मधेसका कतिपय सिटमा प्रतिस्पर्धा

एमाले–जसपा टसल



काठमाडौं । 

आगामी निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न अर्को गठबन्धन गरेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र जनता समाजवादी पार्टीबीच धेरै क्षेत्रमा असमझदारी देखिएको छ ।

जसपाको प्रभाव भएको क्षेत्रमा एमालेका स्थानीय नेताहरूले बागी उठ्ने उठाउने गरेको आरोप लगाउँदै जसपाले पनि आफ्ना उम्मेदवार खडा गरेको जसपाका केन्द्रीय नेताहरूले बताएका छन् । तराई–मधेस जसपाको पकड भएको ठाउँ हो । तर, मधेसका कतिपय सिटमा जसपा र एमालेबीच प्रतिस्पर्धा भइरहेको छ । एमाले र जसपाले चुनावी तालमेल गरेको सिटमा समेत एमालेले स्वतन्त्र उम्मेदवारी दिएपछि जसपाका कार्यकर्ताहरू खुला रूपमा स्वतन्त्र उम्मेदवारका लागि भोट मागिरहेका छन् ।

केही सिटमा सहमतिविपरीत एमालेले आधिकारिक उम्मेदवार नै उठाएको समेत पाइएको छ । यसले उनीहरूबीच दरार उत्पन्न भएको छ । जसपाका महासचिव गंगानारायण श्रेष्ठले नेपाल समाचारपत्रसँग कुरा गर्दै देशभरका केही सिटमा चुनावी तालमेल गरे पनि नमिलेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले मिल्ने क्षेत्रमा तालमेल गरेका छौं । तर, कुरा नमिलेका क्षेत्र र चुनावी तालमेल नगरिएको क्षेत्रमा हाम्रा पार्टीकै उम्मेदवारहरू हुनुहुन्छ त्यहाँ स्वच्छ प्रतिस्पर्धा हुन्छ ।’ चुनावी तालमेल गरेका बाँके, बारा, धनुषा, मोरङलगायतका क्षेत्रमा एमाले नेतृत्वको गठबन्धनका नेताबीच नै प्रतिस्पर्धा भइरहेको स्थानीय नेताहरूले बताएका छन् ।

ठाउँठाउँमा आपसी असमझदारी

बाँके–२ मा एमाले र जसपाबीच सोझो टक्कर हुँदै छ । त्यस क्षेत्रमा जसपाबाट उम्मेदवारी दिएका इस्तियाक राईलाई हराउन एमालेका कार्यकर्ताहरू राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धवलशमशेर राणालाई सक्रिय सहयोग गरिरहेका छन् । जसपाका बाँकेका एक नेताले भने– ‘हामी जित्ने लाइनमा छौं तर, एमालेका साथीहरूले राप्रपालाई सहयोग गरेर हामीलाई पूर्ण असहयोग गर्नुभयो भने यो क्षेत्रमा राईलाई पनि समस्या नै हुन सक्छ ।’

बाँके–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता सुदीपनरसिंह राणाले उम्मेदवारी दिनुभएको छ । प्रतिपक्षी गठबन्धनका दलबीचको झगडाले गर्दा त्यहाँ राणालाई दाउ पर्न सक्ने बताइएको छ । त्यस्तै, बारा–३ मा एमालेले जसपालाई धोका दिएको जसपाका नेताहरूको भनाइ छ । एमालेका नेता अध्यानन्द पाण्डेले उम्मेदवारी दिएको त्यस क्षेत्रमा जसपाले रामबाबु यादवलाई उम्मेदवार बनाएको छ । रामबाबु जसपा अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् । एमाले जसपा विवादले बारा–३ मा नेपाली कांग्रेसबाट फरमुल्र्लाह मन्सुरको पक्षमा पासा पल्टने सम्भावना बढेको स्थानीय बताउँछन् ।

उता धनुषा–२ मा पनि एमालेले उमाशंकर अरगरैयालाई उम्मेदवार बनाएको छ । अन्तिम समयमा अरगरैया जसपा अध्यक्ष उपेन्द्र यादवसँग रिसाएर एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँलाई एमालेले टिकट दिएपछि एमालेकै पुराना नेताहरूसमेत असन्तुष्ट छन् । २०७४ सालको निर्वाचनमा अरगरैयाले यादवकै पार्टीबाट चुनाव जित्नुभएको थियो । उहाँ एमालेमा गएपछि जसपाले धनुषा–२ मा गंगाराम यादवलाई उम्मेदवार बनाएको छ । त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामकृष्ण यादव प्रतिस्पर्धामा हुनुहुन्छ । उता मोरङमा पनि जसपा र एमालेबीच टक्कर देखिएको छ ।

एमाले र जसपाबीच छलफल हुँदा मोरङ–५ मा एमालेले जसपालाई छाड्ने सहमति भएको थियो । तर, यस क्षेत्रमा जसपाले उम्मेदवार बनाएका राजकुमार यादवविरुद्ध एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । मोरङ एमालेका नेताहरूले अहिले मण्डलको पक्षमा खुलेर प्रचारप्रचार शुरू गरेका छन् । एमाले नेतृत्व यो विषयमा गम्भीर नभएको जसपाका नेताहरूले आरोप लाउन थालेका छन् ।
उता मोरङ ६ (२) मा एमालेका नेता पर्शुराम बस्नेतले उम्मेदवारी दिएपछि त्यस क्षेत्रमा जसपाले उम्मेदवारी नदिने सहमति भए पनि जसपाले उम्मेदवारी खडा गरेर पर्शुरामलाई असहयोग गरेको आरोप जसपामाथि छ ।

पार्टीको दोस्रो वरीयताका नेता अशोक राईलाई पनि एमालेबाटै धोका भएको जसपाका नेताहरूको बुझाइ छ । राईले सुनसरी–१ मा उम्मेदवारी दिएपछि त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । धरानका पूर्वमेयरसमेत रहेका नेता म्याङन्मोको उक्त क्षेत्रमा राम्रो प्रभाव छ । एमालेका स्थानीय नेताहरूले म्याङन्मोको पक्षमा खुलेर प्रचार गरेका छन् ।

एमालेको यो रणनीतिले राईको जित्ने सम्भावना घटाएको भन्दै आन्तरिक छलफल नै चलेको जसपा निकट स्रोतको दाबी छ । सुनसरी–१ मा कांग्रेसबाट सिताराम मेहताले उम्मेदवारी दिनुभएको छ । पछिल्लो माहोल हेर्दा मेहता र स्वतन्त्र उम्मेदवार म्याङन्मोबीच प्रतिस्पर्धा हुने र राई तेस्रो स्थानमा झर्न सक्ने स्थानीय रोहित मेहताले बताउनुभयो ।प्रदेश सभातर्फ धनुषा २ (क), धनुषा ४ (ख), बारा ३ (क), बारा ३ (ख) मा एमाले र जसपा दुवैै पार्टीले उम्मेदवारी दिएका छन् । यी क्षेत्रमा एमाले र जसपाका कार्यकर्ताबीचको सम्बन्ध बिग्रेदै गएपछि एकले अर्कोलाई हराउन सक्रिय देखिएको मेहताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्