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित तोकिएका कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसकेका छन् भने आवश्यक तयारी गरिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मनमाया काउचाले बताइन् ।

दुवै क्षेत्रका सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले चार तहमा सुरक्षा व्यवस्थापन गरिएको बताए । उनले निर्वाचनको सुरक्षामा खलल पुर्याउने जो–कोहीलाई कानुन बजोजिम कडा कारबाही गरिने बताएका छन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले विगतका वर्षहरुमा छिटफुट घटना भए पनि यसपटकको निर्वाचनमा त्यसो नहुने विश्वास व्यक्त गरे । जिल्लाका मतदान केन्द्रमा बुथ निर्माण, सर्वदलिय बैठक र आवश्यक व्यवस्थापन भइरहेको छ भने आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ ।